|

कावासोती :  नवलपरासी जिल्लामा आर्थिक बर्ष ०७३/७४ को कुल बजेटमध्ये ८० प्रतिशत खर्च भएको छ। चालु आर्थिक वर्षको करिब ११ महिनामा बजेटको ८६.७ प्रतिशत चालु र पुँजीगत तर्फ ४६.३ प्रतिशत रकम खर्च भएको हो।

गत आर्थिक वर्षमा नवलपरासीमा ६ अर्ब ५९ करोड ४० लाख १ हजार ८ सय ७० रुपैयाँ प्राप्त भएको थियो। यसरी हेर्दा असारमा मात्रै २० प्रतिशत रकम खर्च हुनुपर्ने कोष तथा लेखा नियन्त्रक कार्यालय नवलपरासीले जनाएको छ। तथ्याङ्कीय जानकारी सार्वजनिक गर्न आइतबारदेखि सुरु भएको डिजिटल डिस्प्ले प्रणालीको उद्घाटन गर्दै कार्यालयले उक्त तथ्यांक सार्वजनिक गरेको हो।

चालु आर्थिक वर्षमा चालु खर्च तर्फ ५ अर्ब ६२ करोड ३९ लाख ५९ हजार ८ सय ५० रुपैयाँको अख्तियारी रहेकोमा ४ अर्ब ८८ करोड १२ लाख ८७ हजार २ सय ९१ रुपैया खर्च भएको छ।

यस्तै पुँजीगत तर्फ ९७ करोड ४२ हजार २० रुपैयाँको अख्तियारी रहेकोमा ४५ करोड २२ हजार १ सय ४२ रुपैयाँ खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय नवलपरासीका प्रमुख महेन्द्र भण्डारीले  बताए।

उनका अनुसार पुँजीगत तर्फ जेठ २० गतेसम्म जम्मा ४६.३ प्रतिशत खर्च भएको छ। यस्तै कार्यालय सञ्चालन कोष तर्फ मौजदात आम्दानी ३९ करोड १८ लाख ४४ हजार २ सय ६८ रुपैयाँ रहेको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ।

८८ करोड राजस्व संकलन

जिल्लामा चालु आर्थिक वर्षमा ८८ करोड ८९ लाख ४५ हजार २ सय ७८ रुपैयाँ राजश्व उठेको छ। गत साउनदेखि हालसम्म उक्त रकम राजस्वबाट आम्दानी भएको हो।

डिजिटल डिस्पले प्रणालीको शुभारम्भ गर्दै प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले कार्यालयको बिभिन्न तथ्यांकीय जानकारीलाई सर्वसाधरण समक्ष  सजिलै पुर्‍याउन तथा कार्यालयको कामलाई पारदर्शी बनाउन कोष तथा लेखा नियन्त्रक कार्यालय नवलपरासीको अग्र भूमिका निर्वाह गरेको बताए। उनले जिल्लाका सबै कार्यालयले पारदर्शिताका लागि डिजिटल डिस्प्ले प्रणाली अपनाउनुपर्नेमा जोड दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.