|

नेकपा एमालेले गरेको संसद अवरोधका कारण प्रधानमन्त्री चयन प्रक्रिया पनि अघि बढ्न सकेको छैन। पछिल्लो पटक एमालेले भरतपुर महानगरपालिका वडा नम्बर १९ मा निर्वाचन आयोगले पुन मतदान गर्नुपर्ने निर्णय गरेपछि त्यसको विरोधमा एमालेले संसद अवरोध गरिरहेको छ। तर यसअघि पनि विभिन्न विषयमा नेकपा एमालेले लगातार संसद अवरोध गरिरहेको छ।

कहिले संविधान संशोधन विधेयक पेश भएको विरोधमा त कहिले स्थानीय तहको संख्या थप गरेको विरोधमा उसले संसदलाई नै विरोध प्रदर्शनको मुख्य थलो बनाएको छ। एमालेले निरन्तर गरिरहेको संसद अवरोधलाई ऊ प्रतिपक्षमा बस्नुपर्दाको छटपटीको रुपमा ब्याख्या पनि हुने गरेको छ। यसै सन्दर्भमा नेकपा एमालेका उपाध्यक्ष भीम रावलसँग थाहाखबरका देविका घर्ती मगरले गरेको कुराकानी :  

माओवादी-कांग्रेस गठबन्धनमा सरकार गठन भएदेखि नै एमालेले विभिन्न विषय उठाएर संसद अबरोध गर्दै आएको छ। एमाले जिम्मेवार प्रतिपक्षको भूमिकामा छ कि? सत्ता छोड्नुपरेको छटपटीमा छ?  

नेकपा एमालेले राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको पक्षमा जतिवटा बैठक अवरोध गरेको छ, सरकारले त्यो भन्दा ३० गुणा बढी संसद बैठक अवरोध गरेको छ। बैठक बिनाकारण १५ दिन स्थगित गरियो, ७ दिन, १० दिन स्थगित गरियो। यस्ता अवरोधहरु सरकारले कति दिन गरेको छ कति।

एमालेले लोकतन्त्रका पक्षलाई कमजोर पार्न, राष्ट्रियतालाई कमजोर पार्नका लागि गरिएका क्रियाकलापहरुको विरुद्धमा संसद अवरोध गरेको हो, बिनाकारण गरेको छैन। बैठक नभएको दिनमा संसद अवरोध गरेर संसदीय व्यवस्था नै मानेन, एमाले जिम्मेवार प्रतिपक्ष नै भएन भनेर हल्ला मच्चाउने पनि गरिएको छ। अनि सरकारले अकारण संसदीय प्रणाली विपरीत बैठक १५, २० दिनसम्म संसद स्थगित गरेर जाने कुरालाई चाहिँ नदेख्ने? यो कुरा मिल्दैन। 

सरकारले गरेका निर्णयको विरोध गर्ने थलो त एमालेले संसदलाई नै बनाइरहेको छ नि? ?

सरकारले ल्याएको कार्यक्रमलाई त सरकार आफैले अवरोध गरिरहेको छ। म उदाहरण दिउँ, एकचोटी संविधान संशोधनको प्रस्तावमा मतदान हुने भनेर सरकारले आफै कार्यक्रम ल्यायो। जब आफ्नो पक्षमा ८ मत नपुग्ने भएपछि सरकारले आफै त्यो मतदान कार्यक्रम रोकेको छ। सरकार आफै संसद बैठक रद्द गर्छ यो देशमा। विपक्षीहरुले त राष्ट्रको अहित हुने, लोकतन्त्रमाथि आघात पर्ने कुरा आएपछि त्यो राष्ट्रको स्वाभिमान, लोकतन्त्रको मान्यता जोगाउन त्यो गर्छ नै, जहाँ पनि हुन्छ। तर यहाँ त सरकार आफैले सदन अवरोध गर्छ। 

संसदमा नयाँ प्रधानमन्त्री चयनको प्रक्रिया अघि बढेको छ। यो बेलामा एमालेले किन संसद अवरोध गरिरहेको छ?

प्रधानमन्त्री छान्ने विषयमा कुनै असहमित छैन। प्रधानमन्त्री पुष्पकमल दाहालजी हुनुहुन्छ कि शेरबहादुर जी हुनुहुन्छ त्यसमा हामीलाई खासै कुनै ठूलो चासो/सरोकार छैन। किनभने उहाँहरु दुईजना बीचमा साँठगाँठ छ। जो भएपनि हामीलाई तात्विक अन्तर हुन्छ भन्‍ने मलाई लाग्दैन।

तर हामीले उठाएको कुरा, चितवनमा जसरी मतपत्र च्यातियो। त्यो मतपत्र च्यात्ने कुरामा स्वयं प्रधानमन्त्री, यो सरकार र सरकारमा रहेका राजनीतिक दलका जे जस्ता अभिव्यक्ति रहे, यसले आगामी दिनमा निर्वाचनको निष्पक्षता नहुने भयो। निर्वाचनमा हार्नेले मतपत्र च्यात्ने नजिर बस्ने भयो। यो लोकतन्त्र खतरामा पर्ने भयो। त्यसकारण यस्ता कुराहरुतर्फ सिङ्गो राष्ट्रको ध्यान आकृष्ट गराएर आगामी दिनमा यस्ता क्रियाकलापहरु हुन हुदैन भन्नका लागि हामीले अवरोध गरेका हौं। 

प्रधानमन्त्री निर्वाचन र भरतपुर घटनाको बिवादको विषय एकआपसमा अन्तर्सम्बन्धित विषय हुन् र? 

होइन। यी विषयहरु एकआपसमा सम्बन्धित हुन् भनेर हामीले भनेका छैनौं। यो सत्तापक्षले फैलाएको भ्रम मात्र हो। हामीले भनेको के हो भने, सरकारमा बस्नेहरु स्वयं, प्रधानमन्त्री, प्रधानमन्त्रीको पार्टी। सरकार चलाउनेहरु निर्वाचनमा आफ्नो पक्ष हार्न थालेपछि मतपत्र च्यात्ने। यस्तो गर्न थालियो भने यो लोकतन्त्र टिक्दैन। अनि जो-जो हार्ने भए उसले मतपत्र च्यात्दै हिँड्ने हो भने यो नेपालका लागि अत्यन्तै दुखद् स्थिति सिर्जना हुन्छ। 

प्रधानमन्त्रीकै छोरी उम्मेदवार हुनुहुन्छ। अनि त्यहाँ जसले मतपत्र च्याते उनीहरुलाई २ दिन पनि नराखेर धरौटीमा छोडेको छ। यो सबैका सत्तापक्षको संलग्नता भएको हुनाले सत्तापक्षसँग सम्बन्धित भएर यो कुराको बिरोध गर्नुपरेको हो। 

निर्वाचन आयोगले गरेको निर्णयमा सरकारको हस्तक्षेप छ भन्ने तपाईहरुसँग प्रमाण के छ?

प्रमाणहरु त छताछुल्ल भएकै छ नि। त्यत्रो माओवादीका कार्यकर्ताले मतपत्र च्यातेको। पुलिस रिपोर्ट छ। मतपत्र च्यातेकोमा मुद्दा चलेको छ। धेरै लामा कथाहरु, दर्जनौं तथ्यहरु बाहिर आइसकेका छन्। 

अहिलेका राजनीतिक घटनाक्रमले दोस्रो चरणको स्थानीय तहको निर्वाचनलाई पनि प्रभावित पार्न सक्ने देखियो नि?

यसले कसरी प्रभावित गर्छ? दोस्रो चरणको निर्वाचनमा लोकतन्त्रको मान्यता विपरीत, कानुन विपरीत स्वेच्छाचारी कामहरु हुनुभएन, चुनाव खुरुखुरु हुनुपर्‍यो। किन प्रभावित हुने?

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.