|

 मणिकुमार श्रेष्ठ-

     सुनसरी : कुनै समय सिमै-सिमले भरिएको इटहरीको तालतलैया क्षेत्र पर्यटकीय क्षेत्रको रुपमा रुपान्तरण हुन्छ भन्ने कसैले सोचेका थिएनन्। तर, इच्छा शक्ति र सही व्यवस्थापन हुन थालेपछि इटहरी २ र ३ वडामा रहेको तालतलैया सिमसार क्षेत्र अहिले १ नं. प्रदेशकै नमुना पर्यटकीय क्षेत्रको रुपमा विस्तार हुँदै गएको छ।

    २०५५/०५६ सालतिर इटहरीमा तत्कालीन प्रमुख सर्वध्वोज साँवाको अगुवाइमा तालतलैया क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विस्तार गर्ने प्रयास भएको थियो। त्यसवेला सामन्य वृक्षारोपण तथा कटेजहरु निर्माण गर्ने कामबाहेक अरु केही हुन सकेन। त्यो प्रयास द्वन्द्वको समयमा त्यतिकै थाती रहन गयो।

    २०६२ सालमा सहरी विकास तथा भवन डिभिजन कार्यालयले इटहरीको जुटविकास टोलबाट तालतलैयासम्म पुग्ने मोटरबाटो निर्माण गर्ने, तालतलैया संरक्षण क्षेत्रभित्र भवन निर्माण गर्ने, खानेपानीको व्यवस्था मिलाउने, कल्भर्ट निर्माण गर्ने, चर्पी निर्माण गर्ने, पिकनिक खानका लागि कटेज निर्माण गर्ने तथा पर्यटक हिँड्ने गोरेटो बाटो निर्माण गरिदियो। बाटो निर्माण कार्य सम्पन्न भएसँगै तालतलैया क्षेत्र पर्यटकीय क्षेत्रको रुपमा विकास हुन थाल्यो।

    शान्ति नगरी सामुदायिक वन उपभोक्ता समूह इटहरी २ र सरस्वति सामुदायिक वन उपभोक्ता समूह इटहरी ३ मा रहेको ७६.७५ हेक्टर जमिनलाई एकीकृत गरी तालतलैया विकास संरक्षण समितिको मातहतमा ल्याई पर्यटकीय क्षेत्रको थप विस्तार गर्ने काम सुरु भयो २०६६ बाट।

    यसरी २०६६ सालबाट आधिकारिक रुपमा समिति गठन गरेर पर्यटकीय क्षेत्र विस्तार गर्ने अभियानमा लागेको समितिले अहिले ताल निर्माणदेखि विभिन्न प्रकारका मूर्तिहरुको निर्माण गरेको छ। जसले तालतलैयाको मुहार नै फेर्न थालेको स्थानीय बताउँछन्।

    एक नं. कै नमुना पर्यटकीय क्षेत्र बन्ने

    एक नं. प्रदेशको व्यापारिक केन्द्र इटहरीमा रहेको तालतलैया क्षेत्रलाई प्रदेशकै नमुना पर्यटकीय गन्तव्यको रुपमा विस्तार गर्न लागेको संरक्षण समितिका अध्यक्ष वीरबहादुर लिम्बूले बताए। उनका अनुसार अहिले तातलैया विकास तथा संरक्षण समितिको मातहतमा रहेको ७६.७५ हेक्टर जमिनमध्ये २१.५० हेक्टर क्षेत्रफलमा पर्यटन पूर्वाधारहरु निर्माण भइरहेका छन्।

    हालसम्म बालमैत्री पार्क, पिकनिकस्थल, डुंगा सयर, घोडचडी दौड, जस्ता सेवा सुविधा दिन थालिएको यस तालतलैयामा चलपरी रिक्साको पनि अनुभव लिन सकिने अध्यक्ष लिम्बूको भनाइ छ। यसका साथै पर्यटकहरुले चित्तल, मृग, विभिन्न जातका खरायो, स्याल, निगाले बाघ, बादर, कछुवा, दुम्सी, अजिंगर जस्ता जिवजन्तुको समेत अवलोकन तथा अनुसन्धान गर्न सक्नेछन्।

    तराईको गर्मीले हैरान भएका व्यक्तिलाई थोरै मात्र माथि जाँदा सिमसार क्षेत्र तथा जंगलभित्र रहेका आकर्षक स्थलले पर्यटकलाई मनमोहक बनाउने समितिको ठम्याइ छ। तालतलैया क्षेत्रलाई थप आकर्षक र पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने उद्देश्यले अहिले २५ लाखको लगानीकमा साढे सात हेक्टर क्षेत्रफलमा ताल निर्माण गर्ने काम भइरहेको छ।

    शंकरवेली ताल निर्माण भइसकेको बताउँदै सो तालमा डुंगा सयर तथा जलपरि रिक्सा चलाउन सकिने अध्यक्ष लिम्बूले बताए।

    पर्यटक लोभ्याउन विभिन्न किसिमका प्रतिमा निर्माण

    पर्यटकलाई मनोरञ्जन दिनका लागि तथा विभिन्न प्रकारका अनुसन्धानमा सहयोग पुर्‍याउने लक्ष्यका साथ ताल तलैया पर्यटकीय क्षेत्रमा विभिन्न प्रकारका कलात्मक प्रतिमाहरुको निर्माण गरिएको छ।

    नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको प्राविधिक तथा आर्थिक सहयोगमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मूर्तिकारहरुको उपस्थितिमा २८ वटा प्रतिमा निर्माण गरिएको छ। यहाँको प्रतिमालाई वरिपरिबाट हेर्दा छुट्टाछुट्टै आकृति देखिन्छ। जर्मन, जापान, मलेसिया, इजरायल, भारत र नेपालका मूर्तिकारहरुले ढुंगालाई कुँदेर मानिसको मुटुदेखि, आमाको प्रतिमा, माछाको प्रतिमा, त्यसैगरी विभिन्न प्रकारका कलात्मक प्रतिमाहरुले तालतलैयाको सौन्दर्यलाई थप आकर्षक बनाएको छ।

    २८ दिन लगाएर बनाइएको प्रतिमामा धरानको सर्दु जलधार क्षेत्रको ढुंगाको प्रयोग गरिएको छ भने ७० लाखको हाराहारीमा लगानी भएको छ। सो प्रतिमा निर्माण गर्नका लागि इटहरी उपमहानगरपालिका, इटहरी उद्योग वाणिज्य संघ, स्थानीय उपभोक्ता तथा विभिन्न संघ संस्थाको समेत उल्लेख्य सहयोग रहेको थियो।

    दैनिक ५ हजारसम्म पर्यटक, वार्षिक आम्दानी ३५ लाख

    ०६६ सालबाट व्यवस्थित रुपमा सञ्चालन हुँदै आएको तालतलैया पर्यटन क्षेत्रमा सिजनको समयमा दैनिक पाँच हजारसम्म पर्यटक आउने गरेका छन्। विशेष गरी कात्तीकदेखि फागुनको दोस्रो सातासम्म यस ठाउँमा पर्यटकको घुइँचो लाग्ने गर्दछ।

    आन्तरिक तथा बाह्य पर्यटकहरुको समेत गनतव्यस्थल बन्दै गएको तालतलैमा विषेश गरी पिकनिक खान खाने पर्यटकहरु बढी आउने गरेका छन्। यसैगरी जीवजन्तुको अवलोकन, जैविक विविधताको अवलोलनक तथा अनुसन्धानका लागि पर्यटक आउने गरेका छन्।

    सरसफाइमा चासो

    तेह्रथुमबाट तालतलैया भ्रमणका लागि आएका मोहन निरौलाले आकर्षक गन्तव्यस्थल भए पनि सरसफाइमा विशेष चासो दिनुपर्ने बताए। तालतलैया पर्यटकीय क्षेत्रमा सरसफाइ कम हुँदा कतिपय अवस्थामा पर्यटकहरु आएर लामो  समयसम्म बस्ने सक्तैनन्। सरसफाईको विषयमा विशेष महत्वसाथ हेरिएको बताउँदै अध्यक्ष लिम्बूले यस क्षेत्रलाई सफा राख्न कुनै कसुर बाँकी नराखिने बताए।

    प्रवेश शुल्क १० रुपैयाँदेखि ८ सय ५० सम्म

    पर्यटकहरुलाई प्रवेश शुल्क रु १० साथै चिल्ड्रेन पार्क घुम्न जानेसँग थप रु १० को टिकट काट्ने गरिएको छ। यसैगरी पिकनिक खान आउनेसँग पर्यटकीय क्षेत्रभित्र एउटा कटेजको रु ८ सय ५०, चौरमा बसेर खानेलाई रु ४ सय ५० र ड्राई पिकनिक खानेसँग रु १ सय ५० शुल्क लिने गरिएको छ।

    पिकनिक खानेले सो शुल्क तिरेबापत खानेपानी, बत्ती, तथा शौचालयको प्रयोग गर्न पाउनेछन्। यसैगरी पर्यटकीय क्षेत्र बाहिरको स्थालमा पिकनिक खाँदा प्रतिकटेजको रु ६ सय  र चौरमा बसेर खादा रु ३५० शुल्क तिर्नुपर्ने हुन्छ। हाल दैनिक पाँच सयको हाराहारीको पर्यटक आउने तालतलैया पर्यटकीय क्षेत्र विकासका लागि सरकारी स्तरबाट रु १ करोडभन्दा बढी लगानी भइसकेको छ।

    तपाईको प्रतिक्रिया दिनुहोस्

    तपाईंको ईमेल गोप्य राखिनेछ ।
    This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.