|

गोविन्द महतो-

    जनकपुरधाम : तराईको ग्रामीण भेगमा खाना पकाउनका लागि परम्परागत रुपमा प्रयोग हुँदै आएको चुलोमा दाउराको साटो गुइँठाको प्रयोग बढेको छ। वनजंगल मासिँदै गएको अवस्थामा दाउरा पाउन सजिलो नभएको हुनाले ग्रामीण भेगमा गाईभैंसीको गोबरबाट बनाइने गुइँठाको प्रयोग भान्सामा बढेको हो।

    गुइँठाको आगोले खाना छिटो पाक्ने र धुँवा पनि कम निस्किने हुनाले उनीहरुले गोबरमा भुस पराल राखेर त्यसलाई सुकाएर गुइँठा तयार पार्ने गर्द्छन्। सुख्खायाममा गुइँठा बनाउने र वर्षायाममा त्यसलाई जोहो गरी राखेर भान्सामा प्रयोग गर्ने गरिन्छ। तर, गाईवस्तुको गोबरलाई कम्पोस्ट मलको रुपमा प्रयोग गरी खेती किसानी गर्दै आएका किसान परिवारहरुले समेत गोबरलाई जलावनको रुपमा प्रयोग गर्न थालेपछि खेतीपातीमा ह्रास आउँदै गएको धनुषाधाम नगरपालिका अन्तर्गत धरमपुर निवासी किसान विनोदकुमार यादवले बताउँछन्।

    यादवले भने, 'पहिले-पहिले गोबरहरु खेतमा मिलाउँदा त्यो राम्रो मलको रुपमा काम गर्ने गरे पनि अहिले खाना पकाउने दाउराको मूल्यसमेत बढेको र एलपिजी ग्यासमा खाना पकाउने क्षमता गाउँमा नहुनुका साथै सहज उपल्बधसमेत नरहेको हुँदा गुइँठाको प्रयोग भइरहेको छ।'

    खेतहरुमा पनि अहिले कम्पोस्ट मलको साटो बढीजसो रासायनिक मल तथा पैदावार बढाउने औषधीहरुको प्रयोग बढेको हुँदा गोबर खाना पकाउनकै लागि उपयोग गर्ने गरिएको सोही गाउँका अर्का किसान तप्सी यादवले बताए। उनले भने, 'पहिला पर्याप्त दाउरा हुँदा गुइँठाको खासै उपयोग थिएन। त्यतिबेला भए भरको गोबर खेतमै हालिन्थ्यो तर, अहिले वनजंगल मासिएका छन्। दाउराको अभाव भएको छ यस्तो अवस्थामा गुइँठा मात्र ग्रामीण भेगका बासिन्दाको लागि सस्तो खाना पकाउने माध्यम बनेको छ।'

    दाउराको रुपमा गोबरको अत्याधिक प्रयोग हुन थालेपछि अन्न उपार्जनमा ह्रास हुँदै गएको जिल्ला कृषि विकास कार्यालय धनुषाका प्रमुख प्रदीप ठाकुरले जानकारी दिए। रासायनिक र कमपोस्ट मलले गर्दा तत्काल उपार्नज बढ्ने  भए पनि माटोको उर्बरा शक्तिमा ह्रास हुँदै गएको हुनाले अन्न-उपज घट्दै गएको ठाकुरको कथन छ।

    ठाकुरका अनुसार खेतबारीमा एक वर्ष हालेको गोबर तीन वर्षसम्म मलको रुपमा काम गरिराख्ने हुनाले खेतीको लागि गोबर उपयुक्त रहेको बताए। आफूहरुको गाउँमा रहेको तीन सयभन्दा बढी परिवारमध्ये करिब ६५ प्रतिशतले जलावनको रुपमा गुइँठाको प्रयोग गर्नेको तथ्यांक रहेको जानकारी गराए

    तपाईको प्रतिक्रिया दिनुहोस्

    तपाईंको ईमेल गोप्य राखिनेछ ।
    This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.