लालबाबु भन्छन्: 'महानगर, प्रदेशको राजधानी बनाउन र विकासमा पहल गर्छु'

|


विराटनगरः विराटनगर महानगरपालिकाको प्रमुख पदका लागि एमालेबाट लालबाबु पण्डितको चर्चा पुनः सुरु भएको छ। 

एमाले युवा संघ कोशी अञ्चल समितिका अध्यक्ष रोहित कोइरालाले सामाजिक सञ्जाल फेसबुकमा लालबाबुसहितका नेताको फोटो राखेर को प्रमुख हुँदा ठीक? भनेर अभियान नै चलाएका छन्।

सुशील कोइराला नेतृत्वको सरकारमा सामान्य प्रशासनमन्त्री बनेका पण्डितले कर्मचारीलाई जागिर या डिभी/पिआरमध्ये एक रोज्न भन्दै कानुन बनाएर कार्यान्वयन गराएका थिए। उक्त कुराले गर्दा पण्डितलाई राष्ट्रवादी, सफल मन्त्रीको रूपमा लिएका छन् धेरैले। यही कुरालाई लिएर एमालेका युवाहरूले विराटनगरको प्रमुख पदका लागि पण्डित आउनुपर्ने चर्चा गरिरहेका छन्। 

‘यही २०७४ असार १४ गते हुन गइरहेको स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा बहुचर्चित विराटनगर महानगरपालिकामा नेकपा एमालेको तर्फबाट लालबाबु पण्डित, जीवन घिमिरे, महेश रेग्मी र विनोद ढकालमध्ये को हुँदा उपयुक्त हुन्छ?’, युवा संघका नेता कोइरालाले सामाजिक संजालमा चारै जनाको फोटो राखेर प्रश्न गरेका छन्। जवाफ दिने अधिकांशले लालबाबु पण्डितलाई उठाउनुपर्ने जवाफ दिएका छन्।

यसअघि उपमहानगरपालिका हुँदा पनि लालबाबु पण्डितलाई प्रमुखको रूपमा चर्चामा ल्याइएको थियो। तर, माधवकुमार नेपालले पण्डितलाई ‘ब्याक’ हुन भनेपछि चर्चा सेलाएको थियो। अहिले विराटनगर महानगरपालिका भएपछि अब तपाईंको चर्चा पुनः सुरु भयो नि? भन्ने प्रश्नमा पण्डितले आफ्नो इच्छा नभएको र पार्टी कमिटीमा पनि इच्छा नराखेको जवाफ दिए।

यद्यपि, आफूले विराटनगरलाई महानगरपालिका बनाउन, प्रदेशको राजधानी बनाउन र विकास निर्माणलाई गति दिने कुरामा सधैँ अग्रसर रहेको उनले बताए। ‘मैले प्रमुख पदका लागि पार्टीभित्र प्रतिस्पिर्धा गरेको छैन’, पण्डितले भने, ‘जनताको तहबाट माग भएको कुराबारे म केही भन्न सक्दिनँ।’ 

महानगरपालिकामा प्रमुख बन्ने कि नबन्ने भन्ने विषयमा आफ्नो पार्टीले पनि नसोधेको बताउँदै पण्डितले सोधेको खण्डमा उपयुक्त जवाफ दिने बताए।

जनताले भनेको कुरामा पार्टीमा छलफल होला, मलाई नै प्रमुख बनाउने कुरा भयो भने पनि छलफल होला, सोधीखोजी होला’, पण्डितले भने, ‘सोधेको खण्डमा जवाफ दिन्छु, तर विराटनगरलाई प्रदेशको राजधानी र आकर्षक शहर बनाउने कुरामा भने म र मेरो पार्टी जहिल्यै लाग्नेछ।’ 

यता, पण्डित मन्त्री बनेका बेला स्वकीय सचिव बनेका मोरङ एमालेका जिल्ला समिति सचिवालय सदस्य वसिम आलमले पण्डितको माग जनता र कार्यकर्तास्तरबाट व्यापक उठेको बताए। ‘सबैतिरबाट उहाँले प्रमुखमा उठ्नुपर्छ भन्ने आवाज आएको छ, तर उहाँले इच्छा राख्नुभएको छैन’, आलमले भने, ‘इच्छा राखेको भए यसअघि नै सर्वसम्मत भइसक्नु हुने थियो।’ 

यता केपी ओली पक्षका नेता तथा कार्यकर्ताले भने पण्डितको चर्चा भए पनि प्रमुख पदमा उठाउने कुरा हल्ला मात्रै भएको बताएका छन्। आफ्नो समूहमा अन्य व्यक्ति उम्मेदवार बन्ने सम्भावना कम हुँदै गएका कारण माधव नेपाल पक्षले पण्डितको नाम अघि ल्याएको उनीहरूको आरोप छ।

‘अहिलेसम्म जिल्ला समितिले पनि र नगर समितिले पनि पण्डितको नाम सिफारिस गरेको छैन’, ओली पक्षीय मानिने एमाले विराटनगरका संयोजक सागर थापाले भने, ‘उहाँहरूको पक्षका कार्यकर्ताहरूले तलतलै चर्चामा ल्याएका हुन्।’ फेसबुकमा चर्चा गर्ने रोहित कोइराला भने ओली पक्षकै कार्यकर्ता हुन्।

यसअघि नेकपा एमालेले विराटनगरको प्रमुख पदमा विनोद ढकाललाई उठाउने संभावना रहेको बताउँदै आएको थियो। पुनः महानगरपालिका भएपछि पण्डितको नाम अगाडि आएपछि भने ढकाल नै प्रमुखका उम्मेदवार बन्लान् कि नबन्लान्? चर्चा भने सुरु भएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.