|

काठमाडौँ : काँग्रेस सभापति शेरबहादुर देउवा मुलुकको ४० औं प्रधानमन्त्रीमा निर्वाचित भएका छन्। व्यवस्थापिका संसदमा मंगलबार भएको निर्वाचनमा ३ सय ८८ मत प्राप्त गर्दै उनी मुलुकको प्रधानमन्त्री निर्वाचित भएका हुन्।

गणतन्त्र स्थापना भएपछिका उनी १० औं प्रधानमन्त्री हुन्। देउवा  व्यक्तिगत रुपमा चौथो पटक प्रधानमन्त्री भएका हुन्।

संसदमा उम्मेदवारी प्रस्तुत गर्दै देउवाले समयमै तीनै तहको निर्वाचन सम्पन्‍न गर्न, संविधानको सर्वस्वीकार्यता बढाउन आफूले प्रधानमन्त्रीमा उम्मेदवारी दिएको बताए।  उनले सदनबाटै दोस्रो तहको स्थानीय तह निर्वाचनमा असार १४ मानै सम्पन्न गर्ने र माघ सात गतेभित्र प्रदेश र संघीय  संसदको निर्वाचन गर्ने प्रतिबद्धता व्यक्त गरे। 'स्थानीय तहको निर्वाचन समयमै गर्ने र संविधान अनुसार हुनुपर्ने निर्वाचन माघ सात गतेभित्रै सम्पन्न गर्ने मेरो प्रतिवद्धता हो। म काम पनि गरेर देखाउँछु,' उनले भने।

यस्तै मधेसको माग सम्बोधन गर्न तथा राष्ट्रिय एकता मजबुद बनाउन संविधान संशोधन समेत गर्ने र त्यसमा विपक्षी दलको समेत समर्थन हुने देउवाले विश्वास व्यक्त गरे।' संविधानको सर्वस्वीकार्यता आवश्यक छ विपक्षी दलका नेताले समेत संविधान संशोधनमा सहमति गर्ने कुरा गर्नुभयो उहाँले कुरामात्रै होइन काम पनि गर्नु हुनेछ भन्ने मेरो विश्वास,देउवाले भने,'मेरो कार्यकालमा संविधान संशोधन हुन्छ।'

यस्तै उनले काँग्रेस र माओवादीबीच भएको भद्र सहमति कार्यान्वयन गर्दै  सत्ता हस्तान्तरण गरेको निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई धन्यवाद व्यक्त गरेका छन्।' अविश्वास र आशंकाका जेलिएको राजनीतिमा उहाँले इमान्दारीता प्रस्तुत गर्नुभएको छ उहाँमा राजनेता हुने खुबी छ म प्रधानमन्त्रीजीलाई धन्यवाद भन्न चाहान्छु,' देउवाले भने।

देउवालाई प्रधानमन्त्रीमा निवर्तमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रस्ताव गरेका हुन् भने उनलाई काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, लोकतान्त्रिक फोरम नेपालका अध्यक्ष विजय गच्छदार, प्रेम बहादुर सिंह, कुमार खड्का र जयदेव जोशीले समर्थक थिए।

प्रस्तावकका रुपमा धारणा व्यक्त गर्दै निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  काँग्रेसका नेतालाई पहिलोपटक प्रधानमन्त्रीमा प्रस्ताव गर्न पाउँदा खुशी लागेको बताए। उनले देउवाको नेतृत्वमा राष्ट्रिय समझदारी र राष्ट्रिय एकता बलियो हुने विश्वास व्यक्त गरे। ' परिवर्तन संस्थागत गर्न देउवा सक्रिय हुनुहुन्छ भन्ने मेरो विश्वास छ उहाँको नेतृत्वमा राष्ट्रिय एकता मजबुद हुनेछ।'

प्रधानमन्त्रीका समर्थक रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवाले असन्तुष्ट पक्षलाई समेत निर्वाचन सहभागी गराउने उल्लेख गरे। काँग्रेसकै नेतृत्वमा संविधान निर्माण भएको भन्दै उनले तीनै तहको निर्वाचन काँग्रेस नेतृत्वले सम्पन्‍न गरी संविधान कार्यान्वयनलाई गतिशीलता दिने बताए। 'सभापतिले सफलतापूर्वक तीनै तहको निर्वाचन सम्पन्न गरी संविधान कार्यान्वयनलाई गतिशीलता दिनुहुनेछ उहाँलाई सफल कार्यकालको शुभकामना,' पौडेलले भने।

देउवाले छिमेकी मुलुकसँग सन्तुलित सम्बन्धन कायम राख्‍ने, आर्थिक समृद्धिको दिशामा मुलुकलाई अघि बढाउने कार्यमा आफु क्रियाशील हुने प्रतिवद्धता व्यक्त गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.