|

काठमाडौँ : काँग्रेस सभापति शेरबहादुर देउवा मुलुकको ४० औं प्रधानमन्त्रीमा निर्वाचित भएका छन्। व्यवस्थापिका संसदमा मंगलबार भएको निर्वाचनमा ३ सय ८८ मत प्राप्त गर्दै उनी मुलुकको प्रधानमन्त्री निर्वाचित भएका हुन्। गणतन्त्र स्थापना भएपछिका उनी १० औं प्रधानमन्त्री हुन्। देउवा  व्यक्तिगत रुपमा चौथो पटक प्रधानमन्त्री भएका हुन्।

प्रधानमन्त्रीका लागि संसद्‍‍मा उम्मेदवारी प्रस्तुत गर्दै गर्दा देउवा निकै फुर्तिलो देखिए। उनले समयमै तीनै तहको निर्वाचन सम्पन्‍न गर्न र संविधानको सर्वस्वीकार्यता बढाउन आफूले प्रधानमन्त्रीमा उम्मेदवारी दिएको बताए। 

उनले सदनबाटै दोस्रो तहको स्थानीय तह निर्वाचनमा असार १४ मानै सम्पन्न गर्ने र माघ सात गतेभित्र प्रदेश र संघीय  संसदको निर्वाचन गर्ने प्रतिबद्धता व्यक्त गरे।

'स्थानीय तहको निर्वाचन समयमै गर्ने र संविधान अनुसार हुनुपर्ने निर्वाचन माघ सात गतेभित्रै सम्पन्न गर्ने मेरो प्रतिवद्धता हो। म काम पनि गरेर देखाउँछु,' उनले भने।

मधेसको माग सम्बोधन गर्न तथा राष्ट्रिय एकता मजबुद बनाउन संविधान संशोधन समेत गर्ने र त्यसमा विपक्षी दलको समेत समर्थन हुने देउवाले विश्वास व्यक्त गरे।

'संविधानको सर्वस्वीकार्यता आवश्यक छ। विपक्षी दलका नेता (केपी ओली) समेतले संविधान संशोधनमा सहमति गर्ने कुरा गर्नुभयो। उहाँले कुरामात्रै होइन काम पनि गर्नु हुनेछ भन्ने मेरो विश्वास छ,'देउवाले भने। उनले आफ्नो कार्यकालमा संविधान संशोधन हुने विश्वास व्यक्त गरे।

काँग्रेस र माओवादीबीच भएको भद्र सहमति कार्यान्वयन गर्दै  सत्ता हस्तान्तरण गरेका निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति उनले धन्यवाद व्यक्त गरे।

'अविश्वास र आशंकाका जेलिएको राजनीतिमा उहाँले इमान्दारीता प्रस्तुत गर्नुभएको छ उहाँमा राजनेता हुने खुबी छ म प्रधानमन्त्रीजीलाई धन्यवाद भन्न चाहन्छु,' देउवाले भने।

देउवालाई प्रधानमन्त्रीमा निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रस्ताव गरेका हुन् भने उनलाई काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, लोकतान्त्रिक फोरम नेपालका अध्यक्ष विजय गच्छदार, प्रेम बहादुर सिंह, कुमार खड्का र जयदेव जोशीले समर्थक थिए।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.