किन गरे छ अरब राष्ट्रले कतारसँग सम्बन्ध विच्छेद?

|

कुवेतका अमिर शेख सवाह अल अहमद अल सवाह कतार र छ अरब राष्ट्रको कूटनीतिक सम्बन्ध सङ्कट समाधानका लागि मध्यस्थता गर्न साउदी अरब  पुगेका छन्।

कुवेती अमिर साउदी अरब, इजिप्ट, बहराइनलगायतका छ खाडी मुलुकले कतारले आतङ्कवादलाई सघाएको आरोपमा कतारसँगको कूटनीतिक सम्बन्ध विच्छेद गरेपछि सोमबारदेखि देखिएको सङ्कट समाधानमा पहल गर्न साउदी अरबको भ्रमणमा गएका कतारका सांसदले जानकारी दिएका छन्।

“अमिर आजै साउदी अरबका लागि छुट्नुभएको छ”, कतारका सांसद अलि अल देकवासीले कतारको संसदीय बैठकमा बताए। “हामी प्रार्थना गरौँ भगवानले उहाँको भ्रमणको उद्देश्य पूरा गर्नुहुनेछ र अरब राष्ट्रबीचको एकतालाई सफल पार्नुहुनेछ।”

“कुवेती तथा खाडी मुलुकका जनताको समर्थन अरब मुलुकबीच देखिएको वैचारिक भिन्नता अन्त्य गर्न अमिरले गर्ने पहलप्रति रहनेछ”, संसद जमान अल हर्षबासले बताए।

साउदी अरब इजिप्टसहितका छ अरब राष्ट्रले गत सोमबारदेखि कतारसँगको कुटनैतिक सम्बन्ध तोडेको बताएका थिए। कतारले आतङ्कवादलाई सघाएको र अरब क्षेत्रमा शान्ति तथा अमन चैनमा समस्या ल्याएको आरोप लगाउँदै साउदी अरब, बहराइन, संयुक्त अरब इमिरेट्स, यमन, लिबिया र इजिप्टले कतारसँगका सबै कूटनीतिक सम्बन्ध अन्त्य भएको घोषणा गरेका थिए।

इजिप्टसहित अरब राष्ट्रका विभिन्न छ मुलुकले आफ्ना यातायातका सेवालाई पनि कतारबाट अलग बनाउने जनाएपछि पेट्रोलियम पदार्थका लागि धनी राष्ट्र कतारलाई समस्या परेको देखिएको छ। कतारले अधिकांश सामान यी राष्ट्रबाट वा यिनै मुलुक भएर भित्र्याउने गरेको छ।

सोमबार एक विज्ञप्ति जारी गरी रियादले कतारले आतङ्कवादी समूह र पृथकतावादी कट्टरपन्थी मुसलमानलाई सघाउँदा समग्र अरब क्षेत्रको शान्ति तथा सुरक्षामा समस्या आएको आरोप लगाएको थियो।

यसैबीच कतारले आतङ्कवाद वा इरानलाई सघाउने गरी आफ्नो मुलुकबाट कुनै पनि गतिविधि नभएको बताउँदै कतारमाथि लगाइएका सबै आरोपको खण्डन गरेको थियो। छिमेकी अरब राष्ट्रहरुले लगाएको आरोपको खण्डन गर्दै कतारी विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गरी कतारमाथि लगाइएका आरोप तथ्यमा आधारित नरहेका तर झुटा र आधारहीन दाबीमात्र भएको भन्दै आफूलाई एक्ल्याउने कामको विरोध गरेको थियो।

 सम्बन्ध विच्छेद गराउनुको अर्थ कतारलाई अरूमाथि निर्भर बन्ने अवस्थाको सिर्जना गर्नु रहेको बताउँदै कतारी प्रशासनले आवश्यक पर्ने सबै उपायलाई अवलम्बन गरी अघि बढ्ने जनाएको छ। 

अरब राष्ट्रहरुमा देखिएको कूटनीतिक समस्या समाधान गर्न कुवेत लगायत इरान र टर्की लगायतका मुलुकहरु मध्यस्तकर्ताको भूमिकामा देखिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.