'स्टार क्याम्पेनर' भन्दै प्रचण्डद्वारा प्रशंसा, कसैले विरोध गरेनन्

|
फाइल फोटो

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी हेडक्वार्टर बैठकमा नेता जनार्दन शर्माको उच्च प्रशंसा गरेका छन्। यससँगै शर्मालाई कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा गृहमन्त्रीको रुपमा जिम्मेवारी सम्हाल्ने अवसर पनि मिलेको छ।

आफू नेतृत्वको सरकारमा उर्जामन्त्रीका रुपमा शर्माले निर्वाह गरेको भूमिकाको चर्चा गर्दै प्रचण्डले उनलाई 'स्टार क्याम्पेनर'को उपमा दिएका छन्। बैठकमा पार्टीको तर्फबाट नयाँ सरकारमा क-कसलाई पठाउने भन्ने विषयमा छलफल भएको थियो।

नेताहरु अग्निप्रसाद सापकोटा, हरिबोल गजुरेल, गिरीराजमणि पोख्रेल, टोपबहादुर रायमाझी लगायतले सरकारमा सहभागी हुने इच्छा देखाए पनि खुल्लारुपमा कुनै दाबी गरेनन्। ‘खुलारुपमा दाबी नगरे पनि सरकारमा जाने चाहना अरुको पनि थियो,’ केन्द्रीय कार्यालय सदस्य मणि थापाले थाहा खबरसँग भने, 'तर नेतृत्वमा महरा र गृहमन्त्रीमा शर्मालाई पठाउनेबारे धेरै नेताको एउटै मत रह्यो।’

प्रचण्ड नेतृत्वको सरकारमा उर्जामन्त्रीको रुपमा उनले लोडसेडिङ अन्त्यमा महत्वपूर्ण भूमिका खेलेका थिए। कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनाएर लोडसेडिङ अन्यका लागि उनले गरेको सहकार्यको अन्यत्र पनि प्रशंसा हुने गरेको छ।

यस्तै उनले नेपालको पानी जनताको लगानी भन्ने नारासहित उर्जा क्षेत्रमा जनतालाई प्रत्यक्ष जोड्न सफल भएको, आफूले गरेको कामको ठीक-ठीक ढंगले प्रचार-प्रसार गर्न सफल भएको भन्दै प्रचण्डले जनार्दनको उच्च मूल्याङ्कन गर्दै गृहमा पठाउने प्रस्ताव गरेका थिए।

गृहमन्त्रीको लागि चाहिने आवश्यक योग्यता जनार्दनमा भएको भन्दै प्रचण्डले प्रस्ताव गरेपछि कसैले विरोध जनाएनन्। रुकुममा जन्मिएका जनार्दन जनयुद्धकालमा माओवादी जनसेनाका ४ मध्ये एक डेपुटी कमाण्डर हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.