|

आज मात्रै होइन, उहिल्यैदेखि हामीलाई जंगली ठान्दै र मान्दै आएका छन्। हिजो गर्धनमा राजतन्त्रले कसेको दाम्लोको डाम अझै नमेटिएका कथित सभ्य शहरीया कहलिनेहरूले जंगली ठानेरै हाम्रो गास, बास, कपास र सर्वश्व लुट्दै एकछत्र रजाइँ गरे। मान्छे-मान्छेमा विभेद जन्माए। आफू मालिक र हामीलाई रैती बनाए किनकि उनीहरूको सोच जंगली युगमै रन्थनिएको थियो। र त हामीलाई जंगली ठानिदिए। होइन भने मानिसले मानिसमाथि कसरी विभेद एवं हेपाहा प्रवृत्तिको मलजल र पोषण गर्न सक्छ?

कोही कसैले शहरमा एक–दुई दिन सर्ट मैलो बनाएकै भरमा गणतन्त्र संभव थिएन। यहाँसम्म आइपुग्न थुप्रै सेता कमिजहरू रगत लत्पतिएर राता भएका छन्।बुझिराखौँ, रैती या दास भएर बाँचेका जीवनहरू बदलिन बोकेको बन्दुकले बँदेल वा दुम्सी मारेर संभव थिएन। त्यसैले यिनै जंगलीहरूले सामन्ती सत्ताको आडमा आतंक मच्चाउनेहरूलाई निशाना बनाएकै हुन्। त्यसपछि मात्र 'श्रीमान गम्भीर' छाडेर 'सयौँ थुङ्गा फूल' उनिएको हो। 

मानव सभ्यताको विकास र जंगलको बीचमा ऐतिहासिक सम्बन्ध छ। वर्तमानका सभ्य मानिसका पुर्खाहरू कुनै बेला जंगलमा बसोवास गर्ने गरेको इतिहास हामीले थुप्रै भेट्टाउँछौँ। मानिस जंगली युग हुँदै कृषि युग पार गरेर अहिलेको औद्योगिक र आधुनिक सूचना सभ्यतामा आइपुगेको सत्य हो। मानव सभ्यताको विकासमा, वन अर्थराजनीतिको पनि महत्त्वपूर्ण भूमिका रहँदै आएको छ। त्यस्तै, वर्षौंअघिदेखि देशमा व्याप्त असमानता र अभावको खाडल पुर्नका लागि नै नेपालमा जंगलीहरूले आगो निलेर बारुद ओकलेका हुन्।

कुरूपताले बेरिएको शहरमा लाचार जीवन बिताउँदै आएका दास मानसिकताबाट ग्रस्तहरूका लागि हो, माओवादी जंगली नै हो। जंगलबाटै गणतन्त्रको माग गर्‍यो, अहिले देश गणतन्त्रमय छ। जंगलबाटै संविधासभाको माग गर्‍यो, अहिले देश नयाँ संविधानमय छ। जंगलबाटै संघीयताको माग गर्‍यो, अहिले देश संघीयतामय छ।

अधिकारसम्पन्न स्थानीय तहमार्फत् जनता अधिकारसम्पन्न हुँदै गएका छन्। जंगलबाटै समानुपातिक र समावेशिताको माग गर्‍यो, अहिले देशमा सबै जाति, क्षेत्र, धर्म र समुदायको समानुपातिक प्रतिनिधित्वको व्यवस्था भएकै छ। तिनै जंगलीहरूले दशकौँदेखि अँध्यारोमा बसेका शहरवसीहरूलाई उज्यालो शहर बनाइदिए। तिनै जंगलीहरूले शहरका साँघुरा सडकहरू फराकिला बनाइदिए। तिनै जंगली माओवादीहरूकै कारण अहिले देशको आर्थिक वृद्धि दर इतिहासकै उच्च सात दशमलब पाँच छ। महँगी वृद्धि दर पनि १२ वर्षयताकै न्यून छ। जंगलीहरूले १० वर्ष यस देशको नेतृत्व गर्ने हो भने देशलाई विकसित र समृद्ध बनाउने रहेछन् भन्ने कुरा प्रचण्ड नेतृत्वको सरकारले पुष्टि गरिदिएको छ।

'प्रतिगमन आधा सच्चियो' भनेर राजाको टीका लगाउन तयार हुनेहरूले अपराध र अन्याय गर्दै समाजमा कतिसम्मको जंगली बर्बरता देखाए र अझैसम्म पनि देखाउँदै छन्? त्यो पनि त हिसाब हुँदै छ होला नि सभ्यताका परिभाषकहरू? छुद्रता र गाली गलौजको सहारा लिएर आफूलाई सिद्धान्तनिष्ठ र सभ्य शहरीया सम्झिने काइँला बाहरूले हामीलालाई सभ्यताको पाठ पढाउनभन्दा आफैँमा लागू गरे विगतमा गरिएका पापहरू पखालिन सक्छन्।

'जंगली' शब्द लामो समयदेखि प्रयोग गर्दै आइरहेका छन्- केही दल समर्थक युवाहरूले। उनीहरूलाई थाहा छ कि छैन, मानव विकासको समयदेखि नै हामी मानव जाति पनि जंगली नै हौँ। समयको गति र विकासक्रमसंगै हामी शहरीया भएका हौँ। अझैसम्म हामी पूर्णतया विकसित भएका छैनौँ। तुलनात्मक रूपमा हामी तेस्रो विश्वअन्तर्गतका मुलुकहरूका जनता जैविक, नैतिक, राजनैतिक, शैक्षिक, अार्थिक रूपमा जंगली नै छौँ।

प्रसंगमा जाँदै गर्दा नेपाली राजनीतिमा मुख्य दलहरू कुन हुन्, जो  कुनै संघर्ष नगरी स्थापित भएका छन्? अहिलेको चौथो दल राप्रपाभन्दा फरक दल, जो राष्ट्रिय राजनीतिमा चर्चामा छन्, ती दलहरू कुनै पनि होइनन्। संघर्षको इतिहास नबोकेकाबाहेक अघि पछि सबै दलहरू युद्धमा, आन्दोलनमा थिए, हतियार बोकेकै थिए। नेपाली कांग्रेस २००७ सालमा जंगली नै थियो। तत्कालीन सत्ताधारी राणा परिवारले जंगली नै ठान्थे उसलाई। कांग्रेससँगै संघर्ष थालेको तत्कालीन  नेपाल कम्युनिस्ट पार्टी पनि जंगली नै हो। समयक्रमसँगै नेपाली राजनीतिको अस्थिरतामै अल्झिएका दलहरू, कांग्रेस, कम्युनिस्ट सबै दलहरू २०४६ सालसम्म जंगली नै भएर स्थापित भएका छन्।

अहिलेको नेकपा एमाले कहाँ थियो जंगली  नभएको? २०२८ सालमा 'झापा विद्रोह'को नाममा मान्छेको टाउको नकाटेको हो र यसले? झपा विद्रोहमा मारिने मान्छेहरू के मान्छे थिएनन्? त्यस काण्डका नाइके केपी ओली आफैँ हुन्। उनी पनि जंगली परिवेशबाटै आएका हुन्। आधिकंश एमाले नेता कार्यकर्ताको वास्तविक व्यावहारिक अवस्था आजपर्यन्त जंगली नै देखिन्छ। यतिसम्म कि एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओली पनि त्यो अवस्थाबाट अछुतो छैनन्।

यसर्थ विश्व राजनीतिमा स्थापित राजनीतिक मूल्य मान्यता पनि स्थापित हुन संघर्ष गर्नै पर्छ। त्यसैले विचारशून्य उच्छृङ्खलहरूले राजनीतिक विश्लेषण नगरेकै राम्रो। अरूलाई नामकरण गर्नुअघि आफ्नो पृष्ठभूमि र वास्तविक इतिहास अध्यन नगरी अरूलाई तथानाम गाली नगरौँ। सकिन्छ, नराम्रो कुराको सभ्य तरिकाले विरोध गरौँ, राम्रो कामको लागि सृजनात्मक सहयोग गरौँ। यति पनि गर्न सकिँदैन भने चुप लागेर बसौँ, अरूलाई जंगली भन्दै गर्दा आफूलाई झनै जंगली नबनाअौँ। यो नै सभ्यताको परिचय हो।

अन्यथा, जंगलीहरूले ल्याएको परिवर्तनमा मुख धसेर, आफू सभ्य शहरमा महानताको शिखर चढेको कल्पना गरिन्छ भने सहर्ष अस्वीकार गर्न सक्नुपर्छ- जंगलीहरूले ल्याएको परिवर्तन पनि। के फिर्ता वा अस्वीकार गर्ने हिम्मत छ? कुरूपताको शहरमा कुँजिएका दुखी आत्माहरूलाई के थाहा परिवर्तनका लागि 'जंगली' भनिएकाहरूले कयौँ कष्टकर दिनरातहरू जंगलमै बिताएका छन् र त हिजो खुम्चिएर राजा रजौटाहरूको पैताला सुँघ्नेहरूले आज शिर ठाडो पारेर हिँड्न सक्ने वातावरण बनेको छ। निकै सभ्य शहरीया ठहरिन खोज्नेहरूको पृष्ठभूमि के हामीले नबुझेको हो र?

'प्रतिगमन आधा सच्चियो' भनेर राजाको टीका लगाउन तयार हुनेहरूले अपराध र अन्याय गर्दै समाजमा कतिसम्मको जंगली बर्बरता देखाए र अझैसम्म पनि देखाउँदै छन्? त्यो पनि त हिसाब हुँदै छ होला नि सभ्यताका परिभाषकहरू? छुद्रता र गाली गलौजको सहारा लिएर आफूलाई सिद्धान्तनिष्ठ र सभ्य शहरीया सम्झिने काइँला बाहरूले हामीलालाई सभ्यताको पाठ पढाउनभन्दा आफैँमा लागू गरे विगतमा गरिएका पापहरू पखालिन सक्छन्।

अन्यथा, सगर गर्जिंदा हुट्टिट्याउँले आकाश थाम्छु भन्दै माथितिर खुट्टा फर्काएझैँ सधैँ आफैँलाई सर्वशक्तिमान र सभ्य ठान्नेहरूको रतन्धो लागेका दृष्टिमा माअोवादी हिजो पनि जंगली थियो, आज पनि जंगली छ र भोलि पनि जंगली नै रहला। परन्तु, तिमीले छातीमा हात राखेर भन- सूचना प्रविधिको यो सुनौलो युगमा मान्छेहरूलाई जंगली देख्ने र विश्लेषण गर्ने तिम्रो मगजमा अझै पनि जंगली हामी वा तिमी?

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • अत्यान्त सही कुरो छ भदौ महिनामा आँखा फुटेको गोरुले सधैं अध्यारो देख्छ । यि अन्ध भक्त हरुले अरुलाई जंगली भन्न कुन बिचार देखी हो ।