|

फेरि नयाँ सरकार बनेको छ। समस्याहरूको चाङमा उभिएको सरकारका चुनौतीहरूसँगै सम्भावनाहरू पनि थुप्रै छन्। जीवनको सात दशक राजनीतिक उतार चढावमा बिताएका प्रधानमन्त्री शेरबहादुर देउवा एउटा यस्तो कालखण्डमा प्रधानमन्त्री भएका छन्, जसलाई सानोतिनो छाती र समायोजनको मात्र भरले छिचोल्न गाह्रो छ। 

प्रधानमन्त्री हुने क्रमको पहिलो चरणमा उनी सफल भएका छन्, कम्तीमा सहमति कार्यान्वयन गर्ने र गराउने मामिलामा। झण्डै दुई तिहाईको हाराहारीमा मत ल्याएर प्रधानमन्त्री चयन भएका छन् उनी। ५९३ सांसद संख्याको मतमा ३८८ सांसदको मत आफ्नो पक्षमा पारेका छन् देउवाले। प्रधानमन्त्री चयन कार्य ढिलो गरायो एमालेको नेतृत्वले, मत बढाउन समय पायो कांग्रेस–माओवादी गठबन्धनले। 

राजनीतिक पर्यवेक्षकहरूले अनुमान गरेका छन्– नेकपा माले पनि अब सरकारमा जान खुट्टा उचालेको छ किनभने अबको संसदमा अहिलेको जस्तो हुनेछैन र जति रमाइलो गर्ने हो साना दलका लागि यही नै उत्तम समय हो। 

सरकारलाई संविधान संशोधनका लागि केही मतको आवश्यकता छ र त्यो मत त्यस्तैसँग छ, जो अहिले एमालेको फेर समाएर बसेका छन्।

मत मात्रै सबै कुरा होइन, तर मत पनि केही पक्कै हो रहेछ। यदि अहिले शेरबहादुर देउवाको विरुद्धमा बहुमत पुग्थ्यो भने एमालेले छोड्थ्यो होला र? त्यसै त प्रधानमन्त्री निर्वाचनलाई दुई दिन धकेलेको थियो। 

कुुरोको चुरो हो, नेपालको राजनीतिलाई शुद्धीकरण गर्ने। प्रजातन्त्रीकरणको बाटोमा नेपाललाई निर्बाध अगाडि बढाउने। पर्यवेक्षकहरू देउवाको नाममा राजनीतिक शुद्धीकरण जोड्दा हाँस्ने गर्छन्। यसको कारण हो, देउवा र प्रचण्डप्रति असहिष्णु पक्षले गरेको प्रचारशैली र भावी प्रधानमन्त्री हुन रोक्ने क्रममा देखाएको गोयवल्स प्रचार शैली। 

पक्कै पनि गिरिजाबाबु, किसुनजी, गणेशमानजी र पछिल्लो अवस्थामा सुशील कोइराला जस्ता अभिभावकहरू हुँदाका देउवा र अहिले एक्लो चालकको रूपमा देखिने देउवाको भूमिकामा आकाश पाताल फरक छ। एकातिर सबैभन्दा प्रजातन्त्रका पक्षमा संघर्षरत वीपी कोइराला जस्ता नेताले स्थापना गरेको नेपाली कांग्रेस पार्टीको सभापतिको रूपमा गरिने भूमिका निर्वाह र प्रजातन्त्रलाई संस्थागत गर्नका लागि तत्कालै तीन÷तीनओटा निर्वाचन गर्नुपर्ने सरकारका प्रमुखका रूपमा निर्वाह गर्ने भूमिका एकदम जोखिमपूर्ण तर अमरत्व प्राप्त गराउने खालको छ। 

मुलुकमा राजनीतिक विकृति ल्याउनेको रूपमा मात्र चित्रित देउवाको त्यो पक्ष पनि अब देखिनुपर्छ, जसले मुलुकका लागि अतिआवश्यक भनेर अमूर्त सपनालाई मूर्त बनाउन प्रजातन्त्रका लागि ज्यानसमेत जोखिममा राखेर जीवनका नौ वर्ष जेल जीवन बिताएको अतीत छ। तीन÷तीन पटक मुलुकको प्रधानमन्त्री भएको अनुभव छ र झण्डै दुई तिहाई सांसदहरूको समर्थन प्राप्त छ उनलाई। 

अहिले तत्काललाई देउवाले निस्पृह प्रजातन्त्रवादी नेताको रूपमा नेपाली र विश्व समाजमा स्थापित हुनु जरुरी छ। असंलग्न तर नेपालको फाइदा हुने विदेश नीतिलाई कार्यान्वयन गर्नु जरुरी छ। नेपालीको हितमा हुने गृह नीति पहिचान गर्नु जरुरी छ।

प्रधानमन्त्री हुँदाहुँदै शेरबहादुर देउवाले एउटा गम्भीर प्रतिबद्धता र सहयोग विपक्षी र सहयात्रीहरूबाट प्राप्त गरेका छन्- माओवादी र एमालेबाट प्रजातन्त्रका पक्षमा एकले अर्कालाई उछिन्दै गरेको प्रतिबद्धता। विश्वमा कम्युनिस्टहरूको सिला खोज्नुपर्ने बेलामा नेपालमा किन कम्युनिस्टहरू बढेका होलान्? भनेर संसदमा दलका नेताको भाषण सुन्दा लाग्यो– सबै प्रजातन्त्रप्रति प्रतिबद्ध रहेछन्।

यसमा सबैभन्दा खुसी वीपीको आत्मा भएको हुनुपर्छ किनभने उहाँले सुरु गरेको प्रजातान्त्रिक संसदीय व्यवस्थाको पक्षधरता देखाउनेमा हिजो प्रजातन्त्रका विरुद्धमा जोसँग मिलेर पनि अन्तरध्वंश गर्न तत्पर शक्तिहरू अहिले प्रजातन्त्रका दुहाई सबैभन्दा ठूलो स्वरले दिँदै छन्। आफ्ना हिजोका सबै अप्रजातान्त्रिक क्रियाकलापहरूलाई बिर्सेर अरूलाई प्रजातन्त्रवादी हुने सल्लाह दिँदै छन्, त्यो पनि संसदमा, प्रधानमन्त्री छान्ने भाषणमा। यसलाई सकारात्मक पक्ष मान्दा पनि हुन्छ, उनीहरूले जनतासँग माफी मागेको भन्दा पनि हुन्छ। बाँकी कुरा त भावी दिनमा देखाउने क्रियाकलापले मात्र भन्न मिल्छ।

प्रसङ्ग नवनिर्वाचित प्रधानमन्त्री देउवातिरै केन्द्रित गरौँ। अबका दिनमा उनको सबैभन्दा पहिलो चुनौती भनेको आगामी असार १४ मा हुने स्थानीय तहको दोस्रो निर्वाचनको सफलतापूर्वक, शान्तिपूर्ण र निष्पक्ष तवरले सम्पन्न गर्नु हो। सबैको स्वीकार्यतामा निर्वाचन हुन सक्यो भने र त्यो निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र सहभागितामूलक भयो भने उनको पहिलो खड्को टर्नेछ। त्यसपछि संविधान संशोधनको आवश्यकता छ किनभने राजपालाई त्यही शर्तमा समर्थनमा ल्याइएको हो। त्यसपछि प्रदेशको सीमाको कुरा छ अनि मात्र प्रादेशिक निर्वाचन हुनेछ। त्यसपछिमात्र संघीय निर्वाचन हुनेछ, जुन आगामी माघ ७ गतेसम्म सम्पन्न हुनु जरुरी छ। 

संविधानले नै त्यो कुरा भनेको छ। संविधान कार्यान्वयनको पहिलो चक्र मात्र त्यसबेलामा सम्पन्न हुनेछ, जब नयाँ संसदले छानेका जनप्रतिनिधिलाई सरकार हस्तान्तरण हुनेछ। 

एकातिर सबै दलहरूलाई मिलाएर लैजाने काम छ भने स्वयं नेपाली कांग्रेसमा देखिएको समूहगत स्वरूपलाई पनि एकताबद्ध गर्दै लैजानुपर्नेछ। पहिलो चरणको स्थानीय निर्वाचनमा कांग्रेसभित्रको अन्तरद्वन्द्व, आपसी कलह, व्यक्तिगत स्वार्थ र अनुशासनहीनताले गर्दा झण्डै ५० ओटा तहमा हार भएको अनुमान राजनीतिक पर्यवेक्षकहरूले गरेका छन्।

आएको आनुपातिक मत र गणनामा देखिएको मतले त्यसको छिनोफानो गरेको पाइन्छ भन्ने पर्यवेक्षकहरू छन्। अर्थात् पार्टीका कार्यकर्ताहरूलाई नैतिक बन्धनमा राखेर अनुशासनमा बाँध्नका लागि सर्वप्रथम नेताहरूमा त्यो क्षमता र सहिष्णुता वृद्धि गर्नु पनि देउवाका लागि चुनौतीपूर्ण छ तर असम्भव भने होइन। 

गिरिजाबाबुले भन्ने गर्नुहुन्थ्यो– कांग्रेसलाई कांग्रेसले मात्र हराउन सक्छ, अरू कसैले सक्दैन। भावात्मक रूपमा, भौतिक रूपमा र सांगठनिक रूपमा पार्टीलाई अझ एकताबद्ध पार्नु पहिलो चुनौती र कर्तव्य हुन जान्छ। धेरैको अनुमान के छ भने अब देउवाले तत्काल कार्यवाहक सभापति चयन गर्नेछन्, जसका हकदार युवानेता विमलेन्द्र निधि हुन सक्ने अनुमान गरिन थालेको छ। या जो कोही होला। त्यहाँ धेरै क्षमतावान नेता छन्, जसले पार्टीलाई पुरानै अवस्थामा लैजानका लागि कोसिस गर्नेछन्।

अर्को तत्काल गर्नुपर्ने कुरा हो– मुलुकको विकासको बसेको जगमा जनहितका कामहरू गरी जनतामा प्रजातन्त्रप्रतिको विश्वास जगाउने। प्रजातन्त्रको विकल्प भनेको प्रजातन्त्र मात्र हो भन्ने विश्वास दिलाउने। प्रजातन्त्रका खोल ओडेर सत्ता कब्जालाई मात्र अभीष्ट मान्नेहरूलाई प्रजातान्त्रिक तरिकाले नै सम्झाउने कि कसैको घरमा पालेको भाले नबास्दैमा कसैको आँगनमा उज्यालो हुन रोकिँदैन। 

कुरा प्रजातन्त्रका गर्ने अनि मुलुकका सबै क्षेत्र, प्रशासनसहित न्यायालयमा समेत सेटिङ गरेर मुलुकलाई बन्धक बनाउन लागेकाहरूको नकाब उतार्न सक्नुपर्छ। आवश्यकता परे आफ्नै दलबाट शुद्धीकरण सुरु गरेर मुलुकलाई प्रजातन्त्रका विरोधीबाट जोगाउने। तर यसो भन्दा निहीत स्वार्थमा फस्नु पनि हुँदैन र गरेका कामको सूचना दिन सक्नुपर्छ। 

अहिले तत्काललाई देउवाले निस्पृह प्रजातन्त्रवादी नेताको रूपमा नेपाली र विश्व समाजमा स्थापित हुनु जरुरी छ। असंलग्न तर नेपालको फाइदा हुने विदेश नीतिलाई कार्यान्वयन गर्नु जरुरी छ। नेपालीको हितमा हुने गृह नीति पहिचान गर्नु जरुरी छ। ठूलो छाती बनाएर सबै नेपालीलाई अटाएकाले नै आजको दिनसम्म नेपाली कांग्रेस जीवित छ। त्यसको पहिलो प्रयोग संविधानअनुसार सानो मन्त्रिपरिषद बनाउनुपर्छ, २५ जना नबढाई। गरिने नियुक्तिहरू पारदर्शी तथा योग्याय योग्य हुनुपर्छ। सरकारले सबै संवैधानिक अंगहरूसँगको सम्बन्ध सुमधुर राख्ने र सबै अंगहरू सरकार नै हुन् भन्ने चेतना दिन सक्षम हुनुपर्छ।

प्रजातन्त्र आफैँ एउटा विधिको शासन हो। विधिलाई नछोड्नेवित्तिकै स्वतः धेरै समस्याहरू समाधान हुनेछन्। वीपीले भनेझैँ– समस्या परेमा शहीदलाई सम्झेर एक मुठी नेपालको माटो हातमा लिएर विवेकको प्रयोग गर्ने।

हामीले पनि देउवालाई राष्ट्रियता, समाजवाद तथा प्रजातन्त्रका बारेमा धेरै अर्ति दिने हिम्मत गर्दैनौँ किनभने जसको जीवनको पाँच दशक प्रजातन्त्र स्थापना, पुनःस्थापना र विकासमा नै बितेको छ। तर जनताका अपेक्षाहरू हुन्छन्। तिनलाई मुखरित गर्ने काम गर्नु हाम्रो कर्तव्य हुन जान्छ। स्वार्थी राजनीतिभन्दा अमर हुने राजनीतिप्रति देउवाको नैतिक साहस बढोस्, प्रधानमन्त्रीप्रति यही शुभकामना। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • प्रजातन्त्रलाई सतहमा धुलाम्य पार्ने उद्यत अद्यापि छ | बढी क्रान्तिकारी देखिन वा हिजोका कर्तुतहरु ढाकछोप गर्न लोकतन्त्रको खोल ओढे पनि विधि र पद्धति भत्काउने अन्तर ध्वम्सी प्रवृति हावी नै देखिन्छ | लेखक महोदयले निष्कर्ष सत्य छ | विधिले कम गर्दा प्रजातन्त्र सफल हुन्छ | तर काम गर्न पाएको छैन | किन ??? स्पष्ट छ- प्रजातन्त्र सफल हुदा दुनियाबाट हराई रहेको बासीत्यासी विचारले ठाउ पाउदैन | देशमा भाडभैलो गर्न पाइदैन | मलाइ यस्तै लाग्यो | धन्यवाद |