|

  • नमीन ढकाल-

इलामः स्थानीय तहको निर्वाचन दुई चरणमा हुने भएपछि सुस्ताएको इलामको चुनावी गतिविधि असार १४ नजिकिएसँग पुनः सुरु भएको छ। 

प्रथम चरणको निर्वाचन परिणामपछि जिल्लाका गाउँगाउँमा निर्वाचन अभियान फेरि सुरु भएका हुन्। स्थानीय उम्मेदवार औपचारिक/अनौपचारिक रूपमा आफूलाई मतदान गर्ने मतदाताको घरदैलोमा पुगिरहेका छन्। गाउँको चिया पसल, चोकदेखि बजारसम्म चुनावका विषयमा छलफल हुन थालेका छन्। 

निर्वाचनको मिति नजिकिएसँगै राजनीतिक दलका नेता कार्यकर्ताहरूको चुनावीसभा पनि भइरहेको छ। कसरी हुन्छ, मतदातालाई रिझाउन स्थानीय उम्मेदवारले घरदैलो थालेका छन्। इलाममा नेपाली कांग्रेस र नेकपा एमालेले १० वटै स्थानीय तहका प्रमुख÷उपप्रमुखको उम्मेदवार तय गरेर आफ्ना चुनावी गतिविधिहरूलाई तीव्रताका साथ अघि बढाइरहेका छन्। 

गाउँ/नगरका चोकहरू राजनीतिक दलका झण्डाहरूले रंगिचंगी बनेका छन्। यता माओवादी केन्द्रले नौ स्थानीय तह र नयाँ शक्तिले चार स्थानीय तहका प्रमुख/उपप्रमुखसँगै केही वडाका उम्मेदवारहरू समेत तय गरिसकेका छन्। उम्मेदवार छनोट गर्न नसकेका राप्रपा, नेकपा क्रान्तिकारीलगायतका दलहरू अनौपचारिक रूपमा मात्र घरदैलो गरिरहेका छन्। चार नगरपालिका, छ गाउँपालिका रहेको इलाममा २० जना प्रमुख/उपप्रमुख एवं ८१ वडा अध्यक्षसहित ४२५ जनप्रतिनिधि निर्वाचित हुनेछन्।

प्रचार सामग्री बनाउनेलाई पनि भ्याइनभ्याई

निर्वाचनको मिति नजिकिएसँगै राजनीतिक दलका नेता कार्यकर्ताहरूलाई मात्रै होइन, आर्ट र प्रेस व्यवसायीहरूलाई पनि धपेडी सुरु भएको छ। चुनावी प्रचारका सामग्री बनाउनेहरूलाई अचेल भ्याइनभ्याई छ। झण्डा, तुल, ब्यानर तथा पर्चा, पम्प्लेट बनाउनेहरू अचेल दिनरात नभनी काममा व्यस्त हुने गरेका छन्।

इलाम सदरमुकाममा रहेका एक दर्जनभन्दा बढी लेखाइ तथा छपाइका व्यवसायीहरू अचेल साँझबिहान नभनी दलहरूका प्रचार सामग्री बनाइरहेका छन्। 

इलाम बजारमा इलाम आर्ट संचालन गर्दै आएका विक्रम राई दुई सातादेखि खाना र आरामको दैनिकीसमेत छाडेर चुनावी सामग्री तयार गर्नमा व्यस्त हुनुपरेको बताउँछन्। उनी भन्छन्, ‘अहिले खान बस्नको कुनै टुंगो छैन, झण्डा र ब्यानर बनाउन नै भ्याइनभ्याई छ।’ छापाखानाहरू पनि घोषणापत्र, पम्प्लेट, पर्चा तथा अपिल छाप्न व्यस्त छन्। 

आचारसंहिता उल्लंघन गर्दै राजनीतिक दल

इलामका राजनीतिक दलहरूले आचारसंहिता उल्लंघन गर्दै चुनाव प्रचार प्रसारका कार्यक्रमहरूलाई तीव्रता दिएका छन्। राजनीतिक दलले चुनावी प्रचार प्रसारको काममा झोला, भेष्ट, टोपी जस्ता सांकेतिक सामग्रीहरूको प्रयोग व्यापक रूपमा गरिरहेका छन्। 

निर्वाचन आयोगले गत बैशाख १४ गते क्षेत्रीय निर्वाचन कार्यालय, जिल्ला निर्वाचन कार्यालयहरूलाई सांकेतिक सामग्रीको प्रयोग नगराउन परिपत्र गरेको थियो। तर इलाममा आचारसंहिताविपरीत सार्वजनिक स्थानमा झण्डा र चुनाव प्रचारका सामग्रीहरू राख्न राजनीतिक दलहरूबीच होडबाजी भइरहेको छ। 

धेरैजसो स्थानमा सबै राजनीतिक दलहरूको झण्डा सँगै राखिएको छ। सार्वजनिक यातायातमा समेत पार्टीका झण्डा लहराउन थालेका छन्। निर्वाचन आचरसंहिता, २०७२ को परिच्छेद २ को ४ नम्बर ‘झ’मा निर्वाचनसम्बन्धी प्रचार प्रसारका लागि धार्मिक, साँस्कृतिक, पुरातात्त्विक, ऐतिहासिक स्थल वा सार्वजनिक संस्थाको भवन, स्मारक, पर्खाल, सडक, खम्बा वा संरचनालगायतको कुनैपनि सार्वजनिक स्थलमा पर्चा टाँस्न वा टाँस्न लगाउन वा लेख्न वा लेख्न लगाउन नहुने उल्लेख छ। 

चुनावका प्रचारका लागि इलाम चोक बजारमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, संघीय समाजवादीका झण्डाहरू लहराउन थालेका छन्।

लहरूले आचारसंहिता उल्लंघन गरेको हालसम्म उजुरी नपरेका कारण निर्वाचन कार्यालयले कारवाही प्रक्रिया अघि बढाउन नसकेको जिल्ला निर्वाचन अधिकारी प्रेमप्रसाद काफ्लेले बताए।

जिल्ला निर्वाचन अधिकृत भन्छन्: ‘तयारी तीव्र गतिमा अघि बढिरहेको छ’

निर्वाचनको मिति नजिकिँदै जाँदा जिल्ला निर्वाचन कार्यालयले आफ्नो काम तीव्र रूपमा अघि बढाउँदै लगेको बताएको छ। कार्यालयले दुई चरणमा सरोकारवालाहरूसँगको निर्वाचन आचासंहिता, विद्यालय शान्तिक्षेत्र र स्थानीय तहको निर्वाचनमा बालअधिकारको अनुगमनसम्बन्धी अन्तक्र्रिया गरेको छ। निर्वाचन आचारसंहिता, २०७३ र विद्यालय शान्तिक्षेत्र राष्ट्रिय ढाँचा तथा कार्यान्वयन, २०६८ लगायतका प्रावधानहरूको पालना गर्दै दलगत राजनीतिक गतिविधि तथा निर्वाचनसम्बन्धी कार्यमा बालबालिका र विद्यालयलाई प्रयोग नगरी बालअधिकार संरक्षण गर्न पहल गरेको छ। 

आचारसंहिता उल्लंघन भएको अवस्थामा निर्वाचन आयोगले एक लाख रूपैयाँसम्म जरिवाना तथा उम्मेदवारी रद्दसम्म गर्न सक्ने प्रावधान रहेकाले सबै राजनीतिक दलहरूलाई आचारसंहिता पालन गर्न निर्वाचन कार्यालयले आग्रह गरेको छ। कार्यालयले १० ओटै स्थानीय तहको निर्वाचन कार्यालयमा आवश्यक सामग्री पठाउने तयारी गरिरहेको जिल्ला निर्वाचन अधिकृत काफ्लेले जानकारी दिए।

निर्वाचन कार्यालयले इलाम नगरपालिका– ५ बरबोटे र इलाम नगरपालिका– ९ भञ्ज्याङ र देउमाई नगरपालिकामा नमुना मतदान सम्पन्न गरी इलाम चोक बजारमा नमुना मतदानको तयारी गरिरहेको छ। जिल्लाका १४४ मतदानस्थलमा २४४ जना निर्वाचन शिक्षा कार्यकर्ता परिचालन गरिसकिएको सहायक निर्वाचन अधिकृत खेम राईले बताए। 

जेठ २८ गते निर्वाचन कार्यालयले ५५० बढी मतदान अधिकृत, सहायक मतदान अधिकृत, गणना कर्मचारीहरूका लागि निर्वाचन लक्षित तालिमको आयोजना गर्ने भएको छ।

‘इलामको अवस्था शान्तिपूर्ण छ’

पहिलो चरणको निर्वाचनको परिणाम र गतिविधिहरूलाई मध्यनजर गर्दै इलामको सुरक्षा संयन्त्रलाई मजबुत बनाइएको छ। मतदानस्थलहरूको संवेदनशीलतालाई वर्गीकरण गरेर फरक फरक सुरक्षा नीति अपनाइएको छ। 

सुरक्षा समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले इलामको सुरक्षा अवस्था हालसम्म शान्तिपूर्ण रहेको बताए। ‘गृहमन्त्रालयले तोकेअनुसार अतिसंवेदनशील, संवेदनशील र सामान्य वर्गीकरण गरेर सोहीअनुसार सुरक्षा फौज खटाउने तयारी भइरहेको छ’, उनले भने, ‘सामान्यमा भन्दा अतिसंवेदनशील र संवेदनशील स्थानमा बढी सुरक्षाकर्मी खटाइनेछ।’ 

चुनावलाई शन्तिपूर्ण रूपमा सफल बनाउन जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको र गस्ती बढाइएको छ। नेत्रविक्रम चन्द निकट नेकपाको गतिविधिलाई विशेष ध्यानमा राख्दै प्रहरीले निर्वाचनविरोधी गतिविधि गर्नेहरूलाई धमाधम नियन्त्रणमा लिन थालेको छ। हालसम्म इलामबाट छ जनालाई पक्राउ गरी सार्वजनिक मुद्दा चलाइएको प्रहरी नायव उपरीक्षक महेन्द्र श्रेष्ठले जानकारी दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.