ज्ञानेन्द्रले अवसर उठाउन सक्लान् वा आलोचनामा पर्लान्?

|

काठमाडौँ: नेपालको आर्थिक वृद्धिदर पछिल्लो २३ वर्षयताकै सबैभन्दा माथि पुगेको छ। मूल्यवृद्धि नियन्त्रणमै छ। लोडसेडिङ हटेको र विभिन्न नयाँ नीति तथा कार्यक्रमका कारण लगानीमैत्री वातवरण बनेको छ। यसबीच मुलुकको अर्थमन्त्रीको जिम्मा कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले पाएका छन्।

आइतबार मन्त्रिपरिषदको बैठक सकेर अर्थमन्त्रालयको कार्यभार सम्हाल्न जाँदै गर्दा कार्की धेरै बोलेनन्। 'जनताले अनुभूति गर्न सक्ने गरी आर्थिक विकास र राज्यको सबै स्रोत साधनको प्रयोग गर्दै भरपूर फाइदा उठाउनेतर्फ मेरो ध्यान जानेछ', अर्थमन्त्रीको कुर्सीमा बसेपछि पत्रकारलाई प्रतिक्रिया दिँदै कार्कीले भने।

पत्रकारले पूरक बजेट ल्याउनुहुन्छ वा हुन्न? भनी सोधेको प्रश्नमा पछि भेटेर कुरा गर्ने बताए। त्यसपछि उनी कर्मचारीको कुरा सुन्न अर्थमन्त्रालयको सुवर्ण हलतर्फ लागे।

कर्मचारीहरूले सामान्यत: व्यापार घाटा बढेका बाहेकका अन्य धेरै चुनौती नभएको जानकारी अर्थमन्त्रीलाई गराए ता पनि अरूले छोडेर गएको बजेटमा बसेर आफ्नो लक्ष्य पूरा गर्न सक्नुपर्ने चुनौती उनमा रहेको छ। बजेटले राखेको लक्ष्य पूरा गर्नु र संघीय मोडलमा नयाँ बजेट कार्यान्वयन गर्नु उनका लागि चुनौती हो भने २३ वर्षपछि राम्रो गतिमा देखिएको नेपालको अर्थतन्त्रलाई सम्हाल्ने मौका पाउनु कार्कीका लागि अवसर हो।

यस्ता छन् कर्मचारीले देखाएका चुनौती?

बुधबार अर्थमन्त्रालयमा कार्कीलाई स्वागत गर्ने क्रममा नेपाल राष्ट्र बैंकका गभर्नरका साथै दुई जना सचिवले अहिलेको आर्थिक अवस्थाको विषयमा उनलाई जानकारी गराएका थिए। उनीहरूले कार्कीलाई चुनौतीभन्दा धेरै संभावनाहरू नै देखाए। राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले वित्तीय सुधारको लागि चिन्ता नगर्न आग्रह गर्दै मन्त्रीलाई पूर्ण रूपमा साथ दिने प्रतिवद्धता जनाए। अर्थसचिव शान्तराज सुवेदीले सफल अर्थमन्त्री बनाउने बचन दिए। 'हाम्रो टिम राम्रो छ, हामी कटिवद्ध भएर काम गर्नेछौँ', सचिव सुवेदीले भने, 'तपाईं सफल अर्थमन्त्री हुनुहुनेछ।'

तर अर्थमन्त्रीलाई केही चुनौती पनि ती कर्मचारीहरूले देखाए। राजश्‍व सचिव राजन खनाल, अर्थसचिव सुवेदी र गभर्नर नेपालले सबैभन्दा ठूलो समस्या व्यापार घाटा बढ्नु भएको र यही नै पहिलो चुनौती रहेको बताए। 'देशका आर्थिक परिसूचकहरू धेरै राम्रा छन् तर व्यापार घाटा झन् बढेको बढ्यै छ', गभर्नर नेपालले भने, 'धेरै अवसरका बीच हमीमाझ यो ठूलो चुनौती हो।' नेपालले भनेजस्तै अर्थसचिव र राजश्‍व सचिवले पनि पहिलो चुनौती यही नै रहेको बताए।

राजश्‍व सचिव राजन खनालले व्यापार घाटा बढिरहँदा रेमिट्यान्सको वृद्धि दर त्यति राम्रो नभएको र धेरै नेपाली कामदार रहेको कतारलाई खाडी मुलुकले एक्ल्याउँदा समस्या पर्न सक्ने कुरा जानकारी गराए।

यीबाहेक व्यवस्थापनको पक्षमा कार्कीलाई ठूलो चुनौती रहेको खनालले अौँल्याए। उनले आफू र अर्थसचिवबीचको व्यवस्थापनमा ध्यान केन्द्रित गर्नका लागि आग्रह गरे। 'यो मन्त्रालयमा दुई सचिव रहेका छन्, यो व्यवस्थापन गर्नु ठूलो चुनौती हो', खनालले भने, 'प्‍लस, माइनस रहला। कहिलेकाहीँ तपाईंको तहसम्म आइपुग्न सक्छ, ख्याल गर्नु होला', खनालले भने।

खनालले उठाएको यो विषय त्यति चुनौती नरहेको प्रतिक्रिया भने अर्का सचिव (अर्थ सचिव) सुवेदीले भने। 'हामी मिलेरै काम गरेका छौँ, एउटै व्याजमा कर्मचारी भएको कारण त्यति समस्या हुनेछैन', उनले भने, 'कहिलेकाहीँ एउटा सचिवलाई भन्नुपर्ने कुरा अर्कोलाई भनिएला, हामी मिलाइहाल्छौँ', सुवेदीले भने।तर, सुवेदीले देखाएको सबैभन्दा ठूलो चुनौती भने बजेट माग रहेको थियो। उनले भने, 'पठाएको बजेट कार्यान्वयन गर्न नसक्ने तर नयाँ बजेट माग्ने गरिन्छ। भोलिदेखि नै तल लाइन बसेर बजेट माग्नेको भीड हुन्छ।' सुवेदीले संघीय बजेट कार्यान्वयनका लागि संसदमा पठाएको वित्तीय आयोग गठन र अन्तरसरकारी वित्तीय हस्तान्तरण कानुन छिटो पास गर्न आवश्‍यक रहेको अर्थमन्त्रीलाई सुझाए।

त्यस्तै पछिल्लो संसोधित समीक्षाअनुसार चालु आर्थिक वर्षमा ५९६ अर्ब रूपैयाँ राजश्‍व उठ्ने आँकलनसहित आगामी आर्थिक वर्षमा ७३० अर्ब रूपैयाँ राजश्‍व उठ्ने अपेक्षा राखिएको विषयमा चुनौती भएको पनि उनले बताए। '७३० अर्ब रुपैयाँको राजश्‍व संकलनको लक्ष्य राखेका छौँ, यो उठाउन सकेमा हामी सफल हुनेछौँ', सुवेदीले भने।

कर्मचारीलाई के भने कार्कीले?

उनले अर्थका विषयमा आफू नयाँ रहेको बताउँदै सूचकांकमा भन्दा पनि जनताले अनुभूति गर्ने गरी विकास गर्नुपर्ने बताए। 'अब हामीले जनतालाई अर्थतन्त्र सुधारको तस्वीर देखाउनुपर्छ', मन्त्री कार्कीले भने, 'उनीहरूले अनुभूति गर्न सक्ने हुनुपर्छ, मेरो प्राथमिकता यही हो।' उनले आफ्नो पहिलो लक्ष्य जनताको समृद्धि भएको पनि बताए।

आफ्नो लक्ष्य पूरा गर्नका लागि रातदिन नभनी काम गर्ने मन्त्री कार्कीले बताए। 'म जलस्रोत मन्त्री हुँदा मेघावाट र किलोवाट छुट्याउन सम्झनुपर्थ्यो। त्यही समयबाट त्यो मन्त्रालयलाई सक्रिय बनाउन थालिएको हो', उनले भने, 'यहाँ पनि मैले इमान्दारीका साथ काम गर्नेछु। मुलुकको समृद्धिमा मेरो ध्यान जानेछ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.