|

काठमाडौँ: एक वर्ष पहिले माओवादीले सत्ता समीकरण तोडेर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीमाथि अविश्वास प्रस्ताव ल्याएपछि सरकारबाट बाहिरिएको नेकपा एमालेले एक वर्षदेखि प्रतिपक्षी दलको भूमिका निर्वाह गर्दै आएको छ। 

एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएदेखि नै राष्ट्रियताको मुद्दालाई जोडतोडका साथ उठाउँदै आएको एमालेलाई मधेसविरोधीको आरोपसमेत लाग्दै आएको छ। विशेषतः संविधान संशोधनको विषयलाई लिएर सीमाङ्कन, भाषा, नागरिकताको विषयमा तत्कालका लागि संविधान कार्यान्वयनतिर लाग्नुपर्ने अडान एमालेले राख्दै आएको छ। 

विशेषतः एमाले अध्यक्ष ओलीलाई चर्को राष्ट्रवादीको आरोपसमेत लाग्दै आएको छ। यसै सन्दर्भमा स्थानीय तहको पहिलो चरणको निर्वाचनसमेत सम्पन्न भएर दोस्रो चरणको निर्वाचनको मिति नजिकिँदै गर्दा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनको मुख्य पार्टी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पूर्व सहमतिअनुसार प्रधानमन्त्री हस्तारण गरेका छन्। 

एमाले नेता लालबावु पण्डित नेकपा एमाले कहिले पनि मधेसविरोधी वा पहाडको मात्र समर्थक नभएको बताउँछन्। एमालेले कुनै पनि सरकारमा रहँदा मधेससँग जोडिएर धेरै काम गरेको भन्दै 'आफ्नो गाउँ आफैँ बनाऊँ' कार्यक्रमदेखि विगतका स्थानीय निकायको निर्वाचनसमेत एमालेले मधेसकेन्द्रित गरेर धेरै कार्यक्रम गरेको बताए। 

सामाजिक सुरक्षा भत्तालगायतका कार्यक्रमबाट पनि अधिकांश मधेसका जनता लाभान्वित भएको भन्दै एमालेले राष्ट्रियतालाई क्षेत्रीय कुराको रूपमा कहिले नलिएको बताए। 'एमाले कहिले पनि मधेसविरोधी होइन, रहने पनि छैन। क्षणिक स्वार्थका निम्ति वा क्षणिक लोभलाभको निम्ति कसैबाट उठाइएको भरमा आरोपहरू लगाइदिने काम भएका छन्', एमाले पोलिटब्युरो सदस्यसमेत रहेका नेता पण्डितले भने, 'राष्ट्रिय स्वार्थमा खलल पुग्ने बेलामा यदि उनीहरू हाम्रो नितान्त निजी स्वार्थका निम्ति वा सीमित क्षेत्रीय स्वार्थका निम्ति साथ दिएन भन्न सक्छन्।'

एमाले राष्ट्रियतालाई टुक्रा-टुक्राका रूपमा, जातीय, क्षेत्रीय वा साम्प्रदायिक कुरालाई कहिले पनि नहेर्ने बताउँदै उनले समग्र मुलुकलाई हेरेर मुलुकभित्रका हिमाल, पहाड, तराई सबै एक हौँ भन्ने मान्यतामा विश्वास गर्ने बताए। 'एमालेका कुनै पनि नीतिहरू क्षणिक रूपको हुँदैन। दीर्घकालीन र यथार्थमा आधारित हुन्छ। एक मधेस, एक प्रदेश चाहियो भनेर भनियो। हामीले त्यो हुँदैन भन्यौँ', उनले भने, 'किनभने त्यो गलत छ। जुन बेला पहाड र मधेस टुक्र्याउने कुरा ल्याए हामीले त्यो गलत छ भन्यौँ। दुई राष्ट्रियताको मान्यता लिएर आए हामीले त्यो गलत छ भन्यौँ।'

सीमित भूगोल र मधेसलाई मात्र हेर्नुपर्छ भन्ने मान्यताअन्तर्गत कतिपय विषय उठेको भन्दै एमालेले समग्र मुलुकलाई पनि हेर्नुपर्छ र मधेसलाई छुट्याउने कुरा पनि भएन भनेर हेरेको पण्डितले बताए। आफ्नो सीमित स्वार्थ पूरा नभएकाले एमालेलाई मधेसविरोधी भनिएको नेता पण्डितले बताए। 'विदेशबाट आउनेहरूलाई नागरिकतामा प्राथमिकता दिने कुराहरू नागरिकतामा प्राथमिकता दिने कुरा आयो। हामीले त्यसमा नेपालका धर्तीपुत्रहरू छन्, उनीहरू र पछि आउनेहरूलाई एउटै स्तरको मान्यता दिने कुरा भएन', उनले भने। त्यस कारण अहिले आफ्नो निहीत स्वार्थ पूरा नभएपछि उनीहरूले एमाले मधेसविरोधी हो भनेर आरोप लगाउँदै आएको दाबी पनि उनले गरे।

राष्ट्रियताको सन्दर्भमा एमालेको हिजोकै धारणा कायम रहेको एमाले नेताहरू बताउँछन्। एमाले सचिव गोकर्ण विष्ट एमाले राष्ट्रिय हित र राष्ट्रिय स्वार्थलाई जोगाउन हरहमेशा लागिरहेको बताउँछन्। 'हामी हाम्रो राष्ट्रियतालाई जोगाउन चाहन्छौँ। त्यसका निम्ति सम्पूर्ण नेपाली जनताबीचको एकता र सद्भाव जति बलियो बनाउन सक्यो, त्यति हाम्रो राष्ट्रियता बलियो/राष्ट्र सबल हुन्छ', उनी भन्छन्, 'हामी हाम्रो आस्था र जनताको हितलाई नै मध्यनजर गरेर काम गर्छौं।'

राष्ट्र र जनताको हितमा हुने सन्दर्भमा एमालेले जतिसुकै लचकता अपनाउन तयार रहेको दाबी पनि उनले गरे। 'राष्ट्र र जनताको दूरगामी हितलाई प्रतिकूल प्रभाव पार्ने कुरासँग भने हामी बिपक्षमा हुन्छौँ', उनले भने।

राष्ट्रियता भन्ने कुरा निरन्तर केन्द्रबिन्दुमै रहने कुरा भएको भन्दै नेता विष्टले समयअनुरूपको नारा तय हुने भए पनि राष्ट्र र राष्ट्रियताका पक्षमा एमाले सदैव पहरेदार भएर उभिने बताए। अहिले स्थानीय चुनावको समय भएकाले चुनावअनुसारका नाराहरू घोषणापत्रमा लिएर जानुपर्ने अवस्था रहे पनि राष्ट्रियताको विषय भने सँगसँगै रहेको उनले बताए। 

कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको नयाँ सरकारका सन्दर्भमा भने संविधानको कार्यान्वयनसँग जोडिएर तीन चरणको निर्वाचनअन्तर्गत स्थानीय तहको पहिलो चरणको निर्वाचन सकेर अब दोस्रो चरणको निर्वाचनको चरणमा भएकाले ती कार्यहरू कसरी सम्पन्न हुन्छन् भन्ने सन्दर्भसँग जोडिने नेता पण्डितको धारणा छ। 'दोस्रो चरणको निर्वाचन, प्रदेश र केन्द्रीय तहको निर्वाचन सम्पन्न गर्ने कार्यभार जो छ, त्यो कार्य यो सरकारले पवित्र उद्देश्यले निर्वाचन गराएर यदि अगाडि बढ्ने हो भने यो सरकारको सफलता र यसको औचित्य प्रमाणित हुन्छ', नेता पण्डितले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.