अर्थमन्त्री कार्की, जो कहिल्यै निर्वाचित हुनसकेनन्

|

काठमाडौँ: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठन भएको मन्त्रिपरिषदमा कांग्रेसका तर्फबाट तीन जना मन्त्री भएका छन्। तीन मन्त्रीहरूमा सबैले मन्त्रिपरिदको सदस्य भएर कार्य अनुभव बटुलिसकेका छन्। तथापि, कुन मन्त्रीको विगत र वर्तमान कुन हैसियतमा छ? भन्ने बारेमा केही तथ्य प्रस्तुत छ।

उपप्रधानमन्त्री गोपालमान श्रेष्ठ

नेपाली कांग्रेसको संसदीय दल र केन्द्रीय कार्यसमितिमा पाका नेताको रूपमा चिनिएका श्रेष्ठ देउवा नेतृत्वको सरकारमा शिक्षा मन्त्रालयको जिम्मेवारीसहित उपप्रधानमन्त्री भएका छन्। उनी देउवाले २०५९ सालमा स्थापना गरेको नेपाली कांग्रेस प्रजातान्त्रिकको उपसभापति र २०६१ सालमा कार्यवाहक सभापति नै भए।

२०४२ सालदेखि २०४७ सम्म नेपाली कांग्रेस स्याङ्जा जिल्लाको सभापति भएर पार्टीलाई नेतृत्व दिएका श्रेष्ठ २०४८ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा वाणिज्यमन्त्री भए। तर प्रधानमन्त्री कोइरालाले छ जना मन्त्रीलाई बर्खास्त गरे। त्यो बर्खास्तगीमा उनी पनि परे। २०५१ सालमा कोइराला नेतृत्वको सरकार ढाल्न सक्रिय भूमिका खेलेको कांग्रेसभित्रको चर्चित ३६से समूहका उनी सक्रिय सांसद थिए।

२०५६ सालमा संसदीय दलका प्रमुख सचेतक भएका श्रेष्ठ २०५८ सालमा वन तथा भूसंरक्षणमन्त्री भए। उनले कैलालीको एक रोजिन एण्ड टर्पेनटाइन कम्पनीलाई खोटो संकलनको अुनमति दिएर भ्रष्टाचार गरेको आरोप सोही मन्त्रालयका राज्यमन्त्री सुरेन्द्र हमालले लगाए। दुवैबीच हात हालाहाल पनि भयो।

मन्त्री र राज्यमन्त्रीबीचको विवाद चुलिएपछि तत्कालीन पार्टी नेतृत्वको दवाबमा मन्त्री श्रेष्ठले राजीनामा दिएका थिए। तर राज्यमन्त्री हमालको आरोप भने पुष्टि हुन सकेन।

२०५९ सालमा नेपाली कांग्रेस विभाजन गरी नेपाली कांग्रेस प्रजातान्त्रिक गठन गरेका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाका विश्वासिला पात्रको रूपमा रहेका श्रेष्ठले सो पार्टीको उपसभापति र लामो समयसम्म कार्यवाहक सभापतिको भूमिका निर्वाह गरे। कुनै बेला तत्कालीन पार्टी सभापति कृष्णप्रसाद भट्टराईका विश्वासिला पात्र श्रेष्ठ कालान्तरमा शेरबहादुर देउवाका विश्वासिला मित्रको रूपमा स्थापित भएका छन्।

२०६२ मंसिर ७ गते भएको संसदवादी सात दल र माओवादीबीचको १२ बुँदे समझदारीमा श्रेष्ठले कांग्रेस प्रजातान्त्रिकको कार्यबाहक सभापतिको हैसियतले हस्ताक्षर गरेका थिए। २०६३ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा भौतिक योजना, निर्माण तथा यातायातमन्त्री भएका श्रेष्ठको पृष्ठभूमि कांग्रेसप्रति आस्थावान् पारिवारिक विरासत र सफल व्यवसायी पनि हो।

कांग्रेस संसदीय दलको उपनेता र पार्टी उपसभापतिमा देउवाले नियुक्त गर्न सक्ने सम्भावित विश्वासिला नेताको रूपमा पहिचान बनाएका श्रेष्ठलाई उपप्रधानमन्त्री बनाएसँगै देउवालाई पार्टी उपसभापतिमा अन्य आकांक्षीलाई ठाउँ दिन सजिलो हुने अड्कलबाजी गरिएको छ। 

२०४८ र ०५६ सालको संसदीय निर्वाचनमा निर्वाचित श्रेष्ठ २०६४ सालको संविधानसभा निर्वाचनमा समेत विजयी भएका थिए। उनी २०७० को संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार नभए पनि समानुपातिक कोटाबाट सभासदमा चयन भएका हुन्। श्रेष्ठले २०२९ सालमा भारतमा भएको तरुण दलको सम्मेलनमा समेत प्रतिनिधिको रूपमा भाग लिएका थिए।

अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद ज्ञानेन्द्रबहादुर कार्की भद्र, शालीन र इमान्दार नेताको रूपमा आफ्नो क्षवि बनाएका नेताको रूपमा कांग्रेसमा चिनिएका छन्। नेपाली कांग्रेसको राजनीतिमा २०३३ सालदेखि लागेका कार्कीको जीवनमा एउटा दुर्भाग्यपूर्ण घटनाले पछ्याइरहेको छ। त्यो हो, उनी मतदानबाट कहिल्यै नेतृत्वमा चुनिएनन्।

उनले २०४८, २०५१ र २०५६ को संसदीय निर्वाचन र २०६४ को संविधानसभा निर्वाचनमा भोजपुर जिल्लाबाट उम्मेदवार बने पनि सधैँ पराजित हुँदै आएका छन्। तर पनि उनले जीवनमा महत्त्वपूर्ण भूमिका भने निर्वाह गरेका छन्। 

राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर भारतमा निर्वासित जीवन बिताएका वीपी कोइरालालाई स्वागत गर्न खटिएका कार्कीलाई सरकारले वीपी नेपाल आउने दुई दिनअघि नै गिरफ्तार गरी करिव आठ महिना जेल हालेको थियो। कार्कीसँगै सो समयमा भोजपुरका जयन्द्र पाण्डे (राष्ट्रपति विद्यादेवी भण्डारी पाण्डेका काका) र पर्वतका याम शर्मा पौडेललाई गिरफ्तार गरिएको थियो।

२०४० सालमा काठमाडौँको वनकालीमा भएको नेपाल विद्यार्थी संघको महाधिवेशनमा कार्की अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका थिए। २०४७ सालमा प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको प्रमुख स्वकिय सचिव भएका थिए। भट्टराई २०५६ सालमा प्रधानमन्त्री हुँदा कार्की राजनीतिक सल्लाहकार थिए। 

२०६४ सालदेखि नेपाली कांग्रेसको केन्द्रीय सदस्य भएका कार्की त्यसअघि नै २०५९ सालमा देउवा नेतृत्वको नेपाली कांग्रेस प्रजातान्त्रिकका केन्द्रीय सदस्य थिए। २०६३ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा जलस्रोतमन्त्रीको भूमिका कार्कीले निर्वाह गरेका थिए। सो समयमा मन्त्री हुन संसदको सदस्य हुनुपर्ने थिएन।

२०७० सालको संविधानसभा निर्वाचन समानुपातिकतर्फबाट सांसद भएका कार्की २०६४ सालदेखि पार्टीको केन्द्रीय सदस्यमा लगातार निर्वाचित हुँदै आएका छन्। पार्टी सभापति शेरबहादुर देउवाबाट महामन्त्रीमा नाम प्रस्ताव हुने आँकलन गरिएको थियो। 

केही महिनाअघि मात्र श्रीमतीको निधन भएपछि पत्नीशोकमा रहेका कार्कीले बुधबार शपथ ग्रहणपछि, पदभार ग्रहण कार्यक्रम र स्वागत कार्यक्रममा समेत खादा, अवीर र फूलले सजिन सकेनन्। 

श्रममन्त्री फरमुल्लाह मन्सुर

नेपाली कांग्रेसका केन्द्रीय सदस्य फरमुल्लाह मन्सुर २०५१ र २०५६ सालको संसदीय निर्वाचन र २०७० को निर्वाचनमा बाराबाट विजयी हुँदै आएका छन्। २०६२ सालदेखि नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति सदस्य हुँदै आएका नेता मन्सुर २०४८ र २०६४ को संसदीय र संविधानसभा निर्वाचनमा पराजित भएका थिए।

२०६३ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा वातावरणमन्त्री बनेका मन्सुर लामो समयसम्म कांग्रेसमा गिरिजाप्रसाद कोइरालाको विश्वास पात्रको रूपमा स्थापित थिए। २०७२ सालमा भएको कांग्रेसको महाधिवेसनमा कोइराला–पौडेल पक्षबाट कोषाध्यक्षको उम्मेदवार हुने चाहना पूरा नभएपछि देउवा गुटमा प्रवेश गरेका थिए।

देउवा गुटमा प्रवेश गरेको वर्ष दिनपछि नै मन्त्री बन्ने अवसर पाएका मन्सुरले मुस्लिम कोटाबाट पार्टीमा विजयी भएका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.