|

रुपन्देही : ‘बुटवलका ३१ रत्नहरु’ नामको प्रोफाइल पुस्तक प्रकाशनमा ल्याएपछि एकाएक चर्चामा आएका एकजना इन्जिनियरिङका विद्यार्थी सन्तोष मल्ल बुटवलका अधिकांश सार्वजनिक कार्यक्रममा उपस्थित हुन्थे ।

‘सामाजिक सेवा गर्नुपर्छ’ भन्ने भावना व्यक्त गर्ने उनकै अगुवाईमा राष्ट्र बैंकका रिटायर्ड कर्मचारी बुटवलका तुल्सी घिमिरे पुष्पको संयोजकत्वमा अर्फान हेल्पिङ हेन्ड नामको संस्था स्थापना गरे। गैरसरकारी सामाजिक सेवा गर्ने संस्थाको रुपमा खोलिएको सो संस्थाको कार्यालय सञ्चालन गरे र केही रकम संकलन गरेर असहाय र अनाथहरुलाई पनि बाँडे।

‘मसँग धेरै अनुरोध गरेपछि राम्रो काम हो ठीकै छ भनेर मैले पनि साथ दिएँ,–अर्फान हेल्पिङ हेन्डका संयोजक घिमिरे भन्छन् ‘उसको मनमा त यस्तो कालो पो रहेछ, म त यस्तो सुनेपछि एकदमै स्तब्ध भएँ, मलाई यसबारेमा केही पनि भनेको थिएन, भनेको भए म उसलाई यस्तो गलत बाटोमा जान दिन्नथेँ।’

बुटवलका उद्योगी, व्यवसायी, सञ्चारकर्मी, युवालगायत ३१ जनाको प्रोफाइल तयार पारेका सन्तोष झण्डै एक महिनादेखि गुमनाम थिए। ‘ऊ पैसा छाप्नतिर लागेको रहेछ,–इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी मुकुन्द मरासिनी भन्छन् ‘पैसा छाप्ने काम पनि एकदमै कमजोर र सजिलै पत्ता लगाउन सकिने खालको छ।’

वाग्लुङको ढोरपाटनमा जन्मिएर रुपन्देही कञ्चन गाउँपालिका ६ मा घर भएका सन्तोष अध्ययनका लागि बुटवल ११ बुद्धनगरमा बस्दै आएका थिए। उनी अरु पुस्तक प्रकाशन गर्ने तयारी रहेको बताउने गर्थे। तर एकदमै ठूला ठूला महत्वाकांक्षी सपना सुनाउने सन्तोष पुस्तक प्रकाशन र अरु सामाजिक सेवाका नाममा आउने पैसाबाट सन्तुष्ट थिएनन्।

सीसीटी कलेजमा इन्जिनियरिङ पढ्ने सन्तोषले एउटा जुक्ति निकालेछन् ‘आफै पैसा छाप्ने र सबै सपनाहरु पूरा गरेर सानका साथ जिउने।’

यो सबै काम गर्नका लागि उनलाई अर्फान हेल्पिङ हेन्डको कार्यालय र उनी बस्दै आएको डेरालाई प्रयोग गरे। क्याननको फ्रि इन्क प्रिन्ट मेसिन, सामान्य खालको कागजबाट उनले पैसा छाप्ने कामको थालनी गरे। ‘सक्कली पैसा स्क्यान गर्ने, अनि त्यसलाई फरक फरक कागजमा प्रिन्ट गर्ने र दुवैलाई टाँस्ने, यसरी उसले नक्कली पैसा बनाउँदो रहेछ’,डीएसपी मरासिनी भन्छन् ‘पैसा छाप्ने कामलाई उसले एकदमै सजिलो सँग लिएको देखिन्छ।’

यसबाट उनी तब हौसिए, जब बैंकले दोस्रोपटक सम्म पत्तै पाएन। बुटवलको उनले शुरुमा १ लाखको गड्डीमा १ हजार रुपैयाँ नक्कली नोट मिसाएर बैंकमा जम्मा गरे। बुटवल मिलनचोकको प्रभु बैंकमा उनले रकम जम्मा गर्थे। दोश्रो पटक १४ वटा हजारका नक्कली नोट १ लाखको गड्डीमा मिसाएर बैंकमा जम्मा गरे। यसपटक पनि बैंकले पत्तो पाएन। उनी थप हौसिए। तेश्रो पटक जेठ २२ गते १ लाख रुपैयाँ बैंकबाट निकाल्न चेक लिएर बैंकमा पुगे। बैंकले हजार–हजारका नोट १ लाख रुपैयाँ दियो। उनले चलाखी गरे। बैंकले दिएको १ लाखको गड्डी झोलामा हाले र सँगै ल्याएको नक्कली १ लाखको गड्डीको ५–५ सयको दिन भन्दै बैंकलाई दिए। बैंकले ५–५ सय दरका २ वटा गड्डी दियो। उनले यसपटक १ लाख रुपैयाँ नक्कली बैंकलाई दिएर सक्कली आफ्नो हातमा पारे।

नक्कली नोट जम्मा भएको थाहा पाएपछि बैंकले यसबारेमा अनुसन्धान सुरु गर्‍यो। त्यसका लागि बैंकको केन्द्रीय कार्यालयबाट नै दुई जना कर्मचारी बुटबल आए। उनीहरुले सीसीटीभी फुटेज हेरेर प्रारम्भिक अनुसन्धान गरे। बैंकका चिफ अपरेटिङ अफिसर भेषराज खतिवडाका अनुसार सन्तोषको कारोबारमा शंका लागेपछि प्रहरीलाई खबर गरिएको थियो। 'नक्कली नोट भेटिएपछि हेड अफिसबाट दुई जना जानुभयो, सीसीटीभी फुटेज हेरेर प्रारम्भिक अनुसन्धान भयो' उनले भने 'यो मान्छेको कारोबारमा शंका छ भन्ने भएपछि प्रहरीलाई खबर गर्‍यौं।'

पहिलो पटक रकम जम्मा गर्दैमा बैंकले नक्कली नोट पत्ता लगाएको थियो। तर यस्तो रकमको कारोबार कसले गर्‍यो भन्ने तत्कालै पत्ता लाग्न सकेन। 'यसको फाइन्ड आउटचाहिँ दोस्रो पटकको कारोबारमा मात्रै भयो' बैंकका चिफ अपरेटिङ अफिसर खतिवडाले भने।

बैंकले सिसिटीभीको फुटेजमा उनले गरेको चलाखी फेला पारेर खबर गरेपछि यो केस प्रहरीकोमा पुग्यो। ‘बैंकले गरेको शंका सही निस्कियो र हामीले नियन्त्रणमा लिएर अनुसन्धान थालेका छौं', इप्रका बुटवलका डीएसपी मरासिनीले भने 'उसलाई खोटाचलनको महलको ४ नम्बर बमोजिम बिगोबमोजिको जरिवाना तथा १० वर्ष कैद सजाय हुन्छ।’

मल्लको साथबाट प्रहरीले प्रहरीले १ हजार रुपैयाँ ३ सय ५९ थान, ५ सय रुपैयाँ १ सय थान, १ सय रुपैयाँ ५ थान, फ्रि इन्क प्रिन्ट मेसिन १ थान र पैसा छाप्न प्रयोगमा ल्याएका कागजहरु बरामद गरेको छ। प्रहरीले यसमा अरु कसैको संलग्नता भए नभएको खोजी गरिरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.