|

काठमाडौँ: पुरानो संस्थापन पक्षको विरासत सम्हाल्दै वर्तमान सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाप्रति नेता रामचन्द्र पौडेल आक्रामक हुँदै आएका छन्।

पौडेल हरेक महत्त्वपूर्ण निर्णय र अवसरमा सभापतिसँग कडा रूपमा प्रस्तुत हुने गरेका छन्। तर उनकै समूहमा रहेका महामन्त्री शशांक कोइराला भने त्यसप्रति मौन र उदासीन जस्तै देखिन्छन्।

शशांक ती नेता हुन्, जसले १३औँ महाधिवेशनमा सभापतिमा देउवा राम्रै मतान्तरले विजयी बन्दा देउवा समूहका प्रत्यासी अर्जुननरसिंह केसीलाई फराकिलो मतले हराएर कांग्रेस राजनीतिमा दर्बिलो उपस्थिति जनाए। आज उनै शशांक आफ्नो समूहका गतिविधिमा सामेल भए पनि सभापतिप्रति आक्रामक भने छैनन्।

सभापति देउवाले चालेका हरेक कदमका पछाडि पौडेलले आफ्नो समूहको भेला गर्छन्। प्रायजसो भेलाहरूमा शशांक सहभागी भने हुने गरेका छन्। मन्त्रिपरिषद गठनको बेला पनि पौडेलले भेला बोलाए। बुधबार पौडेल समूहका दुइटा भेला भए। दुवैमा शशांक सरिक भए तर उनी आक्रामक भएनन्। उल्टो पार्टीमा 'गुटबन्दी र अनेकता'को विपक्षमा उभिए। भलै, पौडेल समूहले भने सभापति देउवाको शपथ ग्रहणसमेत बहिष्कार गर्ने निर्णय गर्‍यो। त्यस बैठकमा मन्त्रिपरिषद् गठनमा देउवाले लिएको प्रक्रिया र पद्धतिप्रति नेता पौडेल आक्रोशित भएका थिए भने ती कामकारवाही शशांकलाई उति मनपरेन।

आखिर के चाहन्छन् त शशांक? शशांकको अहिलेको भूमिका हेर्दा एउटा समूहको नेताभन्दा माथि उठ्न खोजेको आभास मिल्न थालेको छ। ‘महामन्त्री कोइराला विवाद र वादविवादमा प्रवेश गर्न नै चाहनुहुन्न’, केन्द्रीय सदस्य गुरुराज घिमिरेले थाहाखबरसँग भने, ‘उहाँ पार्टीभित्र गुट/उपगुट विवादमा प्रवेश गर्नै रुचाउनुहुन्न।’

पौडेल समूहका हरेकजसो भेला र बैठकमा कोइरालाको उपस्थिति भए पनि आफ्नो धारणा दुई वा तीन मिनेटभन्दा बढी राख्दैनन्। आफ्नै गुटका नेता पौडेलले सभापति देउवामाथि प्रहरी महानिरीक्षक नियुक्ति, अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्की र प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाभियोग प्रकरणमा पौडेल पार्टी सभापतिविरुद्ध सार्वजानिक रूपमा प्रस्तुत भए।

तर महामन्त्री शशांक भने ती सबै घटनाक्रममा सभापति देउवाकै पक्षमा उभिए। तथापि, उनले सार्वजनिक रूपमा भाषण र वक्तव्यवाजी गर्न रुचाएनन्। उनले पार्टीलाई संस्थागत रूपमा संचालन गर्न सहमति र एकताबद्ध भएर जुट्नुपर्ने एउटै धारणा दोहोर्‍याउँछन्।

पार्टी सभापति देउवाविरुद्ध आजसम्म असहमतिको भाषा प्रयोग नगरेका महामन्त्री शशांक पार्टीमा देखिएको समस्या समाधान गर्न सबैको साथ र सहयोग जरुरी हुने बताउँछन्। केन्द्रीय सदस्य हृदयराम थानी भन्छन्, ‘महामन्त्रीज्यू विरोध, असहयोग वा नकारात्मक विषयमा प्रवेश गर्न रुचाउनुहुन्न। उहाँको जोड सधैँ एकता र सहयोगको आधारमा पार्टीलाई बलियो बनाउनेमा मात्र केन्द्रित हुनुहुन्छ।’

मन्त्री सिफारिस विवादमा तटस्थ बसे कोइराला

पौडेल गुटले बुधबार अनामनगरस्थित सम्पर्क कार्यालयमा बैठक बोलायो। शशांक त्यहाँ पुगे। बैठकको सुरुमै आफ्नो समूहबाट दुई जनालाई मन्त्रिपरिषदमा पठाउने जनाउ पौडेललाई शशांकले गराए। तर पौडेलले पहिलो चरणमा तीन जनालाई राख्नुपर्ने अडान राखे।

बैठक चलिरहँदा देउवाले पौडेललाई फोन गरी महामन्त्री शशांकलाई उपप्रधानमन्त्रीसहित एक मन्त्रालय र महेश आचार्यलाई अर्को मन्त्रालय दिने जनाए। तर पौडेलले आफ्नो गुटबाट कसलाई मन्त्री बनाउने भन्ने निर्णय आफूहरूले गर्ने जनाए।

देउवाको आग्रहलाई महामन्त्रीले अस्वीकार गर्दै पौडेलसँग सहमति गर्न भनेका थिए। पौडेलले आफ्नो गुटबाट बलबहादुर केसी र रामकृष्ण यादवलाई मन्त्रीमा सिफारिस गरे। पछि देउवाले कोइराला र आचार्यबाहेकलाई पठाउने भए एक जनालाई मात्र मन्त्री बनाउने जवाफ दिएका थिए। 

सभापति देउवाले उपप्रधानमन्त्रीसहित एक मन्त्रालय रोजेर लिन गरेको आग्रह नमानेपछि अन्तिम समयमा शशांक सरकारमा जान राजी भएनन्। 

देउवाको आग्रह स्वीकार्न पौडेललाई दवाब

सभापति देउवाले प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथग्रहण समारोहमा सहभागी हुन गरेको आग्रहलाई नेता पौडेलले अश्वीकार गरेको घटनाप्रति शशांकले असन्तुष्टि व्यक्त गरेका थिए। स्रोतका अनुसार शशांकले पार्टीभित्रको असन्तुष्टि छताछुल्ल पार्नुहुन्न भन्दै शपथग्रहण कार्यक्रममा सहभागी हुन पौडेललाई दवाब दिएका थिए।

शशांकको दवाबपछि पौडेल देउवाको शपथग्रहणमा गए। शशांक र पौडेल एकसाथ राष्ट्रपति भवन गएका थिए। पौडेल समूहले भागबण्डाको माग गर्दै गर्दा शशांक भने सक्षम र योग्यलाई सरकारमा पठाउनुपर्ने मान्यता राख्दै थिए। तर उनको मान्यता पौडेलले रुचाएनन्।

समदूरीको सम्बन्धमा छन् शशांक

कांग्रेसका संस्थापक एवं समाजवादी नेता वीपी कोइरालाका कान्छा छोरा शशांक सक्रिय राजनीतिमा डेढ दशकअघि मात्र प्रवेश गरेका हुन्। पार्टी सभापति देउवादेखि प्रभावशाली नेताहरू खुमबहादुर खड्का, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, पूर्व अर्थमन्त्री डा. रामशरण महत र कोइराला परिवारका अन्य सदस्यसँग समेत उनको सम्बन्ध सुमधुर छ। 

२०७२ फागुनमा सम्पन्न पार्टीको १३औँ महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित डा. शशांकले गत कात्तिकमा संसदमा पेश भएको तत्कालीन अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको महाभियोग प्रस्तावको बचाउ गरेनन्। उनको महाभियोग प्रस्तावको बचाउ गर्न नहुने भनाइलाई पार्टी सभापति देउवाले समेत समर्थन गरेका थिए।

सभापति देउवाको भावनाबमोजिम पार्टी केन्द्रीय कार्यसमिति बैठकबाट ‘मन्त्रिपरिषदले गरेको प्रहरी प्रमुख नियुक्तिमा न्यायालयले हस्तक्षेप गरेको भन्ने निर्णय लेखनमा समेत उनको योगदान थियो। तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाभियोग लगाउने सभापति देउवाको प्रस्तावलाई उनले पनि खुलेर समर्थन गरेका थिए।

शशांकले प्रभावशाली नेता खुमबहादुर खड्काको भनाइलाई समर्थन गर्दै धर्मनिरपेक्षताप्रति असन्तुष्टि र फरक मत सार्वजनिक रूपमा व्यक्त गरेका थिए।

पौडेलसँग चिसिएकै हो त शशांकको सम्बन्ध?

महामन्त्री निर्वाचित हुनुअघि आफूलाई कुनै पनि गुट निकट छु भनेर देखाउन नचाहने शशांकले पार्टी महामन्त्रीमा नेता पौडेलको गुटबाट निर्वाचित भएदेखि नै राजनीतिक र सांगठनिक मुद्दामा फरक धारणा राख्न थालेका थिए।

प्रहरी प्रमुख नियुक्ति, अख्तियार प्रमुखविरुद्धको महाभियोग, प्रधानन्यायाधीशविरुद्ध महाभियोग प्रकरणसहितका केही पार्टीगत एजेन्डामा पनि नेता पौडेलभन्दा पृथक भूमिकामा देखिए उनी।

गत कात्तिक मसान्तमा पोखरामा भएको तरुण दलको महाधिवेशमा सर्वसम्मत नेतृत्व चयन गर्दा पौडेल र शशांकको कुरा मिलेको थिएन। शशांकले भतिज सिद्धार्थ कोइरालालाई तरुण दलको महामन्त्री बनाउन प्रस्ताव गरेका थिए तर पौडेलले आफ्नो गुटमा परेको महामन्त्रीमा कालिकोटका भूपेन्द्रजंग शाहीलाई ल्याए।

गएको भदौमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा कांग्रेसको तर्फबाट सहमागी हुने मन्त्रीको नाम छनोट गर्दासमेत पौडेल र शशांकको मतैक्यता हुन सकेन। पौडेलले आफू निकटकालाई मात्र मन्त्रिपरिषदमा राख्न खोजेपछि शशांकले असन्तुष्टि जनाए। अन्त्यमा पौडेलले शशांकको सिफारिसमा दाङका दीपक गिरीलाई सिँचाइमन्त्रीमा सिफारिस गर्न सहमत भएपछि चिसिएको सम्बन्ध केही मत्थर भएको थियो।

के चाहन्छन् शशांक?

शालीन, भद्र र साधारण जीवनशैली रुचाउने शशांक कांग्रेसभित्र गुटको राजनीतिक भागबण्डाभन्दा माथि उठ्न चाहन्छन्। उनी योग्य र सक्षमलाई जिम्मेवारी दिनुपर्ने मान्यतामा छन्। कांग्रेस केन्द्रीय सदस्य गुरु घिमिरेका अनुसार शशांक सभापतिसँग दरार होइन, सहमतिमा अघि बढ्नुपर्ने मान्यतामा छन्। यसैमा उनले कांग्रेस र आफ्नो भविष्य खोजेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.