|

काभ्रे : संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तह सञ्चालन तथा व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम काभ्रेपलाञ्चोकको धुलिखेलमा विहीबार सुरु भएको छ।

तीन दिनसम्म चल्ने अभिमुखीकरण कार्यक्रममा प्रदेश नम्बर ३ का महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाका प्रमुख एवं उपप्रमुखहरु तथा गाउँपालिकाका अध्यक्ष एवं उपाध्यक्षहरु सहभागी छन्। प्रदेश नम्बर ३ का १ सय १९ वटा स्थानीय तहका २ सय ३८ जनप्रतिनिधिका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको हो।

कार्यक्रममा उपप्रधानमन्त्री तथा संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गछदारले स्थानीय तहका नवनिर्वाचित पदाधिकारीलाई ऐतिहासिक जिम्मेवारी आएको बताए। ‘लामो समयदेखि रिक्त रहेको स्थानीय निकाय नयाँ संरचना अनुसार स्थानीय तह कायम भएर आएको छ, जसमा जनतालाई सुशासनको प्रत्याभूति हुने काम गर्न सबै तह मिलेर लाग्न आवश्यक छ' उपप्रधानमन्त्री गछदारले भने। उनले जनताले चाहेको सुशासनको प्रत्याभूति दिनकै लागि अहिले मन्त्रालयले निर्वाचित जनप्रतिनिधिहरुका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको बताए। गछदारले भने ‘कार्यक्रमबाट तय गरेको विषयले स्थानीय तहको ब्यवस्थापन र सञ्चालनमा सुदृढिकरण गर्नेछ।’

कार्यक्रममा महालेखा परीक्षक टंकमणि शर्माले आफू स्थानीय तहले लेखा प्रणाली चुस्त दुरुस्त रुपमा राख्नुपर्ने बताए। ‘लेखा परीक्षणको अनुमगन हुनेछ, संगसंगै काम गर्दै जानुपर्ने भएकाले पनि यहाँहरुबाट रचनात्मक कामको अपेक्षा गरेका छौं' उनले भने।

अलिहेसम्म सोचे अनुरुपको विकास बजेट खर्च हुन नसकेको भन्दै महालेखा परीक्षक शर्माले आगामी दिनमा उचित ढंगले काम हुने आशा व्यक्त गरे। ‘विगतमा त्यसो हुनु भनेको स्थानीय निकाय जननिर्वाचित प्रतिनिधिविहीन हुनु हो, अब त्यसको पूर्ति भइसकेकाले त्यसमा सुधार आउनेछ भन्ने लागेको छ' शर्माले भने।

मुख्य सचिव डा. सोमलाल सुवेदीले समाज अनुसार राजनीतिक दलहरु पनि रुपान्तरित हुँदै जाने बताए। ‘अहिलेसम्ममा केन्द्रीकृत माइण्ड अंगाल्दै आएको कारण समस्या बढेको हो, अब सबै पक्ष रुपान्तरित हुँदैछ, यो सकारात्मक पाटो हो’ सुवेदीले भने।

उनले सेवा प्रवाहको विन्दु वडा भएकाले सबै वडा कार्यालयहरु अधिकार सम्पन्न बनाउनुपर्ने बताए। ‘अहिले पनि अधिकार स्थानीय तहमा जाँदा सेवा लिन टाढा भयो भन्ने गुनासो छ, यसरी काम गर्दा जनताको गुनासा आउने छैन' सुवेदीले भने।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले स्थानीय तह कसरी चलाउने, के गर्ने भन्ने विषयमा प्रतिबद्धतापत्र तयार गर्दै धुलिखेल घोषणा–पत्र समेत जारी गरिने बताए। ‘कार्यक्रममा अहिलेको स्थानीय तहको जनप्रतिनिधि सरकार विशुद्ध नयाँ प्रक्रियाको भएकाले निर्वाचनको बेला जनताको बीचमा गरेका प्रतिबद्धतालाई कसरी कार्य गर्ने भन्ने विषयमा समेत गहन ढंगले छलफल हुनेछ' तामाङले भने।

तीन दिनसम्म चल्ने अभिमुखिकरण कार्यक्रम काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल लज रिसोर्ट, अरनिको होटल र हिमालयन होराइजनमा हुने मन्त्रालयका प्रवक्ता तामाङ जानकारी दिए । जसअनुसार महानगरपालिका, उप महानगरपालिका र नगरपाकिलाकाको धुलिखेल लज रिसोर्टमा र गाउँपालिकाहरुका लागि अरनिको होटल र हिमालयन होराइजनमा मन्त्रालयका सचिवहरु समेतको उपस्थितिमा समूहगत छलफल हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.