|

काठमाडौँः कवि तथा समालोचनक डा. नवीनबन्धु पहाडीले आफ्नो नवीनतम कृतिको रूपमा महाकाव्य ‘आमाको आँगन’ बजारमा ल्याएका छन्। 

ऐश्वर्य प्रकाशनले प्रकाशन गरेको उक्त पुस्तकलाई कवि तथा पूर्व मुख्य सचिव डा. विमल कोइरालाले एक समारोहबीच बिहीबार राजधानीमा सार्वजनिक गरे। 

युवासमालोचक शैलेन्द्र अधिकारीले डा. नवीनबन्धु पहाडी असल साहित्यिक अभियन्ता भएका बताउँदै नेपाली साहित्य र सामालोचनाका क्षेत्रमा उनको योगदान महत्त्वपूर्ण रहेको उल्लेख गरे। विमोचित कृति नेपाली महाकाव्य परम्परामा महत्त्वपूर्ण कृतिका रूपमा रहने विश्वास पनि उनले व्यक्त गरे।

महाकाव्यमाथि टिप्पणी गर्दै युवाकवि एवं समालोचक महेश पौड्यालले देशको समसायिक राजनीतिक अवस्थालाई विषयवस्तु बनाइएको उक्त महकाव्यले घट्दो सामाजिक सहिष्णुता र बढ्दो अमानवीयताप्रति खेद प्रकट गर्दै जातभातका पर्खाल मिचेर सम्पूर्ण नेपाली पुनः एक पटक देश हितमा संगठित हुनुपर्ने सन्देश बोकेको बताए। 

‘हिंसाको चपेटमा परी पलायनसम्म हुन बाध्य भएका नेपालीहरूलाई घर फर्कने अपिल पनि यस महाकाव्यको अर्को अभीष्ट हो’, समालोचक पौड्यालले भने। 
समालोचक पौड्यालले यस महाकाव्यले मूलतः बन्धुत्वको खोजी गरेको बताए। अत्याधुनिक सूचना सञ्चारका विषयवस्तुलाई पनि महाकाव्यको आयतनभित्र समेटेर पहाडीले एउटा महत्त्वपूर्ण प्रयोग गरेको उनले उल्लेख गरे।

समालोचक लीला लुइँटेलले यस महाकाव्यले सम्पूर्ण देशको वर्तमानलाई प्रतिविम्बित गरेको भन्दै लेखकको प्रशंसा गरिन्। शुभकामना दिने क्रममा अर्का महाकाव्यकार डा. नवराज लम्सालले ‘आमाको आँगन’ समयबोधको एक अनुपम विम्ब हो भन्दै यस्ता महाकाव्यले वर्तमान समयको प्रयोगवाद र आदिम समयदेखि बग्दै आएको काव्य परम्परालाई जोड्ने बताए।

युवासमालोचक महेश क्षितिजले सहजीकरण गरेको कार्यक्रममा प्रकाशक संस्था ऐश्वर्य प्रकाशनका प्रमुख गणेशप्रसाद जोशीले आफूहरू राष्ट्रिय योजकको घनिभूत खोजीमा पनि रहेकोले यस प्रकारका साझा र राष्ट्रिय विषयवस्तु समेटेका सामग्री प्रकाशन गर्न लागिपरेको जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.