|

  • जङ्ग तामाङ-

फिदिमः स्थानीय तहको निर्वाचनमा पाँचथरको एक मात्र नगरपालिका फिदिममा प्रमुख दलहरूबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ। 

प्रमुख पदमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच कडा प्रतिस्पर्धा हुने देखिएको हो। तीनै दलको स्थिति नगरपालिकामा उस्तैउस्तै छ। 

साविकमा सात गाविस रहेको फिदिम नगरपालिकामा तुलनात्मक रूपमा कांग्रेस र एमाले बलिया भए पनि माओवादी केन्द्रले स्थिति निकै सुधारेर प्रतिष्पर्धी बनेको हो। 

फिदिममा प्रमुख दलहरूबीच नै प्रमुख पदमा लडाइँ हुने पक्का देखिन्छ। तर पनि दलहरूको तारो बनेको प्रमुख पद कसलाई जुर्ला भन्न सकिने अवस्था छैन।

नत फिदिम नगरपालिकाको प्रमुख पदमा कांग्रेस र एमालेले भन्दा पनि पहिले माओवादी केन्द्रले उम्मेदवार घोषणा गरेको हो। घोषणापछि माओवादी केन्द्रका उम्मेदवार राधाकृष्ण न्यौपाने दोस्रो पटकसम्म घरदैलो अभियानको क्रममा मतदाताको घरघरमा पुगेका छन्। 

कांग्रेसका प्रमुख पदका उम्मेदवार ओनाहाङ नेम्वाङ र एमालेका प्रमुख पदका उम्मेदवार राजकुमार भण्डारी एक पटक मात्र मतदाताको घरघरमा पुगेका छन्। प्रमुख पदका तीनै जना उम्मेदवारहरूले जीतको सुनिश्चित भएको दावी पनि गर्न थालेका छन्। कांग्रेसका उम्मेदवार नेम्वाङले जीतको लागि बढी कसरत आवश्यक नभएको बताए। 

पार्टीको बलियो संगठन भएको र नगरवासीबीच आफ्नो राजनीतिक इमान्दारी, निष्पक्षता र आर्थिक रूपमा पारदर्शिताको छवि नै जीतको आधार भएको उनले दाबी गरे। ‘मैले मिहिनेत पहिल्यै गरेँ, जो जनतालाई थाहा छ’, उनले थाहा खबरसँग भने, ‘यसर्थ मैलाई मतदाताले जिताउनुहुनेछ।’ 

नयाँ शहर आयोजना फिदिमका अध्यक्षसमेत रहेका नेम्वाङले नगरलाई समृद्ध बनाउने अल्पकालीन र दीर्घकालीन योजना आफूसँग मात्रै भएको बताए। समृद्ध फिदिम नगरको रोडम्यापसहित निर्वाचनमा प्रमुख पदका लागि होमिएको उनले बताए। 

नेकपा एमालेबाट प्रमुख पदका उम्मेदवार भण्डारीले भने बोल्ने भन्दा पनि काम गर्ने नेताको पहिचान आफूसँग भएको दाबी गरे। नगरवासीले राजनीतिक परिपक्वता र फिदिम नगरलाई समुन्नत र समृद्ध बनाउने पाँच वर्षे योजनासहित प्रमुख पदमा उम्मेदवारी दिएका कारण आफूलाई जिताउनेमा ढुक्क रहेको बताए। ‘फिदिम नगरको समृद्धि मबाहेकका उम्मेदवारबाट संभव छैन’, भण्डारीले भने, ‘विश्वास छ कि नगरवासीले मलाई चुन्नेछन्।’

उनी एमालेको जिल्ला पार्टी अध्यक्ष पनि हुन्। कार्यवाहक अध्यक्षको जिम्मेवारी सचिव तिवेन्द्र चापागाईंलाई दिएर नगरपालिकाको प्रमुख पदका उम्मेदवार बनेका हुन् उनी। 

फिदिम नगरपालिकाकै माओवादी केन्द्रबाट उम्मेदवार बनेका राधाकृष्ण न्यौपानेले यथास्थितीवादी दलका उम्मेदवारहरूसँग फिदिम नगर समृद्धिको भविष्य कोर्ने कुनै योजना नभएको बताए। बरु उल्टै उनीहरूसँग फिदिम नगरलाई अँध्यारोतर्फ धकेल्ने योजना भएको दाबी गरे। यससँगै उनले निर्वाचनमा जीतको आधार सुनिश्चित भएको ठोकुवा पनि गरे। ‘जनताले नगरको विकासप्रति प्रतिवद्ध प्रमुख चाहेका छन्। अनि प्रमुखमा मेरो विकल्प कोही हुन सक्छ?’ उनले थपे, ‘फिदिम नगरमा अन्य पार्टी बढारिनेछन्।’

उनी शैक्षिक पृष्ठभूमिबाट राजनीतिका सक्रिय नेता हुन्। उनलाई पेन्सनका रूपमा प्राप्त हुने मासिक २२ हजार रुपैयाँ पनि तीन वर्षदेखि विपन्न वर्गका विद्यार्थीहरूलाई शैक्षिक सामग्री सहयोगमा खर्चिंदै आएका छन्। न्यौपाने नेपालको सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर उकास्न सञ्चालित अनलाइन शिक्षा अभियानका अभियन्ता पनि हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.