|

रुपन्देही :  बुटवलको मिलनचोकमा रहेको प्रभु बैंकमा लगातार तीन पटकसम्म एक युवा नक्कली नोट जम्मा गराउन गए। दुईपटकसम्म बैंकमा रकम जम्मा गर्दा बैंकले नक्कली नोट जम्मा गर्ने व्यक्तिलाई चिन्न सकेन। बैंकमा जम्मा गराएको रकम लिने कर्मचारीले नोट नक्कली हो भन्ने पत्तो पाएनन्।

तेश्रोपटक झुक्याएर नक्कली नोटको गड्डी दिदाँ पनि प्रभु बैंकका कर्मचारीले नक्कली नोट हो भन्ने चिन्न सकेनन्।

‘नोट नक्कली थिए भन्ने चिन्दै नचिनेको हैन। प्रभु बैंकका चिफ अपरेटिङ अफिसर भेषराज खतिवडा भन्छन्,‘उसले झुक्याएर त्यसो गरेको देखिन्छ।'

कर्मचारीलाई नक्कली नोट र सक्कली नोट छुट्ट्याउने तालिम दिइएको खतिवडाले बताए।

सावधान ! बजारमा छन् नक्कली नोट

सक्कली नोट फोटोकपी गरेर नक्कली बनाउने सन्तोष मल्ल पक्राउ परे। उनले प्रयोग गरेका सामान पनि प्रहरीले बरामद गरेको छ। तर उनले बैंकमा जम्मा गरेको सबै पैसा भेटिएको छैन। बैंकबाट जम्मा ७० हजार रुपैयाँ फेला परेको छ। उनले १ लाख १५ हजार रुपैयाँ जम्मा गरेका थिए।

अरु रकम बजारमा पुगिसकेको छ।  उनले के-कति नक्कली नोट छापेर बजारमा पुर्‍याए भन्ने प्रहरीले अनुसन्धान गरिरहेको छ । ‘उनले बैंकमा जम्मा गरेको केही रकम बजारमा पुगेको देखिन्छ,' इप्रका बुटवलका डीएसपी मुकुन्द मरासिनी भन्छन्,‘हामी यसको अनुसन्धान गरिरहेका छौं ।’

कलर फोटोकपी गरेर  १ हजार, ५ सय र १ सयका नोट तयार गर्ने मल्ललाई गत मंगलबार राति प्रहरीले नियन्त्रणमा लिएको थियो। उनको डेराबाट १ लाख ५० हजार र अफिसबाट २ लाख ५९ हजार पाँच सयको नक्कली नोट प्रहरीले बरामद गरेको छ ।

एक हजार दरका प्रायः धेरै नोटहरु घ १४–४१२७९ नम्बरका छन् । त्यस्तै हजार दरकै ङ ७८ –३१६०६३ नम्बरका नोटहरु छन्। उनले एउटै नोटबाट फोटोकपि गरेर नक्कली नोट बनाएको इप्रका बुटवलका प्रहरी नायव उपरीक्षक  मरासिनी बताउँछन्। 

५ सय दरका १ सय नोट र १ सय दरका ५ वटा नोट प्रहरीले बरामद गरेको छ। अभियुक्त मल्लले बैंकमा रकम जम्मा गरेको बताएपनि बजारमा सटही गरेको मात्रा खुलेको छैन। यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

केही रकम बजारमा पनि सटही गरेको हुनसक्ने प्रहरी अनुमान छ। तर प्रभु बैंक केन्द्रीय कार्यालय भने बजारमा नक्कली नोट नगएको दाबी गर्छ। चिफ अपरेटिङ अफिसर खतिवडा भन्छन्,‘त्यसरी नक्कली नोट बजारमा गएको छैन।’

कलर प्रिन्टरबाट सेतो पेपरमा पैसा फोटोकपि गरेर दुई पत्तालाई जमाइएको छ। सो नोट राष्ट्र बैंकले जारी गरेको भन्दा केही हलुका रहेको प्रहरीले जनाएको छ। कटिङ समेत मिलेको छैन। कतिपय नोटलाई पूरानो देखिने गरी माटो कलर बनाइएको छ।

कसरी चिन्ने नक्कली नोट ?

केही समययता बजारमा नक्कली नोट भेटिएको चर्चा हुन थालेको छ । ठाउँ-ठाउँमा नक्कली नोट भेटिन थालेका छन्। तर कसरी चिन्ने नक्कली नोट ? सक्कली नोटमा केही विशेषता छन्। जसका कारण सजिलै नोट सक्कली-नक्कली छुट्याउन सकिन्छ।

पानी छाप : नेपाली नोटको दायाँ भागको खाली ठाउँलाई प्रकाशतिर फर्काएर हेर्ने हो भने लालीगुराँसको पानी छाप स्पष्ट रुपमा देख्न सकिन्छ। नक्कली नोटमा यस्तो पानी छाप अस्पष्ट र अलि कालो धब्बा जस्तो देखिन्छ।

सुरक्षा धागो : नेपाली नोटमा प्रयोग गरिएको सुरक्षा धागो फोटोकपी गर्न सकिंदैन। धागो फोटोकपी गर्दा आउँदैन। फोटोकपी गरिएको सुरक्षा धागो कालो र त्यसमा छापिएको अक्षर छोपिएको जस्तो देखिन्छ। सुरक्षा धागोलाई नियालेर हेर्ने हो भने धागोमा अंग्रेजी अक्षरमा एनआरबी लेखिएको हुन्छ।

छोएर हेर्नेः नेपाली नोटको बुट्टालाई हातले विस्तारै छोएर हेर्ने हो भने यस्ता बुट्टा कागजमाथि हातले महसुस गर्न सकिने खालको हुन्छ। नोट पुरानो हुँदै जाँदा भने यस्तो विशेषता कम हुँदै जाने हुन्छ।

आवाज : नेपाली नोट शतप्रतिशत कपासबाट बन्ने कागजबाट बनाइएको हुँदा नोटलाई काननिर लगेर हल्लाउँदा आउने आवाज र साधारण कागज हल्लाउँदा आउने आवाज फरक हुन्छ। नोट पुरानो हुँदै जाँदा यो विशेषतामा पनि ह्रास आउने गर्दछ।

बुट्टा : रुपैयाँ १००,५००,१००० दरको नोटलाई प्रकाशतिर फर्काएर हेर्दा पानी छाप भएको कोठाको बाहिरपट्टि (बायाँतिर) भएको बुट्टा र त्यसको पछाडिपट्टि भएको बुट्टा मिलेर अंग्रेजीको एनआरबी भन्ने शब्द बन्छ। नक्कली नोटमा त्यसको लाइन फरक देखिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.