|

मेलम्ची : बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माणका क्रममा निकालिएको ढुङ्गामाटो जथाभावी फाल्न थालिएपछि हेलम्बु गाउँपालिका–१ अम्बाथान सुरुङ प्रवेशद्वार नजिकैका स्थानीय बासिन्दामा त्रास बढेको छ। 

ठेकेदार कम्पनी सीएमसीले सुरुङबाट निस्किएको माटोढुङ्गा जथाभावी  फाल्न थालेपछि त्यस वरपरका बासिन्दा बर्खामा खोला थुनिएर बस्तीमा क्षति पुग्ने त्रासमा बस्न बाध्य भएका हुन्। 

सुरुङ निर्माणको काम छिटोे सक्ने बहानामा ठेकेदार कम्पनीले अव्यवस्थित रूपमा मकिङ खोलाको मध्य भागसम्म पुग्नेगरी माटोढुंगाको पहाड बनाएको छ। यसरी बनेको पहाडमा बर्खामा आउने बाढीले खोला थुनिए किउल, ग्याल्थुम, तालामाराङ र मेलम्चीका स्थानीयवासीलाई प्रभावित गर्ने खतरा छ। 

स्थानीयआशा गुरुङ सुरुङबाट निस्किएको माटोढुङ्गाको थुप्रोले घरै पुरिने खतरा रहेको बताउँछिन्। आयोजनाका कारण घरमै पुरिएर मरिने भन्ने त्रास रहेको  निमा लामा शेर्पाले बताइन्।

'सुरुङ निर्माणस्थलबाट निस्केका माटोढुङ्गाको व्यवस्थापन नहुँदा स्थानीयस्तरमा चिन्ता बढेको छ', हेलम्बु गाउँपालिका–१ का वडाध्यक्ष मिङमार लामाले भने, 'आयोजना निरीक्षण गर्न ठेकदार कम्पनीले अवरोध पुर्‍यायाे।' अायोजनाका कारण उत्पन्न त्रास चाँडै हटाउन ठेकदार कम्पनीलाई चौतर्फी दबाब दिनुपर्ने उनले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.