|
Photo : AP

बेलायतमा बिहीबार भएको आमनिर्वाचनमा प्रधानमन्त्री टेरेजा मेको पार्टीले बहुमत गुमाएको छ। मे नेतृत्वको कन्जरभेटिभ पार्टी ३ सय १८ सीट ल्याउदै पहिलो दल बनेपनि ६५० सदस्य रहेको संसदको आवश्यक बहुमत ३ सय २६ सीट ल्याउन भने असफल भएको हो। उक्त पार्टीले पहिलेभन्दा १२ सीट कम ल्याएको हो।

विपक्षी लेबर पार्टीले भने पहिलेको संख्यामा सुधार गर्दै २ सय ६२ सीट जितेको छ। उसले २९ सीट बढी ल्याएको छ। त्यस्तै स्कर्टीस नेसनल पार्टीले ३५ सीट जितेको छ। उक्त पार्टीले २१ सीट गुमाउदै तेस्रो बनेको छ। यो मतपरिणामसँगै बेलायतको संसद त्रिशंकु बनेको छ। कुनै पनि पार्टी सरकार निर्माणका लागि आवश्यक बहुमत ल्याउन असफल बनेका छन्।

युरोपियन युनियनबाट बाहिरिने काममा थप सफलता हासिल गर्न जनमत मागेकी प्रधानमन्त्री मेलाई असफलता हात लागेपछि प्रधानमन्त्रीबाट राजीनामा दिन दबाब परेको छ। विपक्षी लेबर पार्टीले मे को राजीनामा मागेको छ भने कन्जरभेटीभ पार्टीकै कतिपय नेताले मेको आलोचना गरेको बीबीसीले लेखेको छ। समय अगाडि नै चुनाव गराएरका कारण पार्टी हारेको भन्दै मेको पार्टीका नेताले उनको विरोध गरेका हुन्।

ताजा मतादेशले प्रधानमन्त्रीको दलको युरोपियन युनियनबाट बाहिरिने एजेन्डा अन्योलमा पर्ने देखिएको छ भने बेलायत युरोपियन युनियनमा नै रहनुपर्ने लेबर पार्टीको एजेण्डालाई बल पुगेको छ।

महारानीकोमा प्रधानमन्त्री मे

प्रधानमन्त्री टेरेजा मेले आफ्नै पार्टीको आलोचना र विपक्षी दलको राजीनामा मागका बाबजुद राजीनामा दिने कुनैपनि मनसाय नबनाएको बताइएको छ। उनी आफ्नै नेतृत्वमा गठबन्धन सरकार गठनका लागि महारानीबाट अनुमति माग्न शुक्रबार नै बकिङ्घम प्यालेस जादैछन्। मेलाई सरकार बनाउन आठ सांसदको आवश्यक परेको छ।

यसैबीच लेबर पार्टीले बहुमतको सरकार बनाउने दावी गरेको छ। लेबर पार्टीका नेता जेरेमी कोर्बिनले मतपरिणा स्वीकार गर्दै प्रधानमन्त्री मेले आफ्नो पार्टीलाई सरकार गठन गर्न दिनुपर्ने बताएका छन्। उनले आफ्नो पार्टी जनताको सेवा गर्न तयार रहेको बताएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.