|

काठमाडौं :  तत्काल संविधान संशोधन गर्न मधेस केन्द्रित दलका नेताहरुले माग गरिरहेका बेला सरकारले दोस्रो चरणको निर्वाचनअघि संविधान संशोधन नगर्ने भएको छ। संविधान संशोधन पारित गर्ने कार्यसूची शुक्रबारको संसद्‍ बैठकमा रहेपनि कार्यसूचीमा प्रवेश नगरी सदन स्थगित भएको छ।

संविधान संशोधन पारित गर्ने विषयमा दलीय सहमति जुट्न नसकेपछि सभामुख ओनसरी घर्तीले कार्यसूची हटाएर बैठक जेठ २८ गते दिउँसो १ बजेसम्म स्थगित गरेकी हुन्। संसदमा प्रधानमन्त्रीलाई बधाई दिँदै राष्ट्रिय जनता पार्टी, संघीय समाजवादी फोरम नेपाल र नेपाल लोकतान्त्रिक फोरमका सांसदले दोस्रो चरणको निर्वाचन अघि स्थानीय तहको संख्या वृद्धि,संविधान संशोधन र मधेस आन्दोलनमा जेल परेकालाई रिहाई गर्न माग राखेका थिए। 

राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य महिन्द्र राय यादवले संविधान संशोधन गरी आफूहरुलाई निर्वाचन जाने वातावरण मिलाउन सरकारसँग आग्रह गरे। संविधान संशोधन नभएसम्म र स्थानीय तहको संख्या वृद्धि नभएसम्म आफूहरुलाई निर्वाचनमा जान नैतिकरुपमा कठिन हुने उनको भनाइ छ।

राजपा निर्वाचनमा सहभागी नभएको परिस्थितिमा निर्वाचनले वैधानिकता नपाउने उनले चेतावनी दिए। 'नेपालमा राजपा विना भएको चुनावले वैधानिकता कसरी प्राप्त गर्ला हामी पनि हेरौँला,' उनले भने । उनले आफूहरुलाई निर्वाचनमा ल्याउने दायित्व प्रतिपक्षी एमालेसहित सत्तारुढ दलको समेत भएको बताए। निर्वाचनको वातावरण निर्माणका लागि ढिलाई नगर्न उनले सुझाव दिए।

यस्तै राजपाका नेता सर्वेन्द्रनाथ शुक्लाले  संविधान संशोधनसहितका तीनबुँदे सहमति कार्यान्वनयमा सरकार उदास रहेको आरोप लगाए।  राजपाका माग सम्बोधनमा सक्रिय हुन प्रधानमन्त्रीलाई आग्रह गरे। 'हामी चुनावका विरोधी होइनौं। तर निर्वाचनमा जान संविधान संशोधन अनिवार्य शर्त हो। सरकारले सहमतिको कार्यान्वयन गर्नुपर्यो,' उनले भने।

फोरम लोकतान्त्रिक नेपालका सांसद् जनक चौधरी र संघीय समाजवादी फोरम नेपालका सांसद शिवजी यादवले निर्वाचन र संविधान संशोधन दुबै आवश्यक रहेको बताए। उनले कुशलतापूर्वक निर्णय लिन प्रधानमन्त्री देउवालाई सुझाव दिए। 

मधेस केन्द्रित दलका सांसदले संविधान संशोधन तत्काल हुनुपर्ने माग गरे। जवाफमा प्रधानमन्त्रीले उनीहरुको माग तत्काल सम्बोधन गर्न नसकिने बताए   प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधन अहिले संभव नरहेको बताए।

संविधान संशोधन पास गराउने सरकारको प्रतिबद्धता कायमै रहेको भन्दै उनले वर्तमान स्थितिमा संविधान संशोधन विधेयक पारित हुनै नसक्ने दाबी गरे। निर्वाचनपछि भने प्रतिपक्षी एमाले समेतको समर्थनमा संविधान संशोधन विधेयक पारित गर्ने प्रतिबद्धता प्रधानमन्त्रीले व्यक्त गरे।

प्रधानमन्त्री देउवाले निर्वाचनमा सहभागी हुन राष्ट्रिय जनता पार्टीलाई आग्रह गरे।'संविधान संशोधन फेल गराउने पक्षमा सरकार छैन पास हुने अहिले स्थिति छैन, देउवाले भने,' दोस्रो चरणको निर्वाचन अघि संविधान संशोधन विधेयक पारित गराउन सकिँदैन त्यसैले निर्वाचनमा सहभागी भएर सहयोग गर्नुस् निर्वाचन पछि कुनै पनि हालतमा सरकारले विधेयक पास गर्छ।'

सांसदहरुले वर्तमान मन्त्रिपरिषद् समावेशी नभएको आरोप लगाएपछि प्रधानमन्त्री देउवाले आफू समावेशी समानुपातिक सिद्धान्तको अनुयायी रहेको भन्दै मन्त्रिपरिषदमा सबैको प्रतिनिधित्व हुने दाबी गरे।

आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने राजपाको तयारी

दोस्रो चरणको निर्वाचनअघि सरकारले संविधान संशोधन नगर्ने भएपछि राष्ट्रिय जनता पार्टीले आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको छ। दोस्रो चरणको निर्वाचन अघि संविधान संशोधन गर्ने तीन दलको लिखित प्रतिबद्धता आएमात्रै निर्वाचनमा जाने राजपाको मनसाय छ।

राजपाका नेता महिन्द्र राय यादवले लिखित सहमति भएमात्रै निर्वाचनमा जाने उल्लेख गरे। 'संविधान संशोधन गर्ने तीनै दलको लिखित प्रतिबद्धता भएमात्रै हामी निर्वाचनमा जान सक्छौँ अन्यथा हामी आन्दोलनमा जान्छौँ,' उनले भने।

दोस्रो चरणको निर्वाचन असार १४ गते तोकिएको छ।  आइतबार संसद बैठक बोलाएर असार १८ गतेसम्म बैठक स्थगित गर्ने तयारी छ। यो बीचमा तीन दलको तर्फबाट लिखित सहमति आउनुपर्ने राजपाको माग छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.