पुँजी बजार जुवा घर कि अर्थतन्त्रको मेरुदण्ड?

|

काठमाडौं :  नेपालको पुँजीबजारको नियामक निकाय धितोपत्र बोर्डले २५ वर्ष पार गरेको उपलक्ष्यमा आयोजित रजत जयन्तीमा यसका विभिन्न विषयमा बहस भए। यो बहस व्यवबहारिक समस्यादेखि नियामक निकायको भूमिकामा मात्रै केन्द्रित भएन सरकारले पुँजीबजारमा देखाउने चासोको विषयमा समेत केन्द्रित भयो।

बिहीबार रजत जयन्ती कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरु यीनै विषयमा धारणा राखे। नवनियुक्त अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, गभर्नर तथा बोर्डका पूर्व अध्यक्ष डा.चिरञ्जीवी नेपाल, राजश्‍व सचिव राजन खनाल, बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले पनि आफ्ना तर्क राखे। 

सानो बजार

नेपालको पुँजी बजार परिसूचकले अर्थतन्त्रको वास्तविक चित्र देखाउन नसकेको सरोकारवालाको धारणा थियो। अर्थ मन्त्रालयको कार्यभार सम्हालेपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा उपस्थित अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पनि निजी क्षेत्रको उपस्थिति कम देखिनु सकारात्मक पाटो नभएको बताए।

पुँजी बजारको माध्यमबाट रकम उठाएर आफूले पनि कमाउने र आम जनतालाई पनि धनी बनाउने उपायमा लाग्न उनले निजी क्षेत्रलाई आग्रह समेत गरे। 

'निजी क्षेत्रको उपस्थिति कम देखिन्छ, उत्पादनमुलक उद्योगले पनि सेयर निश्कासन गर्न पुँजीबजार विस्तारमा सहयोग पुग्ने छ' कार्कीले भने। पुँजीबजारको माध्यमबाट रकम उठाएर आफूले पनि कमाउने र आम जनतालाई पनि धनी बनाउने उपायमा लाग्न उनले निजी क्षेत्रलाई समेत आग्रह गरे।

गभर्नर डा. चिरञ्जीवी नेपालले तीन करोड जनसंख्या भएको देशमा पुँजीबजारमा ८ लाख जना मात्र समेटिनु राम्रो संकेत नभएको बताए। मलाई १२/१५ लाख पुगे भन्ने लागेको थियो, तर ८ लाख पनि रहेनछन् यो निकै कम उपस्थिति भयो' नेपालले भने। सेयर बजारमा आउनको लागि जनता लालयित हुँदा समेत त्यस्तो व्यवस्था गर्न नसक्नु बोर्डको कमजोरी भएको समेत बताए। 'अहिले पनि सेयर बजार समित बजारमा मात्रै केन्द्रित छ काठमाडौं बाहिरको जनता लगानी गर्न आतुर छन तर सुविधा छैन' नेपालले भने। 

राजश्व सचिव राजन खनालले नियामकको रुपमा विवेकसम्मत ढंगले आफ्नो जिम्मेवारी निर्वाह गर्न धितोपत्र बोर्डलाई सुझाव दिए। ‘सबै क्षेत्रमा सरकार  आफैंले नियमन गर्न सक्दैन', उनले भने 'सोही कारण फरक फरक नियमनकारी संस्थाहरुको स्थापना भएको हो।’ पुँजी बजारको दिगो विकासका लागि सूचना प्रविधी र भौतिक पूर्वाधारमा जोड दिन समेत खनालले आग्रह गरे।

नेपाल स्टक बढाउने वा राम्रो गराउने

बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले सेयर कारोबारका लागि एउटा मात्रै स्टक एक्स्चेन्ज पर्याप्त नभएको बताए। बजारको आकार निरन्तर रुपले बढिरहँदा नयाँ स्टक एक्सचेञ्जको आवश्यकतामा पनि सकारात्मक तबरले सोच्न उनले अनुरोध गरे। 'बजार बढिरहेको छ, नयाँ सरकारलाई पनि पनि पुँजी बजारले स्वागत गरेको छ, त्यसले अलि दुई तीन वटा स्टक एक्सचेन्ज भएमा सहज हुनेछ' कार्कीले भने।

गभर्नर नेपालले भने विश्वका धेरै मुलुक र भारतमा समेत स्टक एक्सचेञ्जहरु मर्जर भइरहेको सन्दर्भमा नेपालमा नयाँ एक्सचेञ्ज नचाहिने जिकिर गरे। 'ठूलो पुँजीबजार समेटेको भारतको स्टक एक्स्चेन्ज तीनबाट एकमा मर्ज गर्न थालिएको छ, अन्य देशहरुमा पनि स्टक एक्स्चेन्ज मर्ज भइरहेका छन्, धेरै स्टक एक्स्चेन्ज भयो भने सेयरको मूल्य खेल्न सक्ने हुनसक्छ' नेपालले भने।

उटा संस्थालाई कमजोर बनाएर त्यसको प्रतिश्पर्धी ल्याउन सकिँदैन

राजश्‍व सचिव राजन खनालले संस्थालाई प्रतिस्पर्धी र क्षमतावान बनाउने जिम्मेवारी पनि बोर्डकै रहेको बताए। ‘एउटा संस्थालाई कमजोर बनाएर त्यसको प्रतिस्पर्धी ल्याउन सकिँदैन’ खनालले भने।

 

सरकार र राष्ट्र बैंकले सेयर बेच्ने

पुँजी बजारमा निजी क्षेत्रलाई आकर्षित गर्न नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयका अधिकारीहरुले आफ्नो तर्फको सेयर निकाल्ने बताएका छन्। गभर्नर डा. चिरन्जिवी नेपालले राष्ट्र बैंकले आउँदो आर्थिक बर्षमा नै नेपाल स्टक एकचेन्जमा रहेको आफ्नो सेयर बेच्ने घोषणा गरे। स्टक एक्सचेञ्जमा निजी क्षेत्रको प्रवेशका लागि सरकार र धितोपत्र बोर्डलाई सकारात्मक भूमिका खेल्न समेत उनले अनुरोध गरे।

राजश्‍व सचिव राजन खनालले सरकार पनि नेपाल स्टक एक्सचेञ्जमा रहेको आफ्नो सेयर बिक्रीका लागि तयार रहेको बताए। सरकारको स्वामित्वमा रहेको नेप्सेको सेयर कर्पोरेट क्षेत्रलाई बिक्रीकालागि पहल गर्न पनि उनले बोर्डलाई अनुरोध गरे।

पुँजी बजार जुवा घर कि अर्थतन्त्रको मेरुदण्ड?

विहीबार गभर्नर चिरञ्जीवी नेपालले पुँजी बजार अर्थतन्त्रको मेरुदण्ड कि जुवा घर भन्ने विषयमा समेत कन्फ्युज देखिनु राम्रो नभएको बताए।

२०६५ सालमा नेपाल धितोपत्र बोर्डको अध्यक्ष थिए। त्यही समयमा अर्थमन्त्री माओवादी नेता डा. बाबुराम भट्टराई अर्थमन्त्री भएका थिए। पुँजी बजार दिन प्रतिदिन उकालो लाग्दै गएको बेला डा. भट्टराईले सार्वजनिक कार्यक्रममा पुँजी बजार जुवाघर जस्तै रहेको बताए पछि नेपाल रुष्ट भएका थिए। विहीबार बाबुराम भट्टराईको नाम नलिइ नेपालले त्यो समय स्मरण गराए।

पुँजी बजार नै जुवा घर हो भनेर परिभाषा गर्न थालियो तपाईहरु पनि त्यही ह्वीममा लाग्नुभयो'

'बोराको बोरा नागरिकताका फोटोकपी गरेर पनि सेयर खेलिने गर्थ्यो, धेरैको विरोधका बीच मैलै नियमावली बनाएर त्यस्तो कार्य रोके तर पुँजी बजार नै जुवा घर हो भनेर परिभाषा गर्न थालियो तपाईहरु पनि त्यही ह्वीममा लाग्नुभयो' नेपालले भने। उनले पुँजी बजार अर्थतन्त्रको मेरुदण्ड भएको बताउदै स्पष्ट हुन र यसको सुधारमा लाग्नको लागि समेत आग्रह गरे।

बस्ने घरको समस्या

कार्यक्रममा बोर्डका अध्यक्ष रेवतबहादुर कार्की कर्मचारी युनियनका अध्यक्ष राजबहादुर जिसी र कार्यक्रम परस्तोता कल्पना भण्डारीले बोर्डको घर नभएको विषयमा पटक पटक अर्थमन्त्रीलाई स्मरण गराए। कार्की र जिसीले वित्तीय क्षेत्रमा सबै भन्दा ठूलो नियामक निकाय ४ सय १५ संस्थालाई नियमन गर्ने निकायको आफ्नो घर नभएको विषयमा अर्थमन्त्रीलाई जानकारी गराए।

वित्तीय क्षेत्रमा सबैभन्दा ठूलो नियामक निकाय हो, धितोपत्र बोर्ड हाम्रो आफ्नै घर छैन यस विषयमा अर्थमन्त्रीको ध्यान जानुपर्‍यो।

'वित्तीय क्षेत्रमा सबैभन्दा ठूलो नियामक निकाय हो धितोपत्र बोर्ड हाम्रो आफ्नै घर छैन यस विषयमा अर्थमन्त्रीको ध्यान जानु पर्‍यो' युनियनका अध्यक्ष जिसीले भने। अर्थमन्त्रीले मात्रै होइन, अर्थ मन्त्रलायका सचिवहरुले पनि चसो देखाउदिनुपर्‍यो धितो पत्र बोर्ड जस्तो निकायको आफ्नो घर नहुनु राम्रो भएन' बोर्डका अध्यक्ष कार्कीले भने। 'डेरामा बस्दा कति पीडा हुन्छ मनन गरिदिनु पर्‍यो मन्त्री ज्यू' प्रस्तोता भण्डारीले भनिन्। 

गभर्नर र राजश्व सचिव भन्दा पहिले आफ्नो धारणा राखेका अर्थमन्त्री कार्कीले आफ्नो तर्फबाट भवन निर्माणमा सक्दो सहयोग गर्ने मात्रै जवाफ दिए। प्रस्तोता भण्डारीले 'मन्त्रीज्यूले सक्दो सहयोग भनेको हामीलाई आफ्नै पालामा भवन निर्माण गरिदिने प्रतिवद्धता लागेजस्तो भएको भन्दै त्यही विषय जोडिन्।

राजश्‍व सचिव र गभर्नरलाई भने यो विषय चित्त बुझेन। 'यो कार्यक्रम भरी भवन निर्माणको कुरा धेरै उठ्यो, सबैले चासोका साथ उठाउनुभयो, भवन मन्त्रीले त बनाउदैन होला, भवन अर्थ मन्त्रालयले पनि बनाउदैन, भवन बनाउने ठेकदारले हो' राजश्व सचिव खनालले जवाफ फर्काए। उनले बोर्ड आफैले भवन बनाउनुपर्ने बताए। 'तपाईहरुलाई भवन बनाउन कसले रोकेको छ, तपाईहरुसँग पैसा पनि छ, जग्गा किन्नु भवन बनाउनु' खनालले भने।

'नियामक निकायले कार्यालय सारिरहनु भएन'

यति ठूलो नियमक निकाय, देशको पुँजी बजार जसले विरालाले बच्चा सारेजस्तै कार्यलय सार्नु राम्रो हुदैन।

'यति ठूलो नियमक निकाय, देशको पुँजी बजार जसले विरालाले बच्चा सारेजस्तै कार्यालय सार्नु राम्रो हुदैन' गभर्नर नेपालले भने। उनले १० वर्षअघि आफू अध्यक्ष हुँदा लिएको जग्गा समेत नेपाल प्रहीलाई दिएको तर बोर्डले आफ्नो कार्यालय बनाउन तदरुकता नदेखाएको बताए। भारतको जस्तो राम्रो धितोपत्र बोर्ड कार्यालय बनाउँछु भनेर मैले त्यस्तो राम्रो जग्गा लिएँ, बरु पछि पुलिसले लग्यो हाम्रो कार्यलय बनेन' नेपालले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.