|

इलाम : आसन्‍न स्थानीय तहको निर्वाचनका लागी सुर्योदय नगरपालिकाको प्रमुखको उम्मेदवार चयनमा असन्तुष्टि व्यक्त गर्दै नेपाली कांग्रेस इलाम क्षेत्र नम्बर १ का बहुमत सदस्यले राजीनामा दिएका छन्। क्षेत्रीय समितिले चयन गरेको उम्मेदवार केन्द्रीय समितिले परिवर्तन गरेको भन्दै उनीहरुले राजीनामा दिएका छन्।

क्षेत्रीय कार्य समितिका २० मध्ये १५ जना सदस्यले राजीनामा दिएका हुन्।  राजीनामा दिनेमा सभापती दुर्गा बराल, उपसभापति श्याम कार्की, सचिव हरिकला श्रेष्ठ र राजकुमार लिम्बु, कोषाध्यक्ष पुर्ण मुखिया सदस्यहरु मेनुका प्रधान, नरेन्द्र सापकोटा, सोनाम छिरिङ काजी, बिमल प्रधान, ज्ञानु राई, अर्जन पोखरेल, हिरा बहादुर लाप्चा, हरि बुढाथोकी, राजु बम्जन र पुष्प कार्की रहेका छन्।

नेपाली कांग्रेस जिल्ला कार्य समिति इलामले सुर्योदय नगरपालिकाको प्रमुखमा क्षेत्रीय सभापति दुर्गा बरालको नाम सिफारिस गरेर पठाएको थियो। तर केन्द्रीय समितिले महासमिति सदस्य प्रेमलाल चाम्लिङलाई उम्मेदवार बनाउने निर्णय गर्‍यो।  

केन्द्रले जिल्लाले पठाएको नामावली स्विकृत नगरेसम्म क्षेत्रीय समितिले पार्टीको कुनै पनि गतिविधी नगर्ने सभापती दुर्गा बरालले बताए। यता उपप्रमुखमा भने जिल्लाले सिफारिस गरेको बन्दना अधिकारीको नामलाई केन्द्रिय समितिले अनुमोदन गरेको छ। नेपाली कांग्रेस जिल्ला समितिले १ साताभन्दा लामो कसरतपछि सबै स्थानीय तहको नामावली सर्वसम्मत रुपमा केन्द्रीय समितिमा पठाएको थियो।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.