गोरखा: पालेदाइले दिउँसो १ बज्नेवित्तिकै टिङटिङ घण्टी बजाउँछन्। विद्यार्थीहरू लाइन लागेर धारामा जान्छन्। पालैपालो हातमुख धुन्छन्। फेरि लाइनमा बस्छन्।
उनीहरू यस पटक खाजा लिनका लागि लाइनमा बसेका हुन्। विद्यालयमा रहेका कर्मचारीले उनीहरूलाई जे तयार छ, त्यही खाजा पालैपालो दिन्छन्।
शिक्षकहरू पनि तिनै साना विद्यार्थीहरूसँगै बसेर खाजा खान्छन्। यस्तै दैनिकी सुरु भएको छ, गण्डकी गाउँपालिका– १ मकैसिङको जनजागृति प्राथमिक विद्यालयमा।
यहाँका ८४ विद्यार्थीलाई हिजोआज विद्यालयमै खाजाको व्यवस्था गरिएको छ। अधिकांश चेपाङ, दलित र जनजाति विद्यार्थीहरू अध्ययनरत यस विद्यालयमा करिब एक महिनाअघिदेखि यस्तो गर्न थालिएको हो।
‘जब हाफ छुट्टीको घण्टी बज्छ, तब विद्यार्थीहरू धारातिर जान्छन्’, विद्यालयकी प्रधानाध्यपक मीरा घिमिरेले भनिन्, ‘हरेक बार थरिथरि खाजा खुवाइन्छ।’ खाजाका लागि साताको पाँच बारमा पाँचवटै मेनु छ। विद्यार्थीलाई आइतबार चना–भुजा, सोमबार तरकारी–चिउरा, मंगलबार चिया–बिस्कुट, बुधबार दही–चिउरा, बिहीबार खाना नै खुवाउने गरेको घिमिरेले जानकारी दिइन्। शुक्रबार भने विभिन्न खेलकुदका कार्यक्रमहरू गरेर चाँडै नै बिदा हुने भएकाले खाजाको व्यवस्था नगरिएको उनले बताइन्।
विद्यार्थी र शिक्षकलाई खाजाको व्यवस्थाका लागि इन योर ह्याण्ड्स् नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले पनि सहयोग गरेको छ। त्यस्तै खाजा कार्यक्रमका लागि विद्यालयमा आएको सीमान्तकृत लक्षित बजेटको प्रयोग पनि गरिएको विद्यालयले जनाएको छ।
खाजा बनाउन उक्त संस्थाले कर्मचारी नै राखिदिएको छ। ‘विद्यालयले आवश्यक खाजाहरू ल्याउँछ अनि विल पेश गर्छ’, घिमिरेले भनिन्। उक्त संस्थाले अहिले एक वर्षसम्म खाजाको लागि नियमित सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको छ।
संस्थाले विद्यालयको भवन बनाउन, पुस्तकालय स्थापना गर्न, विद्यार्थीहरूलाई स्टेशनरी सामग्रीहरू वितरण गर्न विभिन्न कार्यक्रमहरू गरेर यसअघिदेखि नै सहयोग गर्दै आइरहेको विद्यालयले जनाएको छ।
संस्थाले विद्यालयमा कम्प्युटरलगायतका सामग्रीहरू पनि सहयोग गरेको छ। त्यसरी खाना खुवाउँदा हरेक दिन १५ सय रूपैयाँ खर्च आउने गरेको विद्यालयले जनाएको छ।
उक्त विद्यालय हरेक किसिमले नमुना बन्दै गएको घैरुङ स्रोत केन्द्रका स्रोत व्यक्ति श्यामप्रसाद लामिछाने बताउँछन्। ‘विद्यार्थीहरू अनुशासित छन्’, लामिछानेले भने, ‘विद्यालय उत्तिकै सफा छ। शिक्षकहरू लगनशील छन्।’
अंग्रेजी माध्यममा पठनपाठन सुरु गरेको छ उक्त विद्यालयले। खानेपानी, शौचालयको पनि राम्रो प्रबन्ध छ। विद्यार्थीले हरेक कक्षाकोठामा मनिटर राखेर कक्षा सरसफाईदेखि हरेक गतिविधि गर्ने गरेका लामिछाने बताउँछन्। विद्यार्थीलाई पोषणयुक्त खाजा खुवाउने गरेको पाइएको पनि स्रोत व्यक्ति लामिछाने बताउँछन्।
जम्मा ८७ जना विद्यार्थी भर्ना भएकामा खाजा खुवाउनुअघि विद्यार्थी स्कुल आउन अनियमित हुने गरेकामा अहिले ८४ जना विद्यार्थी नियमित आउने गरेको प्रधानाध्यापक घिमिरेले बताइन्।
उनका अनुसार उक्त क्षेत्रमा चेपाङ, दलित र विपन्न परिवारको बसोवास रहेकाले धेरै विद्यार्थी विद्यालय आउन रुचि नराख्ने र अभिभावकले पनि आफ्ना बालबच्चालाई विद्यालय पठाउन ध्यान नदिने गरेका छन्। ‘यसै कारण पनि हामीले यस्तो काम सुरु गरेका हौँ’, उनले भनिन्, ‘यो कार्यक्रमपछि विद्यार्थी आगमन नियमित भएको छ एकातिर भने अर्कातर्फ बालबालिकामा कुपोषणलगायतका समस्या पनि कम हुने आशा छ।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।