|

  • जङ्ग तामाङ-

पाँचथरः अरूण–सभाखोला पूर्वको भू–भागलाई ऐतिहासिक पृष्ठभूमिको आधारमा स्वायत्त लिम्बुवान राज्य घोषणाको एजेण्डालाई बटम लाइन बनाएर आन्दोलनरत दुई ठूला लिम्बुवान दलहरूले स्थानीय निर्वाचनको उपयोग गर्ने नीति लिएका छन्। 

लिम्वुवानका जनताको मत सुरक्षा गर्न निर्वाचनलाई उपयोग गर्ने नीति लिनुपरेको ती दलहरूले जनाएका छन्। संघीय लिम्बुवान पार्टी नेपाल र संघीय लिम्बुवान मञ्च नेपालले सोही नीतिअनुसार चुनावी तयारी थालेका छन्। स्वतन्त्र उम्मेदवार तय गर्ने र चुनावीसभामा दुवै दल व्यस्त छन्। संघीय लिम्बुवान पार्टी नेपालका अध्यक्ष सञ्जुहाङ पालुङवाले लिम्बुवानी जनताको मतलाई सुरक्षा गर्नकै लागि भए पनि राजनीतिक रूपमा अस्वीकार गरेको निर्वाचन उपयोग गर्न लागेको बताए।

‘नश्लीय संविधानलाई कार्यान्वयन गर्ने निर्वाचनप्रति हाम्रो पार्टी राजनीतिक रूपमा अस्वीकार गर्छ’, उनले भने, ‘तर कार्यनीतिक रूपमा स्वीकार छ।’ उनले आफूहरू स्वतन्त्र उम्मेदवार तय गर्ने र चुनावमा भोट माग्ने कार्यमा केन्द्रित रहेको बताए। 

स्थानीय तह निर्वाचनको खासै अर्थ पनि नहुने अध्यक्ष पालुङवाको भनाइ छ। सो पार्टीको गत जेठ २१ र २२ गते झापाको बिर्तामोडमा बसेको बिस्तारित बैठकले स्थानीय तह निर्वाचनलाई कार्यनीतिक रूपमा उपयोग गर्ने निर्णय गरेको थियो। 

लिम्बुवान प्राप्तिकै आन्दोलनमा रहेको संघीय लिम्बुवान मञ्च नेपालका सचिव लावाहाङ चेम्जोङले संविधान संशोधनका लागि सशक्त आन्दोलनसँगै निर्वाचनको पनि तयारी गरेको बताए। तयारी स्वरूप नै मञ्चले अूणपूर्वका जिल्लाहरूमा ७५ प्रतिशत उम्मेदवारको टुङ्गो लगाएको जानकारी दिए।

निर्वाचनबाट माग पूरा हुन्छ भन्ने होइन, कार्यकर्ता बचाउने हो’, उनले भने, ‘लिम्बुवान पक्षधर जनताको अभिमत रक्षा गर्ने हो।’ चेम्जोङले जनतालाई लोकतान्त्रिक अभ्यास स्वीकार्ने पार्टीको सन्देश पनि मञ्चले दिनुपर्ने बताए। मञ्चले स्थानीय तहका विभिन्न पदीय भूमिकामा नेताहरूलाई धमाधम उम्मेदवार बनाउँदै छ।

जीतका लागि मतदातामाझ घरघरमै पुगेर मत पनि माग्न थालेको छ मञ्चले। तर निर्वाचन कुबेलामा गर्न लागेको सचिव चेम्जोङले बताए। खेतीमा व्यस्त हुने मध्य असारमा निर्वाचनमा जनतालाई अल्मल्याउन नहुने भन्दै सरकारसँग निर्वाचन मिति सार्न पनि उनले माग गरे।

लिम्बुवान आन्दोलनमै रहेको अर्को पार्टी लिम्बुवान क्रान्तिकारी पार्टी भने निर्वाचन बहिष्कारमा छ। स्थानीय निर्वाचनलाई उसले लिम्बुवानविनाको संविधानलाई कार्यान्वयन गर्ने नौटंकी भनेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.