मन्त्रालयको टुंगो अझै लागेन

|
File Photo

काठमाडौं: नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो समूहको तर्फबाट नाम सिफारिस नगर्दा मन्त्रिपरिषद् बिस्तारमा ढिलाई भएको छ।

कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा बुधबार गठन भएको मन्त्रिपरिषद् बिस्तारका लागि सत्तारुढ प्रमुख घटक माओवादी केन्द्रले दबाब दिइरहेको छ। तर आफ्नै दलबाट मन्त्री बन्नेको नाम टुंगो लगाउन नसक्दा देउवाले मन्त्रिपरिषद् बिस्तार गर्न नसकेको केन्द्रीय सदस्य मीन विश्वकर्मा वताउँछन्।

देउवा मंगलबार व्यवस्थापिका संसदमा भएको निर्वाचनमा तीन सय ८८ मत ल्याएर प्रधानमन्त्रीमा निर्वाचित भएका थिए। प्रधानमन्त्री निर्वाचन भएको भोलीपल्टै मन्त्रिपरिषदमा सहभागी हुने एक जनाको नाम दिन प्रधानमन्त्री देउवाले नेता पौडेललाई आग्रह गरेका थिए। तर नेता पौडेलले आफ्नो गुटका कतिजनालाई कुन मन्त्रालय दिने भन्ने निर्णय नभएसम्म कसैको नाम सिफारिस नगर्ने जवाफ फर्काए। अहिले पनि नेता पौडेल यही अडानमा अडिग छन्

प्रधानमन्त्री देउवाले पौडेललाई मन्त्री बन्ने व्यक्तिको नाम सिफारिस गर्न बारम्बार आग्रह गरेपनि उनले शुक्रबार साँझसम्म नाम दिएका छैनन्। पौडेल समूहले  कांग्रेसले पाउने मन्त्रालयको जम्मा सख्यांको ४० प्रतिशत भााग पाउनुपर्ने माग गर्दै आएको छ। 

सत्तारुढ घटकबीच कांग्रेसले ११ र माओवादी केन्द्रले ९ वटा मन्त्रालय लिने सहमति भएको छ। बाँकीमा राप्रपालाई चार, लोकतान्त्रिक फोरमलाई दुई र अन्य साना दललाई तीन मन्त्रालय दिने सहमति भएको छ। एक मन्त्रालय भने प्रधानमन्त्री आफैंले राख्नेछन्।

मन्त्रालयको बाँडफाँडमा सहमति गर्न जिम्मेवारी पाएको कार्यदलले विवाद टुंग्याउन नसकेका कारण पनि मन्त्रिपरिषद् बिस्तार रोकिएको छ। पौडेल समूहबाट महामन्त्री डा. शसांक कोइरालालाई उपप्रधानमन्त्रीसहित एक मन्त्रालय र केन्द्रीय सदस्य महेश आचार्यलाई सूचना तथा सञ्चार मन्त्रालयको जिम्मेवारी दिन खोजेका देउवालाई पौडेलले रोकेका थिए।

पौडेलले आफ्नो समूहबाट केन्द्रीय सदस्यहरु बलबहादुर केसी र रामकृष्ण यादवलाई मन्त्रिपरिषदमा सहभागी गराउन आग्रह गरेका थिए। जवाफमा  देउवाले पहिलो चरणमा एक जनाको मात्र नाम सिफारिस गर्न आग्रह गरेका थिए। पौडेलले एक जनाको मात्र नाम सिफारिस नगरेपछि उनको समूहबाट कोही पनि मन्त्रिपरिषदमा समावेश हुन सकेका छैनन्।

पहिलो चरणमा एकजनाको मात्रै नाम मागेका देउवाले दोश्रो चरणको मन्त्रिपरिषद् बिस्तारमा दुई जनाको नाम दिन पौडेललाई आग्रह गरेका छन्। तर उनको आग्रह पौडेल समुहले अस्विकार गरेको छ। पौडेल समूहलाई चार वटा मन्त्रालय दिने सोचाई बनाएका प्रधानमन्त्री देउवाले कृष्णप्रसाद सिटौला र खुमबहादुर खड्काको समूहलाई भने एक-एक मन्त्रालय दिने योजना बनाएका छन्।

सभापतिप्रति असन्तुष्ट पौडेलले आफ्नो समूहलाई कुन-कुन मन्त्रालय दिने भनेर निर्णय गरेपछि मात्र नाम सिफारिस गर्ने मनस्थिति बनाएको हुनसक्ने केन्द्रीय  सदस्य सरिता प्रसाईंले थाहाखबरलाई बताइन्। 

प्रधानमन्त्री देउवाले आफ्नो गुटमा परेको बाँकी दुई मन्त्रीमा कसलाई लिने भन्ने निर्णय गर्न सकेका छैनन्। मन्त्रीमा उनकै समूहबाट चन्द्र भण्डारी, एनपी साउद मीन विश्वकर्मा र भरत शाह प्रमुख दाबेदारको रुपमा देखिएका छन्। 

सिटौला समूहबाट भने भिमसेनदास प्रधान र खड्का समूहबाट शिला खड्का र मोहनबहादुर बस्नेतमध्ये एक जनाको नाम सिफारिस गर्ने पक्का भएको छ। पौडेल समूहले भने बलबहादुर केसी, रामकृष्ण यादब, महेश आचार्य, कमला पन्त र जीवन परियारलाई मन्त्रीमा सिफारिस गर्न चाहन्छन। तर देउवा समूहले भने पौडेल समूहलाई चार वटा मन्त्रालय मात्र दिन तयार भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.