|
फोटो : भेरी ज्ञानोदय क्याम्पसको भवन, जहाँ भेरी नगरपालिकाको कार्यालय छ।

जाजरकोट : स्थानीय तहको निर्वाचनमा विजयी भएपछि उत्साहित देखिएका जाजरकोटका जननिर्वाचित प्रतिनिधिहरु भवन तथा पूर्वाधारको समस्याका कारण अहिले मर्कामा छन्। भवन अभावमा सदरमुकामको भेरी नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरु भाडाको घरमा पदभार गर्न बाध्य भए। भेरी ज्ञानोदय क्याम्पसको भवन भाडामा लिएर प्रमुख, उपप्रमुख तथा वडाध्यक्षहरुले दैनिक काम चलाइरहेका छन्।

जनप्रतिनिधिको कार्यकक्षका लागि भेरीले मासिक ३० हजारमा क्याम्पस भवन भाडामा लिएको  कार्यकारी अधिकृत रामप्रसाद शर्मा बताउँछन्। उनले भवन तथा पूर्वाधार अभावका कारण जनताको काम गर्न जनप्रतिनिधिलाई समस्या भएको बताए। भवन तथा पूर्वाधारको समस्या भेरी नगरपालिका मात्रै नभएर जाजरकोटका सबै नगरपालिका तथा गाउँपालिकामा छ। जिल्लाका ४ गाउँपालिका र ३ नगरपालिकामध्ये कुनै पनि स्थानीय तहको आफ्नै भवन छैन्।  

कतिपय गाउँ-नगरलाई कार्यालय संचालनका लागि भाडाकै घर पाउन पनि मुस्किल भएको छ। शिवालय, जुनीचादे, कुशे र बारेकोट गाउँपालिका तथा छेडागार नगरपालिकालाई भाडामा घर पाउन समेत मुस्किल छ।

भवन अभावका कारण जिल्लाका ३ वटा नगरपालिका र ४ वटा गाँउपालिकाअन्तर्गतका ७७ वटा वडाका वडा कार्यालय संचालनमा समस्या छ। नगरप्रमुख र उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष र वडा अध्यक्षहरुले पूर्वाधार अभावका कारण जनताका काम गर्न पाएका छैनन्।

कार्यालय संचालन गर्ने भवनको अभाव हुँदा गाँउ तथा नगरपालिकाका वडाहरु संयुक्त रुपमा संचालन गरिएको छ। जिल्लाका गाउँपालिका तथा नगरपालिकाहरुलाई कार्यालय संचालन गर्नका लागि भवनको अभाव भएकोले  भाडामा भवन खोज्नुपर्ने भएको छ। जिल्लाका सबै गाउँ-नगरका जनप्रतिनिधिलाई भवन, फर्निचर, खानेपानी पुर्वाधार अभावमा कार्यालय संचालनमा समस्या भएको हो।

गाउँ-नगरका जनप्रतिनिधिलाई कार्यालय संचालनका लागि भाडाको घर पाउन समेत धौ-धौ परेको छ। 

शिवालयको शिवालय, छेडागारको मनघाट, जुनीचादको सानाखोला, कुशेको बाटुले र बारेकोटको लिम्सामा भवन, जमिन, खानेपानी, टेलिफोन लगायत पूर्वाधारको अभाव भएको जाजरकोटका स्थानीय विकास अधिकारी रुद्र प्रसाद पण्डितले बताए।  केन्द्र तोकिएका स्थानमा साबिकका गाउँ विकास समितिका भवन समेत नभएकोले समस्या भएको पण्डितले जानकारी दिए।

हचुवाको भरमा बस्ती विकास भएको र पूर्वाधार अभाव भएको स्थानलाई केन्द्र बनाउँदा समस्या भएको जुनिचादे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीले बताए। जुनिचादे गाउँपालिकाको केन्द्र छनौट गरिएको सानाखोलामा टेलिफोनको समस्या छ। 'फोन नलाग्दा  फोन गर्नका लागी डाँडामा उक्लिनुपर्छ। यस्तो अवस्थामा जनताका कामलाई कसरी सहजरुपमा सेवा प्रवाह तथा  अपेच्छा पुरा गर्ने,' केसीले भने।

गाउँपालिकामा वडाध्यक्षलाई नियमित काम गर्नको लागि वडा कार्यालयको व्यवस्थापन गर्न चटारो छ। 'पहिले भएका गाविस कार्यालयलाई पनि आवश्यक मर्मत सम्भार नगरिएको तथा गाउँमा कार्यालयको बोर्ड मात्रै राखेर सदरमुकाम वाटै सेवा दिने प्रचलनले पनि अहिले समस्या भएको हो,' अध्यक्ष केसीले बताए। बजारीकरण नै नभएका स्थानमा केन्द्र तोक्दा नव निर्वाचित जनप्रतिनिधिलाई समस्या भएको केसीको धारणा छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.