|

काठमाडौं : नेपालमा रहेका भुटानी शरणार्थीका जीवन संघर्षबारे लेखिएको दिनेशकुमार कार्कीको उपन्यास ‘हन्बेर्नो’ सार्वजनिक भएको छ। उपन्यासको पत्रकार तथा लेखक किशोर नेपाल, आख्यानकारद्वय कृष्ण धरावासी, उमा सुवेदी र कवि केशव आचार्यले संयुक्त रुपमा विमोचन गरे।

उपन्यासबारे बोल्दै लेखक तथा पत्रकार किशोर नेपालले नेपाल र भुटानका लागि समस्या बनेको भुटानी शरणार्थीहरुको जीवन मिहिन रुपमा उपन्यासमा आएको बताए थिए। ‘परित्यक्त बनेका शरणार्थीहरुको बिजोगको कथा उपन्यासमा सजीव भएर आएको छ,’ नेपालले भने, ‘भाषाशैली सरल बनेकाले उपन्यास सबैका लागि पठनीय बनेको छ।’

सर्वनाम थिएटर कालिकास्थानमा आयोजित उपन्यास सार्वजनिक कार्यक्रममा लेखक कृष्ण धरावासीले इतिहास, समाज, सूचना र तथ्यको एकमुष्ट प्याकेजका रुपमा कार्कीको उपन्यास आएको भनाइ राखे। आफ्नै उपन्यास ‘शरणार्थी’को प्रसंग जोड्दै उनले भने, ‘मैले त शरणार्थीहरुको झलकमात्र दिएको छु, ‘हन्बेर्नो’मा सबै कुरा आएका छन्। भुटानी शरणार्थीमाथि अब पुस्तक नलेखे पनि हुन्छ।’

लीला लेखनको प्रभाव देखिएको बताउँदै धरावासीले हरेक पात्रमा नायकत्व देखिएको भनाइ राखे। ‘यहाँ धेरै यथार्थ पात्रहरु आएका छन्,’ उनले थपे, ‘उनीहरुको भोगाइ र कहानी त छ नै, समग्रमा शरणार्थीहरुको औपन्यासिक दस्तावेजको रुपमा नेपाली साहित्यले महत्त्वपूर्ण किताब पाएको छ।’

उपन्यासको भाषाले आफूलाई तानेको बताउँदै लेखक अर्की वक्ता उमा सुवेदीले कार्कीको पहिलो उपन्यास नै परिष्कृत रुपमा आएको बताइन्। पात्रको जीवन्त चित्रण र कारुणिक कथाले आँखा रसाएको अनुभव सुनाउदै उनले थपिन्, ‘म थोरै रुने महिलामध्ये एक हुँ। उपन्यास छिचोल्न गाह्रो भयो, धेरैपटक मेरा आँखाका कोस रसाए।’ उपन्यासमा शरणार्थीको वास्तविकता ल्याउन सक्नु लेखकको सबल पक्ष रहेको उनले बताइन्।

झापाली स्रष्टा कवि केशव आचार्यले भुटानी शरणार्थीको तथ्यपरक सूचना बुझ्नका लागि पनि उपन्यासले मद्दत पुर्‍याउने बताए।

झापामा रहेका भुटानी शरणार्थीहरुसँगको सम्पर्कले उपन्यास तयार भएको लेखक कार्कीले बताए। ‘२०५४ सालतिर फुपाजूलाई खोज्न मेघालयतिर गएको थिएँ,’ उनले रचनागर्भ जोड्दै भने, ‘त्यहाँ काम गर्ने भुटानीहरुको पीडालाई नजिकबाट नियाल्ने मौका पाएँ र त्यही कथालाई जोडेर ‘हन्बेर्नो’ तयार भएको हो।’

भुटानबाट लखेटिएका र तेस्रो देश पुनर्वासको नाममा नेपाल छोड्न बाध्य शरणार्थीहरुको संघर्ष कथा बोकेको उपन्यास इन्डिगो इन्कले प्रकाशन गरेको हो। उपन्यासको मूल्य २ सय ९९ रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.