|

लहान : स्थानीय तह निर्वाचन दोस्रो चरणअन्तर्गत उम्मेदवारको मनोनयन दाखिलाको समय नजिकिँदै गर्दा सिरहाको लहान नगरपालिका क्षेत्रमा मुख्य राजीनितक दलहरुले प्रचारप्रसारलाई तीव्र बनाएका छन्। नेपाली कांग्रेसले प्रमुख-उपप्रमुख पद थाती राख्दै २४ वडाको वडाध्यक्ष तथा सदस्य उम्मेदवारको नाम टुङ्ग्याएर घरदैलो अभियान जुटेको छ।

नेकपा एमालेले प्रमुख र उपप्रमुख उम्मेदवारको मात्र टुङ्ग्याएर वडाध्यक्ष तथा सदस्य उम्मेदवार खाली राखेर चुनावी अभियान गरिरहेको छ भने नेकपा (माओवादी केन्द्र) प्रमुख र उपप्रमुखसहित केही बाहेक वडाध्यक्ष तथा सदस्य उम्मेदवारको नाम टुङ्ग्याएर घरदैलो अभियान गरिहेको छ।

कांग्रेसमा दाबेदार नै बढी

सिरहाको ६ निर्वाचन क्षेत्रमध्ये १ नं. क्षेत्रमा पर्ने लहान नगरपालिकामा २४ वडा छन्। स्थानीय तह पुनःसंरचनाअघि लहान नगरमा रहेका १० वडा र पछि गाभिएका तत्कालीन १२ गाविसहरु पनि १ नम्बर क्षेत्रमै पर्थे।  कांग्रेसले प्रत्यक्षतर्फ जितेको यो क्षेत्रमा पर्ने लहान नगरमा संसदीय निर्वाचनको जितलाई दोहोरर्‍याउन पनि कांग्रेसले लहानलाई विशेष ध्यान दिएको क्षेत्रीय सचिव सन्तोष उपाध्याय बताउँछन्।

क्षेत्रीय सचिव उपाध्यायका अनुसार क्षेत्रीय समितिले प्रमुख र उपप्रमुख पदका लागि अक्षमितलाल चौधरी, महेश चौधरी, रामसुन्दर चौधरी, सुनिलकुमार महतो, फूलेश्वर महतो र देवनाथ महतोको नाम सिफारिस गरेको छ। त्यस्तै, उपप्रमुख पदमा विमला भुर्तेल, नुतन यादव, उषा राउत, भगवती चौधरी र पुनम चौधरीको नाम सिफारिस गरिएको क्षेत्रीय सचिव उपाध्यायले बताए।

कांग्रेसले वडाध्यक्ष पदका लागि लहान १ मा फागु चौधरी, २ मा सियाराम यादव, ३ मा रामदयाल महतो, ४ मा अब्बुल मियाँ, ५ मा अब्दुल करिम, ६ मा अरुण केसीलाई उम्मेदवार बनाएको छ। त्यस्तै, लहान ७ का लागि विकास शारदा, ८ मा श्यामकुमार साह ‘भोरेभोर’, ९ मा ज्वाला चौधरी, १० मा विनोद विसुन्के, ११ मा सूर्यनारायण चौधरी, १२ मा बद्रीनारायण चौधरी, १३ मा कृष्ण महतो, १४ मा महेश श्रेष्ठ, १५ मा तेजनारायण चौधरीलाई वडाध्यक्षको उम्मेदवार बनाएको छ।

लहान नगरपालिकाको १६ नं. वडाध्यक्षमा तत्कालीन तरेगना गोविन्दपुरका पूर्व गा.वि.स. अध्यक्ष समेत रहेका गरुडबहादुर जर्घा मगर, १७ मा दीपनारायण चौधरी, १८ मा मो. आसिन, (भोजे मियाँ), १९ मा मो.कमरुद्दिन, २० मा विनोद साह, २१ मा शिवनन्दन चौधरी, २२ मा हीरा चौधरी, २३ मा कन्हैया गुप्ता र २४ मा मिश्री यादवलाई उम्मेदवार बनाएको छ।  

एमालेको प्रमुख उपप्रमुख मात्र

नेकपा एमालेले लहान नगरमा प्रमुख र उपप्रमुख पदको उम्मेदवारबाहेक वडासदस्यको पनि नाम टुङ्ग्याउन सकेको छैन। एमालेले प्रमुखमा लहान नगरका पूर्वप्रमुख समेत रहिसकेका मुन्नि साह र उपप्रमुखमा सरियार चौधरीलाई उम्मेदवार बनाएको छ। वडाध्यक्ष र सदस्य उम्मेदवारको नाम नटुङ्गिएको भए पनि उसले घरदैलो कार्यक्रम भने जारी राखेको छ।

लहान नगर कमिटी निर्वाचन परिचालन समितिका इञ्चार्ज गंगाप्रसाद साहका अनुसार हरेक वडा कमिटीबाट सिफारिस गरिएका प्रस्तावित वडाध्यक्ष र सदस्य उम्मेदवारहरुको नाम जिल्ला कमिटीले टुङ्ग्याउने भएकाले प्रमुख र उप्रमुख पदका उम्मेदवारलाई लिएर पहिलो चरणमा मतदातासँग भेटघाट, छलफल गरिएको छ।

माओवादी केन्द्रले टुङग्यायो

दोस्रो संविधानसभाको निर्वाचनमा दोस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले लहान नगरपालिकामा प्रमुख, उपप्रमुख र केहीबाहेक सबै वडाध्यक्ष र सदस्य उम्मेदवारहरुको नाम छनोट गरेर निवर्चानको प्रचारप्रसार गरिरहेको छ।

माओवादी केन्द्रले प्रमुखमा लामो समय जनजाति र वामपन्थी आन्दोलनमा समर्पित खड्गनारायण चौधरी र उपप्रमुख पदमा दलित समुदायबाट रिकमा विश्वकर्मालाई उम्मेदवार बनाएको छ। विश्वकर्मा जिल्लाको दलित तथा सुकुम्बासीहरुको आन्दोलनको अगुवा हुन् जो सम्भवतः जिल्लामै मुख्य पदमा दलित समुदायबाट पहिलो उम्मेदवार हुन्।

माओवादी केन्द्रले लहान ४ मा वडाध्यक्ष पदका लागि किसुनदेव सहनी, ५ मा राजकुमार साह, ७ मा सुकदेव मुनि यादव, ९ मा मुसहरु चौधरी, १० मा जोगिन्द्र पासवान, ११ मा रुद्रनारायण राम, १२ मा घुरन चौधरी, १३ मा दीपेन्द्र महतोलाई उम्मेदवार बनाएको छ।

त्यस्तै, माओवादी केन्द्रले लहान १४ मा महेन्द्र यादव, १५ मा रामनारायण चौधरी, १६ मा जयबहादुर ल्हायो मगर, १७ मा रमतुल्लाह मियाँ, १८ मा विष्णु चौधरी, १९ मा संजिव यादव, २० मा गणेश चौधरी, २१ मा हेमन्त यादव, २२ मा मनोज सादय, २३ मा मुसहरु यादव र २४ मा देवनारायण महतोलाई वडाध्यक्ष पदको उम्मेदवार बनाएको छ । अन्य वडाको एक÷ दुई दिनभित्रै नाम टुङ्गिने माओवादी केन्द्रले जनाएको छ।

प्रचारमा अन्य दल पनि

कमल थापा नतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले लहान नगरपालिकाका पूर्वप्रमुखसमेत रहिसकेका लगनलाल चौधरीलाई प्रमुख पदको उम्मेदवारको रुपमा प्रचारप्रसार गरिरहेको छ भने संघीय समाजवादी फोरम नेपाल, नेमकिपा, नेपाल लोकतान्त्रिक फोरम लगायतका ३१ दलहरु आ-आफ्नो ढंगले चुनाव प्रचारमा जुटेका छन्।

तराई मधेस लोकतान्त्रिक पार्टी, सद्‍भावना पार्टी, नेपाल सद्‍भावना पार्टी, तराई मधेस सद्‍भावना पार्टी, मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) र मधेस राष्ट्रिय समाजवादी पार्टीसहित ६ दल मिलेर बनेको राष्ट्रिय जनता पार्टी नेपाल संविधान संशोधन नगरेसम्म चुनावमा भाग नलिने अडानसहित आन्दोलनमा रहेका छन्।

जिल्ला निर्वाचन कार्यालय सिरहका अनुसार सिरहामा स्थानीय तहको निर्वाचन प्रयोजनका लागि ३१ दलले जिल्ला निर्वाचन कार्यालयमा दल दर्ता गरेका छन्। जिल्ला निर्वाचन कार्यालयमा दर्ता भए पनि निर्वाचन आयोगमा दल दर्ता नगरेकाले इतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपालले सिरहाको स्थानीय तहको निर्वाचनमा भाग लिन नपाउने हुँदा सिरहामा ३१ दलले मात्र चुनावमा भाग लिनेछन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.