|

दाङ : शुक्रबार अपहरणमा परेका तुलसीपुरका व्यापारी राजकुमार श्रेष्ठको अवस्था आइतबारसम्म पत्ता लाग्न सकेको छैन।

शुक्रबार तुलसीपुरबाट राति ८ बजे अपहरणमा परेका उनको खोजी कार्य व्यापक पारिएको दाङ जिल्ला प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंहले जानकारी दिए। उनका अनुसार प्रहरीले कल डिटेलका आधारमा घटनाको नजिक पुगेको बताएका छन्। एसपी सिंहले अनुसन्धानलाई व्यापक बनाउन गहन सुरक्षा संयन्त्र परिचालन गरिएको समेत जानकारी दिए।

यसरी भएको थियो अपहरण

व्यापारी श्रेष्ठ सवार बा १२ च १०७१ नम्बरको निजी जिप र भारतीय नम्बर प्लेटको गाडी समेत सल्यानको कपुरकोट गाउँपालिका सिनवाङ र रिमको बीच जंगलमा पर्ने शितलबजारमा फेलापारेको सल्यान प्रहरी प्रमुख श्याम खत्रीले जानकारी दिए।

श्रेष्ठसंगै घोराहीका एक जना निर्माण व्यवसायी रनबहादुर घर्ती र अर्का एक जना महिलालाई समेत अपहरणकारीले संगै लगेर गएको  प्रत्यक्षदर्शीहरुले बताएका छन्। श्रेष्ठ विगत लामो समयदेखि तुलसीपुरमा कपडाको व्यवसाय गर्दै आइरहेका छन्।

रिहाइको अपिल

तुलसीपुर उद्योग वाणिज्य संघले आइतबार विहान आकस्मिक बैठक बसेर श्रेष्ठको सकुशल रिहाईको माग गरेको छ। संघका अध्यक्ष विमल रिजालले यथासक्य रिहाईका लागि अपिल एवं खोजीका लागि सरक्षा निकायलाई आग्रह गरेका छन्। उनले व्यवसायिक सुरक्षामा गम्भीर बन्न प्रहरी प्रशासनसंग आग्रह पनि गरेका छन्। तुलसीपुरमा व्यवसायी अपहरणमा पर्ने घटनाहरु पटक पटक दोहोरिए पछि व्यवसायीहरु सशंकित बनेका छन्।

तुलसीपुरमा भएको घटनाको विषयलाई लिएर विभिन्न मानव अधिकारीवादी संस्थाहरुले ध्यानाकर्षण भएको जनाएका छन्। मानवअधिकार तथा शान्ति समाज दाङ शाखाले आइतबार विज्ञप्ति जारी गरी तत्काल व्यापारी राजकुमार श्रेष्ठको सकुशल रिहाइका लागि अपिल गरेको छ। राष्ट्रिय मानवअधिकार प्रतिष्ठान दाङ शाखाले व्यवसायी राजकुमार श्रेष्ठको सकुशल रिहाइको माग गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.