सर्वसाधरण भन्छन् : ‘नेपालमा रोके इन्डिया जान्छौँ’

|

विराटनगरः भारतसँग जोडिएको मोरङको दक्षिणी क्षेत्र साविक पोखरिया गाविस (हाल जहदा– ६) खुला दिसामुक्त गर्ने अभियान सफल बनाउन अभियानकर्ताले थुप्रै झमेला व्यहोर्नुपर्‍यो। खुला दिसामुक्त गर्नका लागि विभिन्न संस्थाले शौचालय बनाइदिए पनि स्थानीय शौचालय गएनन्। बरु शौचालय गुइँठा राख्ने, बाख्रा बाँध्नेदेखि अन्य काममा प्रयोग गरियो। 

‘अनुदान पाउने रकम लिन जाने तर काम भने शौचालय बनाउनेभन्दा अरूतिरै खर्च हुने देखियो’, नेपाल स्वास्थ्यका लागि पानी र प्लान इन्टरनेसनल नेपालका अभियन्ता कैलाशप्रसाद मण्डलले भने, ‘त्यसपछि गाउँगाउँमा गस्ती गर्न थालियो, बाँसघारी र सडकमा दिसा गर्न बसेका सर्वसाधारणलाई धपाउने, पक्राउ गर्ने र जरिवाना गर्ने काम प्रशासनको सहयोगमा गरियो।’ 

तर, यो काम त्यति सजिलो भने भएन। मण्डलका अनुसार खुला दिसा गर्नुहुँदैन भनेर सम्झाउन हिँडेका अभियन्तामाथि जनताले लाठी, खुकुरी, मुंग्री लिएर लखेट्न सुरु गरे। प्रशासनमा मुद्दा हाले। घर फोड्न आएको भन्दै डाका मुद्दा पनि हाले। साविक पोखरियाको १, २ र ३ नम्बर वडा भारतसँग सीमा जोडिएको वडा थियो। 

बिहान गस्तीमा जाँदा नेपालबाट भाग्दै इन्डिया गएर दिसा गर्नेहरूको लर्को नै लाग्थ्यो। ‘नेपालमा नदिए इन्डियामा गएर भए पनि खुलै ठाउँमा दिसा गर्छु भन्दै हामीलाई चुनौतीसम्म आयो’, मण्डलले भने, ‘तर भारतीय सुरक्षाकर्मी एसएसबीसँग सहयोग मागेर त्यहाँ पनि खुला ठाउँमा दिसा पिसाब गर्न दिइएन।’

यति धेरै मिहिनेत गरेपछि अहिले साविक पोखरिया गाविसका ६९१ घरधुरीमा शौचालय निर्माण गरिएको छ। यही कारणले धेरै मानिसलाई पहिलेको जस्तो झाडापखाला, हैजा, निमोनिया, छालाका रोगीको संख्यामा पनि कम भएको छ। ‘जब खुला दिसामुक्त घोषणा भयो, त्यसपछि पोखरियामा झाडापखाला, हैजा, निमोनिया, छालाका रोगीको संख्यामा ५० प्रतिशत कमी आएको छ’, पोखरिया स्वास्थ्य चौकीका प्रमुख सुकलप्रसाद साहले भने, ‘अहिले सडकमा नाक थुनेर र आँखा बन्द गरेर बिहान बेलुका हिँड्नु पनि पर्दैन।’ 

स्थानीय प्रशासन, राजनीतिक दलका नेता तथा सबैको सहयोगमा आफूहरूको अभियान सफल भएको अभियन्ता टीका बिसंखेले बताए। ‘हामीलाई खुला ठाउँमा दिसा गर्न नदिए नेताकहाँ जान्छु, प्रहरीमा जान्छु र तँलाई जेल हाल्छु भन्ने धम्की पनि आयो’, बिसंखेले भने, ‘तर अहिले त्यसो भन्नेहरू पनि प्रशासन र नेताहरूकै सहयोगका कारण शौचालय बनाउन बाध्य भए।’ 

‘पहिले पहिले अभियान चलाउँदा सर्वसाधरणले विरोध गरे, हामीले जोड ग¥यौँ’, स्थानीय मुन्नादेवी ऋषिदेवले भनिन्, ‘कसैको फाइदाका लाग होइनरहेछ, हाम्रै लागि रहेछ भन्ने लागेपछि सबैले चर्पी बनाए।’ 

अहिले अर्को गाउँ गएर आफूहरू पूर्ण सरसफाईयुक्त ठाउँमा बस्छौँ भन्दा गर्व लाग्ने गरेको सर्वसाधरणको भनाइ छ। ‘बाटो, खाली जग्गादेखि टोलै दुर्गन्धित हुन्थ्यो। त्यति मात्रै होइन, बिहानी पख र बेलुकी पख त लाज शरमविना सबै बाटोमा लोटा लिएर लाइन लागेको देखिन्थ्यो’, पोखरियाकी महिला स्वास्थ्य स्वयंसेविका बुचनीदेवी मण्डलले भनिन्, ‘अहिले त सबैको घरमा चर्पी बनेको छ, बाटोघाटो पनि सफा छ, रोगव्याधी पनि त्यति आएको छैन।’

प्लान इन्टरनेसनल नेपाल र भी वास सीसीको सहयोगमा साविक पोखरिया गाविसका २३० घरलाई गत जेठ १४ गते पूर्ण सरसफाईयुक्त घर घोषणा गरिएको छ। ती घरमा निर्माण गरिएका शौचालयमा साबुन राखिएको छ। ती घरमा कल, भान्सा सफा राख्नेदेखि हात धुने तरिकासमेत सिकाइएको छ।

उक्त गाविसका सबै घरधुरीलाई पूर्ण सरसफाईयुक्त बनाउने आफूहरूको अभियान रहेको प्लान इन्टरनेसनल नेपालका कार्यक्रम संयोजक सन्तोष पासवानले बताए। साविक पोखरिया गाविस २०७२ साल चैतमा खुला दिशामुक्त घोषणा गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.