दलका प्रतिनिधिले आचारसंहिता पालना गरेनन्

|

  • नवीन ढकाल-

इलाम : सूर्योदय नगरपालिकामा निर्वाचन आचारसंहितविपरीत राजनीतिक दलहरुले चुनावी प्रचार गर्दै आएका अन्तरक्रियाका सहभागीले बताएका छन्। जिल्ला निर्वाचन कार्यालय इलामले सूर्योदय नगरपालिकामा आयोजना गरेको सर्वदलीय बैठकमा राजनीतिक दलकै प्रतिनिधिले निर्वाचन आचारसंहिता विपरीतका काम भएको बताएका हुन्।

दलका प्रतिनिधिले आचारसंहिता पालना भए नभएको बारेमा अनुगमन गरि कारबाहीको दायरमा ल्याउन निर्वाचन अधिकृतको कार्यालय र जिल्ला निर्वाचन कार्यालयलाई अनुरोध गरेका छन्। कार्यक्रममा नेकपा माओवादी केन्द्र सूर्योदय नगरपालिका १० का वडाअध्यक्ष उम्मेदवार देवीप्रसाद गौतमले विपक्षी पार्टीबाट झण्डा झिकेर फ्याक्ने काम भएको बताए।

शान्तिपूर्ण रुपमा चुनावी प्रचार गरिरहेका बेला आफ्नो पार्टीले गाडेका झण्डा र प्रचार सामग्री नेकपा एमालेका कार्यकर्ताले फ्याक्ने गरेको आरोप लगाए। हामीले गाडेको झण्डा फ्याक्ने काम भएकाले यस्ता कार्य फेरि भए झडपको अवस्था आउने भएकाले तत्काल रोक्ने काममा निर्वाचन कार्यालय सक्रिय हुने बताए।

कार्यक्रममा नेपाली कांग्रेसका प्रतिनिधि दिपेश गुरुङ्गले निर्वाचनको आचारसंहिताविपरीत उम्‍दवारले डोजर लगाएर गाउँगाउँमा मतदातालाई प्रभाव पार्ने काम भएको बताए। अरुबेला विकासका काममा नलाग्ने राजनीतिक दलहका उमेद्धवारहरु विकास गरिदिन्छु भन्दै अहिले अगाडि डोजर लगाएर हिँड्ने गरेकाले तत्काल त्यस्ता काम रोक्नुपर्ने नेकपा माओवादी केन्द्र सूर्योदय नगरपालिकाका प्रमुखका उम्‍दवार छविराज राईले बताए।

यस्तै, राप्रपा नेपालका प्रमुखका उम्मेदवारवार भोजराज लामिछानेले बरबोटे–कजेनी–सिद्धिखोला–गुफाटार सडक निर्माण गर्ने भन्दै कतिपय उमेद्धवारहरु रोडा र ढुङ्गा ओसार्न थालेको बताए।

निर्वाचन शिक्षा कार्यकर्ता र कर्मचारी नै पार्टी प्रचारमा

यसैगरी निर्वाचन आचारसंहिताविपरीत निर्वाचन शिक्षा कार्यकर्ता र कर्मचारीसमेत निर्वाचन प्रचारमा लागेको कार्यक्रमका सहभागीले बताएका छन्। कार्यक्रममा सहभागी राप्रपाबाट प्रमुखका उम्मेदवार भोजराज लामिछानेले श्रीअन्तु ४ कार्यक्षेत्र तोकिएकी निर्वाचन शिक्षा कार्यकर्ता खुलेआम नेकपा एमालेको प्रचारमा सक्रिय रहेको बताए।

उनका अनुसार निर्वाचन शिक्षा कार्यकर्ता नैनकला पौडेल नेकपा एमालेको श्रीअन्तुको उत्तरे र सल्लेरीमा भएको प्रचारात्मक कार्यक्रममा सहभागी भएकी हुन्। यस्तै मेची पहाडी पर्यटन क्षेत्र पर्यटन विकास समितिका एक कर्मचारी पनि निर्वाचन प्रचारमा जुटेका छन्।

पर्यटन विकास समितिमा कार्यरत सन्दिप लामिछाने शुक्रबार नेकपा एमालेको निर्वाचन प्रचार जुटेका थिए। श्रीअन्तुको सल्लेरीमा आयोजित चुनावी सभामा सहभागी उनले साउण्डबक्स बोक्ने कामको जिम्मा पाएका थिए।

आचारसंहिता पालना गर्ने प्रतिवद्धता

स्थानीय तहको निर्वाचनमा सहभागी इलामका राजनीतिक दलहरुले निर्वाचन आचारसंहिता पूर्ण रुपमा पालना गर्ने प्रतिवद्धता जनाएका छन्। जिल्ला निर्वाचन कार्यालयले इलामले फिक्कलमा आयोजना भएको सर्वदलीय बैठकमा दलका प्रतिनिधिले आरसंहितालाई पूर्णरुपमा पालन गर्ने प्रतिवद्धता जनाएका हुन्।

निर्वाचनको प्रचार गर्दा कुनैपनि पार्टीले अर्को पार्टीको झण्डा, पर्चा पम्प्लेट नच्यात्ने, चुनावी प्रचारलाई शान्तिपूर्ण रुपमा गर्ने, गाडि र पार्टीको झण्डा निर्वाचन आयोगले तोकेबमोजिम गर्ने र सबै मतदान केन्द्रमा समन्वय समिति बनाई चुनावी वातावरण बनाउने सहमति भएको जिल्ला निर्वाचन अधिकारी प्रेम काफ्लेले बताए।

यसैगरी, राजनीतिक दलहरुले निर्वाचन प्रचारको काममा भारतीय नम्बर प्लेटको गाडी प्रयोग नगर्ने समेत प्रतिवद्धता जनाएका छन्। यस्तै निर्वाचनमा बदर मत कम गर्न इलामका ४ स्थानमा नमुना मतदान कार्यक्रम सम्पन्न गरिएको छ। इलाम नगरपालिकाको बिब्ल्याँटे, गोलाखर्क, सूर्योदय नगरपालिका र देउमाई नगरपालिकामा नुमना मतदानको काम सम्पन्न भएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.