|

काठमाडौं : हिजोआज निर्वाचन, संविधान संशोधन लगायतका विषयमा हरेक दिन जसो राजनीतिक छलफल भइरहन्छन्। ती छलफलहरूमा हरेक दलबाट सहभागी हुने प्राय दुई तीन जना नेता हुन्छन्। तिनै नेताहरु आफ्नो दलभित्रको महत्वपूर्ण भूमिकामा हुन्छन् र दलको निर्णयलाई प्रभावित पार्ने हैसियतका हुन्छन्। तर कतिपय यस्ता नेता पनि छन् जो संसदमा छैनन्, राजनीतिक दलका शीर्ष बैठकहरुमा पनि देखिदैनन् तर राष्ट्रिय राजनीतिमा आफ्नो पार्टीको भूमिका, दृष्टिकोण र अडान निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्छन्। 

यस्ता केही नेता सबै दलभित्र छन्। हामीले यहाँ चर्चा गर्न लागेको एमालेका चार नेताबारे हो। जो संसदभित्र र दलहरुबीच हुने छलफलमा सहभागी हुँदैनन्। तर संसद बाहिरबाटै पार्टीमा महत्वपूर्ण भूमिकामा जिम्मेवारीमा छन्। २०७० सालको निर्वाचनमा पराजित भएर संसद बाहिर नै रहेका एमाले महासचिव ईश्वर पोखरेल, सचिवहरु प्रदीप ज्ञवाली र योगेश भट्टराई, स्थायी समिति सदस्य शंकर पोखरेल पार्टीमा भने महत्वपूर्ण भूमिकामा छन्।  


ईश्वर पोखरेल

एमाले महासचिवमा दोस्रो पटक निर्वाचित भएका ईश्वर पोखरेल पार्टीका औपचारिक कार्यक्रम बाहेक पार्टी केन्द्रीय कार्यालयमा आफ्नै कार्यकक्षमा भेटिन्छन्। संसदमा नरहे पनि राष्ट्रिय राजनीतिमा पार्टीको भूमिका स्थापित गर्न उनी सक्रिय छन्। 

आफू पार्टी महासचिवको जिम्मेवारीमा रहेकाले धेरैजसो पार्टी काममा नै व्यस्त हुने उनी बताउँछन्। 'म पार्टीको महासचिव दोस्रो पटकको कार्यकाल चलाइराखेको छु। हाम्रो पार्टीको विधान अनुसार पार्टीको संगठनात्मक क्षेत्रको कामको मुख्य जिम्मेवारी महासचिवको हो' पोखरेलले भने, 'त्यस अन्तर्गत नै म पार्टीभित्रका संगठनात्मक कामहरु व्यवस्थित गर्ने मामलामा केन्द्रित छु। मलाई पार्टीको कामले आफू सक्दो भारी पुगेको छ।'

२०७० सालको संविधान सभा निर्वाचनमा एमाले महासचिव पोखरेल काठमाडौं क्षेत्र नम्बर ५ बाट पराजित भएका छन्। उनले आफू सांसद नभए पनि पार्टीभित्रको काममा बढी केन्द्रित भएको प्रतिक्रिया दिए। 'अहिले राष्ट्रिय राजनीतिको मूल प्रवाहीकरण संविधान निर्माण भन्दा पहिले संविधानसभामा केन्द्रित थियो। संविधान जारी भएपछि त्यो कार्यान्वयनको मुख्य थलो संसद र सरकार छ' उनले भने, 'म संसदमा नभए पनि पार्टीको मुख्य जिम्मेवारी मै छु। म ती कामहरुमै केन्द्रित छु। कामको यो क्षेत्रमा केन्द्रित भएकाले संसद नभएकाले त्यस्तो खासै असहजिलो महसुस गरेको छैन।'

प्रदीप ज्ञवाली

एमालेको नवौं महाधिवेशनबाट सचिव पदमा निर्वाचित भएका नेता ज्ञवाली २०५६ को आम निर्वाचन र २०६४ को संविधानसभा निर्वाचनमा गुल्मी २ बाट निर्वाचित भएका ज्ञवाली २०७० को संविधानसभा निर्वाचनमा भने पराजित भए।

अध्यनशील र सरल नेतामध्येका एक ज्ञवाली स्पष्टवक्ता मानिन्छन्। एमाले केन्द्रीय सचिवालयको सचिवको जिम्मेवारीमा रहेका नेता ज्ञवाली आफ्नो जिम्मेवारी अनुसारको काम गर्दै आएको बताउँछन्। २०६३ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनेका ज्ञवाली तत्कालिन विद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने सरकारी वार्ता टोलीका सदस्य थिए। 

सचिवालयको सचिवको जिम्मेवारीमा रहेका नेता ज्ञवालीको पार्टी कार्यालय धुम्बाराहीमा आइपर्ने दैनिक कार्य सञ्चालन लगायतका काम पर्छन्। कामको हिसाबले संसदमा हुनु र नहुनुले तात्विक फरक नपर्ने बताउँछन्। 'संसदमा हुँदा संसदीय कामहरुमा बढी व्यस्त हुनुपर्थ्यो। संसदका समितिका बैठकहरु, हाउस त्यससँग जोडिएका अरु नियमित कामहरुमा सहभागी हुनुपर्दा पार्टी कामका लागि समय अलिकति कम हुन्थ्यो' उनले भने, 'समय दिने हिसाबले पार्टीको काममा बढी केन्द्रित हुन पाइन्छ। संसदमा हुनु र नहुनुले त्यति ठूलो फरक पार्छ जस्तो लाग्दैन।'

जनप्रतिनिधि केही सहज भए पनि पार्टी कामका लागि धेरै ठूलो असर नगर्ने ज्ञवालीको भनाइ छ। 'अरु कतिपय साथीहरुलाई सांसद हुँदा पार्टी काम गर्न अझ सजिलो हुन्छ। निर्वाचित जनप्रतिनिधि हुनुको हिसाबले कतिपय कुराहरु सहज हुन्छन् जनताको समस्या प्रत्यक्ष रुपमा छलफल गर्नका लागि। नीतिगत छलफलहरुमा पनि प्रत्यक्ष छलफल गर्न पाइन्छ' उनले भने। 

योगेश भट्टराई

एमाले सचिव तथा प्रचार विभाग प्रमुख रहेका योगेश भट्टराई संसद सदस्य नरहे पनि एमालेले संसद अवरोध गर्छ कि गर्दैन? संविधान संशोधन विधेयकको विपक्षमा किन छ जस्ता नियमित प्रश्नको जवाफ दिइरहनुपर्छ। 

पार्टी सचिव तथा प्रचार विभाग प्रमुखको भूमिकामा रहेकाले संसद भित्र र बाहिरका एमालेका सबैजसो निर्णय र विषयको जवाफ उनले दिनुपर्छ। २०६४ को आठौं महाधिवेशनबाट एमाले केन्द्रीय सदस्य बनेका उनी २०६४ र २०७० को संविधानसभा निर्वाचनमा काठमाडौं–६ बाट पराजित भए।

नवौं महाधिवेशनबाट सचिव पदमा निर्वाचित भएपछि उनले पार्टीमा प्रचार विभागको जिम्मेवारी पाए। सञ्चार भात्रृ संगठन प्रेस चौतारीको इञ्चार्ज रहेका नेता भट्टराई चौतारीका गतिविधिहरुमा निगरानी तथा निर्णय प्रक्रियामा प्रत्यक्ष संलग्न हुन्छन्।  

प्रचार विभाग प्रमुख भएका कारण एमालेका हरेकजसो औपचारिक बैठकबारे पत्रकारलाई जानकारी दिने र कुनै विषयमा धारणा सार्वजनिक गर्दा प्रेस विज्ञप्तिहरु उनले नै जारी गर्छन्। 

शंकर पोख्रेल

२०७० सालको संविधानसभा निर्वाचनमा दाङ क्षेत्र नम्बर ४ बाट पराजित भएका एमाले नेता पोख्रेल एमालेको नवौं महाधिवेशनमा उपमहासचिव पदमा पराजित भएका थिए। हाल एमालेको स्थायी कमिटी सदस्य र स्कुल विभागको उपप्रमुख रहेका पोख्रेल सामाजिक सञ्जालमा पनि चर्चित छन्।  

पार्टी स्कुल विभागको उपप्रमुखको जिम्मेवारी पाएका पोख्रेल तुलसीलाल स्मृति प्रतिष्ठान स्थित पार्टी स्कुल विभागको कार्यालयमा प्राय भेटिन्छन्। एमालेका केन्द्रीय नेतादेखि कार्यकर्ता पढाउन पार्टी स्कुल नेता पोख्रेलले आफ्नो नेतृत्वमा चलाइरहेका छन्। 

कुनै राष्ट्रिय महत्वको विषयमा उनले तत्काल सामाजिक सञ्जाल फेसबुक र ट्विटरमार्फत प्रतिक्रिया दिइहाल्छन्। सामाजिक सञ्जालमा बहस गरिरहने पोख्रेलका कतिपय धारणाको भने सामाजिक सञ्जालमा आलोचना समेत भएका छन्। 

२०५१ सालमा दाङको ३ नम्बर क्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका पोखरेल २०६४ सालको संविधानसभामा समानुपातिक तर्फबाट संविधानसभा सदस्य थिए। एक पटक सूचना तथा सञ्चार मन्त्री भइसकेका पोख्रेल नेता बन्नका लागि सैद्धान्तिक रुपमा समेत बलियो हुनुपर्ने कुरामा विश्वास राख्छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.