निगम र कोषका के के छन् शर्त?

|

काठमाडौं : नेपाल वायु सेवा निगमले खरिद गर्नको लागेको दुईवटा वाइडबडी जहाजको लागि वित्तीय स्रोत जुटाएको छ। दुई जहाज खरिदका लागि निगमले दुई दिनमा २४ अर्ब रुपैयाँको ऋण सम्झौता गरिसकेको छ। आइतबार मात्रै कर्मचारी सञ्चय कोषसँग १२ अर्ब रुपैयाँको ऋण सम्झौता गरेको निगमले सोमबार नागरिक लगानी कोषसँग पनि १२ अर्ब रुपैयाँको ऋण सम्झौता गरेको हो।

सरकार जमानत बसेपछि नागरिक लगानी कोषले पहिलो पटक उडान क्षेत्रको व्यवसायिक योजनामा ऋण दिन सहमत भएको हो। सोमबार नागरिक लगानी कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेल र निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारले १२ अर्ब रुपैयाँ ऋण सम्झौतामा हस्ताक्षर सम्झौतामा अर्थ मन्त्रालय र पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका अधिकारी साक्षीको रुपमा बसेका छन्।

'हामीले गत वैशाख अन्तिम साता नै निगमले मागेको ऋण स्वीकृत गरेका थियौं, तर सम्झौता गर्न केही ढिला भयो, तथापी ऋण सम्झौता भएपछि वाइड बडी किन्ने कार्यले मूर्त रुप पाएको छ' नागरिक लगानी कोषका कार्यकारी निर्देशक पोखरेलले भने।

नेपाल वायु सेवा निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारले जहाज खरिदका लागि ऋण उपलव्ध हुनु ठूलो उपलव्धि भएको बताए। 'दुई वटा वाइड बडी किन्नको लागि हामीले केही समयदेखि कसरत गरेका थियौं, यसको लागि ऋण समेत उपलव्ध गराउन सम्झौता भएको छ यो ठूलो उपलव्धि हो' कंसाकारले भने।

के छन् शर्त?

नागरिक लगानी कोष र निगमबीचको सम्झौतापत्रमा केही शर्तहरु पनि राखिएका छन्। जस अनुसार अब किनिने वाइड बडी जहाजले व्यवसायिक उडान नहुँदासम्म व्याजदरमा घटबढ हुने छैन। व्यवसायिक उडान भर्ने दिनसम्मको लागि ९ प्रतिशत व्याजदर कायम गरिएको छ।

व्यवसयिक उडान सुरु भएपछि बजारमा चलनचल्तीमा रहेको व्याजदर कायम गरिने विषयमा दुबै पक्ष सहमत भएका छन्। कोषले दिएको रकम भुक्तानी अवधि १५ वर्षको राखिएको छ। पहिलो चरणमा कोषले निगमलाई चार अर्ब रुपैयाँ ऋण दिनुपर्नेछ। 

पर्यटन क्षेत्रमा आशा?

दुई वटा वाइड बडी खरिदसंगै नेपालको पर्यटन क्षेत्रको विकासमा सहयोग पुग्ने नागरिक लगानी कोष र निगमका अधिकारीहरुले बताएका छन्। 'नेपाल पर्यटन क्षेत्रमा सम्भावना बोकेको क्षेत्र हो, जहाँ पनि देशको पर्यटन विकासको लागि राष्ट्रिय ध्वजाबाहकको योगदान ठूलो हुनेछ। हामीकहाँ पनि दुई वटा जहाज किनेसंगै पर्यटन विस्तारका साथै रोजगारी वृद्धिमा सहयोग पुग्ने छ' वायुसेवा निमगका महाप्रबन्धक कंसाकारले भने।

त्यस्तै नागरिक लगानी कोषका अध्यक्ष महाप्रसाद शर्माले वायु सेवा निगमले जहाज खरिदमा गरेको यति ठूलो लगानीसंगै नेपालको पर्यटन क्षेत्रमा नयाँ उन्नति हासिल हुने बताए।

कोषका कार्यकारी निर्देशक पोखरेलले मुलुकको उन्नति हुन्छ भन्ने हेतुले नागरिकले सञ्चय गरेको रकम ऋण स्वरुप उपलव्ध गराउन सहमत भएको बताए। 'अहिले राष्ट्रिय ध्वजाबाहकको आवश्यकता देखिएको छ, राष्ट्रिय ध्वजाबाहकबाट मुलुकको समग्र उन्नति हुन्छ र हाम्रो पनि योगदान रहन्छ भन्ने हेतुले ५ लाख ७० हजार नागरिकको सञ्चितीमध्येबाट हामीले निगमलाई ऋण उपलव्ध गराएका छौँ' पोखरेलले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.