|

  • शैलेन्द्र समदर्शी-

दार्जीलिङ: आइतबार दार्जिलिङमा पहिलो पटक टिकट काटेर श्रोताहरूले कविता सुने।

गोर्खा दुःख निवारक सम्मेलनको भवनमा श्रोताहरूले टिकटमा कविता सुनेका हुन्। गोर्खाल्याण्ड आन्दोलनको कारण यो क्षेत्र तनावपूर्ण स्थितिमा भए पनि धेरै संख्यामा कविताप्रेमीहरू कविता सुन्न सम्मेलनको पद्मा देवान स्मृति मञ्चमा भेला भएका थिए। उत्साही युवा सर्जकहरूको मञ्च कला सङ्गमले टिकटमा कविता कार्यक्रम आयोजना गरेको हो, जसलाई गोर्खा दुःख निवारक सम्मेलनले सहयोग पुऱ्याएको थियो।

दार्जिलिङमा टिकट काटेर कविता सुनेको यो पहिलो पटक हो। उक्त अवसरमा कवि मनप्रसाद सुब्बा, केवलचन्द्र लामा, नगेन्द्र गोर्खालगायत अहिलेका चर्चित युवाकवि टीका भाइ, पवित्र लामा, सुवास श्रेष्ठ, सरिता समदर्शी, उषाकिरण सत्यदर्शी, पुष्कर सिङ्गर, दीक्षा मोक्तान, मणिराज खनालले आ-आफ्ना कविता
सुनाए। किवहरूले कवितावाचन गरिरहँदा पार्श्वमा सङ्गीत गुञ्जिरहेको थियो।

कवि मनप्रसाद सुब्बा एक्लैले आधा दर्जन कविता सुनाएका थिए। श्रोताहरूको ‘टेस्ट’ लाई बुझेर आयोजकले कविता मात्र नराखेर गजल र रूबाईलाई पनि समावेश गरेको थियो।

कार्यक्रममा आख्यानकार विन्द्या सुब्बा प्रमुख अतिथिका रूपमा उपस्थित थिइन्। कविता सुन्नकै लागि चर्चित कवि नोर्जाङ स्याङदेन, वरिष्ठ गीतकार चन्द्रमीत लक्सम, वरिष्ठ सङ्गीतकार वसन्त छेत्री, चर्चित नाट्यकर्मी मेनुका प्रधान आदि गोदुनिस पुगेका थिए।

आयोजक समितिमा युवाहरू सुमन लामिछाने, विसन छेत्री, सत्यदीप राई, उमङ्ग तामाङ, दीपङ्कर राई, मनिका राई, ललिता राई, ताफिया राई श्रीया प्रधानलगायत 15 जना रहेका छन्। यी युवाहरूले पछिल्ला केही वर्षयता ‘सङ्गीतमा कविता’ माथि काम गर्दै आएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.