|

  • मेगराज खड्का- 

रुकुम : जनयुद्धको आधारक्षेत्र रुकुममा पहिलो चरणमा निर्वाचन भएका ६ मध्ये सबै गाउँपालिका तथा नगरपालिकामा प्रमुख पदसहित अधिकांश पदमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्।  

शान्ति प्रक्रियामा आउनुपूर्व बन्दूक 'बुलेट' को आडमा समानान्तर सत्ता चलाएका माओवादी नेता-कार्यकर्ताले गोप्य मतदान 'ब्यालेट'मार्फत सत्ताको साँचो वैधानिक रुपबाटै हातमा लिएका छन्। त्यसैले उनीहरुसामू जनयुद्धका बेला जनतासमक्ष बाँडेका आश्वासन पुरा गर्ने अवसर र चुनौती छ।

जनयुद्धकालीन समस्या समाधान गर्नेदेखि शान्ति स्थापनापछि सुरु भएका विकास निर्माण कार्यलाई पूर्णता दिनेसम्मका अभिभारा जननिर्वाचित प्रतिनिधिहरुको काँधमा छ। यस्ता जिम्मेवारीलाई उनीहरुले कसरी पूरा गर्लान्? धेरैलाई चासो छ?

पहिलो चरणमा निर्वाचन भएका रुकुमका ६ वटा स्थानीय तहमध्ये ५ वटा स्थानीय तहमा पहिलो बैठक बसिसकेको छ।  'बिहानीले दिनको संकेत गर्छ' भनेझैं पहिलो बैठकले गरेका केही महत्वपूर्ण निर्णयहरुका आधारमा माओवादी नेतृत्वको स्थानीय सरकार कसरी अघि बढ्दैछ भन्ने प्रारम्भिक अनुमान लगाउन सकिन्छ।  ५ स्थानीय तहको पहिलो बैठकले गरेका निर्णय यस्ता छन् : 

बाँफिकोट गाउँपालिकाले माओवादी जनसत्ताका लिखतलाई मान्यता दिने

बाँफिकोट गाउँ कार्यपालिकाको पहिलो बैठकले द्वन्द्वका क्रममा सञ्चालित माओवादी जनसत्ता का लिखतलाई मान्यता दिने निर्णय गरेको छ। बैठकले त्यतिबेला गरिएका घरजग्गा रजिस्ट्रेसनका कारण स्थानीयले दु:ख पाएको भन्दै त्यसलाई मान्यता दिन आवश्यक प्रक्रिया पूरा गर्ने निर्णय गरेको हो।

अध्यक्ष धर्मबहादुर केसीले गाउँपालिकामा त्यस्ता लिखत कति र कस्तो अवस्थामा छन् तिनको लगत संकलन गरी विश्लेषणपश्चात् आवश्यक कानुन, नीति र विधि बनाएर टुंग्याउने निर्णय भएको बताए।

सानीभेरी गाउँपालिका : जनसत्ताले गरेका घर-जग्गा करोबारको अध्ययन गर्न कार्यदल गठन गर्ने  

रुकुमको सानीभेरी गाउँपालिकाको बैठकले जनयुद्ध र जनआन्दोलनका सहिद परिवार तथा घाइते र सूचीकृत अपाङ्गहरुको व्यक्तिगत सिफरिस निशुल्क दिने निर्णय गरेको छ। जनयुद्धकालमा तत्कालिन जनसत्ताद्धारा घर-जग्गाको कारोबार सम्बन्धमा भएका सम्पूर्ण अध्ययन अनुसन्धान गरी लगत संकलन गर्न कार्यदल गठन गर्ने र त्यस कार्यदलको निर्णयका आधारमा सानीभेरी गाँउपालिकाको ठोस नीति तथा कार्यक्रम पेश गर्ने निर्णय गरेको छ। तत्कालिन, मध्यकालिन र दिर्घकालिन पञ्चवर्षे एकिकृत विकास गुरुयोजना अन्तर्गत प्राथमिकताका आधारमा विकासका पूर्वाधारहरुमा लगानी गर्ने निर्णय बैठकले गरेको छ।

त्यस्तै, दुरसञ्चार सेवा बिस्तार गरी सबै वडाहरुमा सञ्चार र इन्टरनेटको पहुँच बिस्तारका लागि पहल गर्ने, गाउँपालिकालाई पूर्णरुपमा सरसफाइ र मदिरा नियन्त्रित गाउँपालिका घोषणा गर्ने,  राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघ-संस्थाहरुको कार्यक्रम एकद्वार प्रणाली अनुरुप कार्यसञ्चालन गर्ने निर्णय गरेको छ।

चौरजहारी नगरपालिकाले द्वन्द्वपीडितका लागि कुनै पनि सिफारिस शुल्क नलिने

रुकुमको चौरजहारी नगरपालिकामा बसेको पहिलो बैठकले द्वन्द्वपीडित, दलित, एकल महिला र दिर्घरोगीहरुले नगरपालिकाबाट लिने कुनै पनि सिफारिसको शुल्क नलिने निर्णय गरेको छ।

त्यस्तै, वडा कार्यालय स्थापना गर्ने कामलाई तिव्रता दिने र नगरपालिकामा कर्मचारीको पदपुर्तीका लागि ५ सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेको छ।

उपप्रमुख राधा रोकाको अध्यक्षतामा कर्मचारी पदपुर्ती कार्यदलले ५ दिनभित्र तयार पारेको प्रतिवेदनको आधारमा सम्बन्धित निकायमा कर्मचारी माग गर्ने बैठकले निर्णय गरेको छ। बैठकले आवश्यकताका आधारमा यस क्षेत्रका विकासमा प्राथमिकता दिने निर्णय गरेको नगरप्रमुख विशाल शर्माले जानकारी दिए।

मुसीकोट नगरपालिकाले सडक अतिक्रमण गरि बनाइएका घुम्ती हटाउने

रुकुमको मुसीकोट नगरकार्यपालिकाको पहिलो बैठकले स्थानीय तहको निर्वाचनमा उत्साहपुर्ण रुपमा सहभागी भएर सहयोग गर्ने मतदाता, निर्वाचन सम्पन्न गर्ने कर्मचारी, सुरक्षाकर्मी, पत्रकार लगायत सबैलाई धन्यवाद ब्यक्त गरेको छ।

नगरप्रमुख देवीलाल गौतमको अध्यक्षमा बसेको बैठकले एक हप्ताभित्र नगरपालिकाका १४ वटै वडामा वडा कार्यालय स्थापना गर्ने र त्यहींबाट कामकाज सञ्चालन गर्ने निर्णय  गरेको छ।

मुसीकोट नगरपालिका भित्रका सार्वजनिक सम्पति (जग्गा) को पहिचान गरी लगत संकलन गर्ने र त्यसको संरक्षण तथा सदुपयोग गर्ने निर्णय पहिलो बैठकले गरेको छ।

मुसीकोटको खलंगा बजारभित्र सडक अतिक्रमण गरी बनाइएका घुम्ती तत्काल हटाउनुका साथै सडकमा राखिएका निर्माण सामाग्री हटाउन आग्रह गर्ने र बजारमा अस्तव्यस्त रहेको ढल निकासलाई तत्काल व्यवस्थित गर्ने निर्णय पनि नगरकार्यपालिकाले गरेको छ।

आठबिसकोट नगरपालिकाले असार १ गतेबाट कार्य सञ्चालन थाल्ने

रुकुम आठबिसकोट नगरपालिको वडा नं ९ राडी ज्युला स्वास्थ्य चौकीको हलमा नगर सभाको प्रथम अधिवेशन सञ्चालन भयो। नवनिर्वाचित प्रमुख गोर्ख बहादुर केसीको अध्यक्षतामा भएको अधिबवेशनले आठबिसकोट नगरपालिकाको कार्यालय आठबिसकोट नगरपालिका वडा नं ९ राडिज्युलामा राख्ने सर्बसम्मत निर्णय गर्‍यो।

आठबिसकोट नगरपालिकाको १४ वटै वडाहरुमा यहि जेष्ठ मसान्तभित्र वडा कार्यालयहरु स्थापना गरी असार १ गते बाट कार्य सञ्चालन गर्ने निर्णय गरेको छ।

त्रिवेणी गाउँपालिकाको बैठक अझै बसेन

रुकुमको त्रिवेणी गाउँपालिकाको बैठक यो समाचार तयार पार्दासम्म बसेको छैन। केहि दिन भित्रै बैठक बसेर केहि महत्वपुर्ण निर्णयहरु हुने उपाध्यक्ष निर्मला बिष्टले जानकारी दिइन्। त्रिवेणी गाउँपालिकाको बैठकले ६० वर्ष पुगेका सम्पूर्ण नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्ने,  विद्युतिकरणमा जोड दिने, सम्पूर्ण ठाउँमा सडक पुर्‍याउने, पुगेका ठाउँमा स्तारोन्नति गर्ने, गाउँपालिकामा एउटा प्राविधिक क्याम्पस स्थापना गर्ने, एक घर एक धारा निर्माण गर्ने लगायतका विषय सम्बोधन गर्ने तयारी गरिरहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.