|
तस्बिर : अन्नपूर्ण पोस्ट

मुगु : सदरमुकाम गमगढीबाट २१ कोष टाढाको सोरु गाउँपालिका- ३, भिइस्थित एकै घरका आठ दलित बालबालिका आर्थिक अभावकै कारण स्कुल जानबाट वञ्चित भएका छन्।

एक वर्षअगाडि छतबाट खसेर बाबु मुन कुमालको मृत्यु भएपछि आठ सन्तानको पढाइ छुटेको हो। आरन पेसा गरेर परिवार धान्दै आएका मुनको आफ्नै घरको छतबाट खसेर मृत्यु भएको थियो।

उनको मृत्युपछि १७ वर्षीय मनरुप, १५ वर्षीय ज्ञानी, १३ वर्षीया नानी, ११ वर्षीया सभी, ९ वर्षीया रमला, ७ वर्षीय राजेन्द्र, ५ वर्षीय रन्ज र ४ वर्षीय सुर कुमालले पढाइलाई निरन्तरता दिन सकेनन्। आमा र जेठा छोरा मनरुपको कमाइले बिहान-बेलुका खान पनि नपुग्ने भएपछि उनीहरू स्कुल जान छाडेका हुन्।

बाबुको मृत्युपछि ९ कक्षा पढ्दै गरेका मनरुपले पढाइ छाडेर आरन पेसालाई निरन्तरता दिएका छन्। माइलो छोरा ज्ञानी गाउँलेसँगै भारत गएका छन्। 'गाउँलेको फलामका सामग्री बनाएबापत पाउने अन्न र आमाले अरुको काम गरेर ल्याएको अन्नले परिवार धानेका छौं', मनरुपले भने, 'बाबुको मृत्युपछि घरको सबै जिम्मा मेरै काँधमा आएको छ। आरनको कमाइले सात भाइबहिनीलाई कापीकलम किन्नसमेत नपुग्ने भएपछि पढाउन सकिएको छैन।'

गाउँमा खेतबारी नभएकाले अहिले सबै परिवार लेकमा रहेको घरमा बसिरहेका छन्। आफूहरू बसेको स्थानबाट गाउँको विद्यालय पुग्न दुई घन्टा लाग्छ। आर्थिक अभावकै कारण सबै भाइबहिनीलाई पढाउन नसकिए पनि एक-दुई जनालाई मात्रै भए पनि जसोतसो पठाउने चाहना भए पनि नसकिएको मनरुपले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.