|

लहान : स्थानीय तहको निर्वाचनको विरोध गर्दै राष्ट्रिय जनता पार्टी, नेपाल आह्वान गरेको चारदिने मधेस, थरुहट र लिम्बुवान बन्दको पहिलो दिन मंगलबार सिरहा सप्तरीको जनजीवन प्रभावित बनेको छ।

बन्द सफल बनाउन बिहानैदेखि लहान, सिरहा, गोलबजार, मिर्चैया, सुखीपुर लगायतका बजार क्षेत्रमा बन्दकर्ताहरु मायकिङ् गरेर हिँडिरहेका छन् भने सडक क्षेत्रमा जम्मा भएका बन्दकर्ताले पूर्व-पश्चिम सडकअन्तर्गत सप्तरीको कदमाहा चोकमा पूर्वतिर हिँडेका सयौं यात्रुबाहक रात्रि बस र मालबाहक ट्रकहरु रोकेर राखेका छन्। उनीहरुले सडकमै टायर बालेर प्रदर्शन गरिरहेका छन्।

बन्दको कारण पूर्व-पश्चिम सडक र सहायक सडकहरुमा आकस्मिक सेवाका प्रेस, एम्बुलेन्स, कूटनीतिक नियोगका सवारीसाधन, मोटरसाइकल र छिटफुट विद्युतीय रिक्साबाहेक कुनै पनि लामो तथा छोटो दूरीका सवारी साधनहरु चलेका छैनन्। सवारी साधन नचलेर पैदलै हिँड्नु पर्दा चर्को घाममा साधारणले सास्ती व्यहोर्नु परेको छ।

बन्दकर्ताले मंगलबार बिहानैदेखि स्थानीय बजार पसल बन्द गराएका छन् भने सरकारी कार्यालय, शिक्षण संस्था, उद्योग कल कारखानाहरु समेत बन्द छन्। यात्रु बोकेर गन्तव्यतर्फ हिँडेका यात्रुबाहक रात्रि बस बीच बाटोमै रोकिएपछि यात्रुहरु अलपत्र परेका छन्। चर्को घाम र गर्मीमा बीच बाटोमै रोकिनु परेपछि समस्यामा परेको धरान हिँडेका यात्रु रमेश धितालले बताए। 

बन्दको अवज्ञा गरेको भन्दै बन्दकर्ताले मंगलबार बिहान सप्तरीको सुरुङ्गा ३ लक्ष्मीपुर जङ्गलमा ना. ६ ख २५२६ नं. को खाली ट्रक मंगलबार बिहान तोडफोड गरेका छन्। बालुवा लिन जाँदै गरेको ट्रकमा गरिएको तोडफोडले अघिल्लो भागको सबै सिसा फुटेको चालक बीरेन्द्र पासवानले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.