|

इलाम : विभिन्न खाले औषधिहरुलाई युवा पुस्ताले लागुऔषधको रुपमा प्रयोग गर्न थालेपछि औषधी व्यवस्था विभाग पूर्वाञ्चल क्षेत्रीय कार्यालयले औषधी बिक्रीमा कडाइ गर्न थालेको छ।  पूर्वाञ्चल क्षेत्रीय कार्यालयका प्रमुख शम्भु शाहले औषधि व्‍वसायीहरुलाई विनापुर्जा औषधि खरिद बिक्री नगर्न आग्रह पनि गरेका छन्।

ट्रामाडोल डाइसाइकलोमाइन र डस्ट्रोमेथ्रोपेन जस्ता औषधि युवा पुस्ताले लागुपदार्थका रुपमा सेवन गर्ने क्रम बढदै गएकाले यी औषधी खरिद बिक्रीमा कडाइ गर्ने अभियानस्वरुप व्यवसायीहरुलाई सचेत गराइएको उनले बताए।

उनले भने, ‘विशेष गरेर दु:खाइ कम गर्न प्रयोग गरिने ट्रामाडोललाई युवाहरुले लागुऔषधको रुपमा प्रयोग गर्ने गरेकाले यसको बिक्री वितरणमा कडाइ गरिएको छ।’ लागुऔषधका रुपमा सेवन गर्नेहरुको हातमा उक्त औषधी पुर्‍याउने नै व्‍यवसायी भएकाले यसको नियन्त्रणमा व्‍यवस्था विभाग लागिपरेको उनको भनाइ छ।

गत पुष १३ गते पूर्वाञ्चलका औषधी व्यवसायीहरुमा औषधी जथाभावी बिक्री गरे कारबाही गर्ने बताएपछि ट्रामाडोलको अनाधिकृत बिक्री ८० प्रतिशतले घटेको शाहले बताए। नेपाल औषधि व्‍यवसायी संघ मेची अञ्चल शाखा दमकको आयोजनामा भएको सचेतना कार्यक्रममा इलाम, पाँचथर र ताप्लेजुङका २९ जना औषधी व्यवसायीहरुको सहभागिता रहेको थियो।मेची अञ्चलमा ६ सय २२ औषधि व्यवसाय दर्ता भएकोमा इलाममा ३४ , पाँचथरमा १८ र ताप्लेजुङमा ६ वटा व्यवसाय सञ्चालनमा रहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.