भोट माग्न आउने नेतालाई गाउँलेको प्रश्न, हाम्रो पुर्जा कहिले बन्छ?

|

दमक : फिपरानी लिम्बू (६०) पाँचथरको मौवाबाट आएर झापाको कमलगाउँपालिका ५ स्थित सिम्लेमा बसेको २४ वर्ष भयो। तर अहिलेसम्म उनले भोगचलन गरेको जग्गाको जग्गाधनी प्रमाणको पुर्जा पाएकी छैनन्। लामो समयसम्म पनि ऐलानी जग्गामा नै बस्नुपर्ने बाध्यता कहिले अन्त्य होला भन्ने उनी चिन्तामा परेकी छन्। उनी मात्र होइन सिम्ले क्षेत्रमा बसोवास गर्ने करिब २ सय घरधुरीका स्थानीयहरु जग्गाधनी प्रमाण पुर्जाविहीन जग्गामा बसोवास तथा खेती गर्दै आएका छन्।

पुर्जा उपलब्ध गराइदिन्छौं भन्दै भोट मागे हराए

उनीहरुलाई जग्गाधनी प्रमाण पुर्जा उपलब्ध गराउँछु भन्दै धेरैले भोट माग्दै हराउँदै गरेको गाउँलेको गुनासो छ। पुर्जा दिलाईदिन्छु भन्दै भोट माग्न आउनेहरु अहिले काहाँ पुगे उनीहरुलाई थाहा नै छैन। यहाँको समस्या जस्ताको त्यस्तै छ। अहिले पनि रतुवा खोलामा पुल नभएका कारण बर्खाको समयमा आफ्नै गाउँपालिकाको कार्यलयसम्म पुग्न मुस्किल छ।

फिपरानी भन्छिन्, ‘बर्खाको समयमा बिरामी भइयो भने त घरमै मरिन्छ होला, रतुवा खोलाको पीडामा पसेको पनि २४ वर्ष भयो, अब भने रतुवा खोलामा पुल बन्दै छ, केही आशा लागेको छ।’ झापामा नै भएर पनि आफूहरु अर्को जिल्लाको जस्तो भएर बस्नु परेको स्थानीयहरु बताउँछन्।

झापाका हौं कि इलामका जस्तो लाग्छ

स्थानीय राजकुमार आङदेम्बे भन्छन्, ‘हामी झापाको कमल गाउँपालिकाका नै हौं तर हामीलाई इलामको हौं कि जस्तो लाग्छ, हाम्रो गाउँपालिकासम्म पुग्नभन्दा इलामको चुलाचुलीको गाउँपालिकामा पुग्न सहज पनि छ, हाम्रो क्षेत्रको विकासको पूर्वधार पनि हाम्रै गाउँपालिकाको अरु क्षेत्रमा जस्तो छैन।’

समस्या समाधान गरिदिनेलाई भोट

यसपटकको स्थानीय निर्वाचनमा आफूहरुको यो सबै समस्या समाधान गर्ने व्यक्तिलाई मत दिने यहाँका स्थानीय बताउँछन्। आङदेम्बे भन्छन्, ‘हामी धेरै समस्यामा छौं, धेरै पहिलादेखि यहाँ बस्दा पनि धनीपुर्जा पाएका छैनौं हाम्रै सिमाना इलामको चुलाचुलीतर्फ हुनेहरुको हातमा जग्गाको धनीपुर्जा परिसक्यो हाम्रो हातमा अहिलेसम्म छैन, उनीहरुले ८ वर्षभन्दा पहिला नै जग्गा नापी गरेर धनीपुर्जा पाए।’

आफूहरुले पटक-पटक जग्गाधनी प्रमाण पुर्जाका लागि पहल गर्दा समेत नपाएको उनी गुनासो गर्छन्। भन्छन्,‘ धेरै पटक चन्द्रगढी गइयो, तर वन क्षेत्रको जग्गा भन्दै टार्छन्, हामीलाई धनीपुर्जा त दिने कुरै गर्दैनन्।’

तत्काल जग्गाधनी प्रमाण पुर्जा दिन सकिँदैन

लामो समयदेखि सिम्लेमा गाउँ नै बनाएर मानिसहरु बसोवास गरे पनि अहिलेको अवस्थामा जग्गाधनी प्रमाण पुर्जा दिन नसकिने कमल गाउँपालिकाका कार्यकारी अधिकृत राजकुमार शाक्यले बताए। उनले सुरुका समयमा त्यस स्थानलाई वन क्षेत्र भनेर जग्गाधनी प्रमाण पत्र नदिइएको बताए।

उनले भने,‘पहिला त्यस क्षेत्रलाई वन क्षेत्र भनेर जग्गाधनी प्रमाण पुर्जा दिइएको थिएन, पछि सुकुम्बासी आयोग बनेपछि त्यस क्षेत्रलाई अवाधि क्षेत्र भनेर धनी प्रमाण पुर्जा बाढ्ने भन्यो तर आयोग खारेज भएपछि त्यो पनि हुन सकेन, अहिले यस विषयमा हामीले केही भन्न सक्ने अवस्था छैन, अब हुने स्थानीय तहको निर्वाचनपछि जनप्रतिनिधिहरुले सिफारीस गरेमा केही हुन सक्ला, दलहरुले पनि आफ्नो घोषणापत्रमा सुकुमवासी समस्या समाधान गर्ने भनेर उल्लेख गरेका छन्।’

त्यस क्षेत्रका जनताहरुले पहिला त गाविसको कार्यलयसम्म पनि आइनपुग्ने गरेको उनले बताए। उनले भने, ‘ पहिला त त्यहाँ जनताहरु गाविसको कार्यालयसम्म पनि आइपुग्दैनथे, जग्गा किनबेच गर्दा समेत घरायसी कागजका आधारमा किनबेच गर्थे, विस्तारै विकासका पूर्वधार पुर्याएपछि गाविससम्म आउन थालेका हुन्, अहिले रतुवा खोलामा पुल बन्दैछ, अब चाहि त्यहाँ पनि विकास हुन्छ भन्ने अपेक्षा छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.