|

प्यूठानः मध्यपहाडी बृहत र मकै उत्पादन कार्यक्रमअन्तर्गत जिल्ला कृषि विकास कार्यालय प्यूठानले ७५ प्रतिशत अनुदानमा उन्नत स्तरको मकैको बिउ वितरण गरेको छ। 

विगत तीन वर्षदेखि जिल्लामा सञ्चालनमा रहेको यस आयोजनाअन्तर्गत यो वर्ष १० लाख रुपैयाँ बराबरको मकैको बिउ कृषकहरूलाई उपलब्ध गराइएको जानकारी दिइएको छ।

जिल्लाका साविकका १३ गाविसमा १७ दशमलव ५८ मेट्रिक टन मकैको उन्नत बिउ वितरण गरिएको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार कृषकलाइ कृषि उत्पादनमा सहयोग गर्ने र उत्पादन वृद्धि गरी मकैबालीमा जिल्लालाई आत्मनिर्भर बनाउन बिउ वितरण गरिएको हो। 

बढी उत्पादन दिने मनकामना– ३ र देउराली जातको मकैको बिउ वितरण गरिएको कृषि विकास कार्यालय प्युठानका योजना विकास अधिकृत अमर विष्टले बताए।

कार्यालयले बिउ र मेसिनमा अनुदान दिन थालेपछि किसानले मकै खेतीमा रुचि देखाउन थालेको उनको भनाइ छ। यस वर्ष छनोटमा परेका गाविसमा ४० हजार रुपैयाँको मकै छोडाउने एक थान विद्युतीय मेसिन, ५५ हजार रुपैयाँ मूल्यका २० वटा हाते मेसिन र एक लाख १० हजार रुपैयाँको अनुदानमा एक सय १० थान त्रिपाल कृषकहरूले पाएका विष्टले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.