|

काठमाडौं : आज विश्व रक्तदाता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। रक्तदानको महत्त्वबारे जनचेतना फैलाउन र मानव जीवन बचाउने रक्तदाताहरुको योगदानप्रति धन्यवाद व्यक्त गर्न हरेक वर्ष जुन १४ तारिखका दिन यो दिवस मनाउन गरिन्छ। मानव रगत समूह ब्लड ग्रुप पत्ता लगाउने वैज्ञानिक कार्ल ल्याण्डस्टिनरको जन्म दिनको अवसर पारेर २००४ देखि विश्व रक्तदाता दिवस मनाउन थालिएको हो।

रगत शरीरमा रहेको रातो तरल पदार्थ हो। यो प्लाज्मा र रक्त कोषहरुको समिश्रणबाट बनेको हुन्छ। यसले शरीरका कोषहरुमा ग्लुकोज,एमिनो एसिड लगायतका पोषक तत्वहरुसँगै अक्सिजन लगायतका आवश्यक पदार्थहरु पुर्‍याउने काम गर्दछ भने, कार्वनडाइक्साइड, यूरिया, ल्याक्टिक एसिडजस्ता काम नलाग्ने तत्वहरुलाई बाहिर निकाल्न सहयोगसमेत गर्छ।

मानव शरीरमा औसत ५.५ लिटर रगत हुन्छ। यो मानिसको कुल वजनको करिब ७ प्रतिशत हो। रगतमा प्लाज्मा ५४ दशमलव ३ प्रतिशत, रातो रक्तकोष ४५ प्रतिशत र सेतो रक्तकोष ०.७ प्रतिशत रहेको हुन्छ।

मानिस जीवित रहनकालागि रगत नभइ नहुने तरल पदार्थका हो। सामान्य अवस्थाको एक स्वस्थ मानिसले हरेक तीन महिनामा रक्तदान गर्दा शारीरमा कुनै हानी नोक्सान नहुने चिकित्सकहरुको भनाइ छ। सामान्यतया १८ देखि ६५ वर्ष उमेरसम्मका स्वस्थ व्यक्तिको रगत बिरामीका लागि उपयोगी हुने चिकित्सकहरु बताउछन्।

रक्तदानबाट मृत्युको मुखमा पुग्न लागेका बिरामीहरुको ज्यान बचाउन मद्दत पुग्दछ। त्यसैले पनि रक्तदानलाई ‘जीवन दान’ भन्ने गरिन्छ। एउटा स्वस्थ मानिसले ९० दिनको अत्तरालमा रक्तदान गर्न सक्छन्, तर रक्तदान गरेमा शरीर कमजोर हुन्छ भन्ने भ्रम रहेको पाइन्छ।

रक्तदान गर्ने व्यक्तिको तौल ४५ केजीभन्दा माथि हुनुपर्छ। त्यसैगरी रक्तदान गर्ने मानिसको हेमोग्लोविन १२ ग्रामभन्दा माथी हुनुपर्दछ। यतिमात्र नभएर रक्तदान गर्ने व्यक्तिमा कुनै किसिमको दीर्घरोग हुनुहुँदैन।

महिलाहरुले भने महिनावारी भएको अवस्थामा, बच्चा पेटमा भएको अवस्थामा र बच्चाले दुध खाने अवस्थामा बाहेक अन्य समयमा रक्तदान गर्न सक्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.