|

रुकुम : रुकुम जिल्लाका विभिन्न स्थानमा लगाइएको प्याज खेतीमा रोगको प्रकोप फैलिएपछि किसानहरु चिन्तित बन्न थालेका छन्। वैशाख दोस्रो हप्ता परेको असिना पानीपछि यस्तो समस्या देखिएको हो। मौसम प्रतिकूल नहुनु र पटक-पटक एकै स्थानमा लामो समयसम्म प्याज खेती गर्नुले यस वर्ष रोगको प्रकोप फैलिएको हुनसक्ने स्थानीय बताउँछन्।

 चौरजहारी नगरपालिकाको खोलागाउँ, कोटजहारी र नुवाकोटमा प्रकोप फैलिएको छ। पपलब्लज रोग र प्याजको थुंगा काट्ने पुतलीको लार्भाले प्याजमा क्षति पुर्‍याएको जिल्ला कृषि विकास कार्यालय रुकुम प्राविधिक लोकेन्द्र ओलीले जानकारी दिए। उनका अनुसार वैशाख दोस्रो हप्ता परेको असिना पानी पछि यस्तो समस्या देखिएको छ। जिल्लाका तीन हेक्टर जमिनमा ६० जना कृर्षकहरुले व्यावसायिक रुपमा प्याज खेती गरेको बताइएको छ।

रोगका कारण यसवर्ष  बिउ उत्पादनमा ठूलो गिरावट आउन सक्ने स्थानीयको अनुमान छ। असार साउनमा बिउ भित्र्याउने बेला भए पनि रोगको प्रकोप फैलँदा बिउको मूल्य समेत उठ्ने गाह्रो भएको रुकुम खोलागाउँका डण्डबहादुर ओलीले बताए।

रुकुमका कृषहरुले प्याज तथा तरकारी बिउ बिक्री गरेर राम्रो आम्दानी गर्दै आएका छन्। ‘यस वर्ष सुरुमा बोट राम्रो थियो’ नुवाकोटका मेकबहादुर केसीले भने, ‘बिउ छिप्पिन लाग्दा रोग लाग्यो।’ लगानीसमेत उठ्न मुस्किल भएको उनले दुखेसो गरे। हाल जिल्ला कृषि  विकास कार्यालयले प्याज खेतीलाई रोगबाट बचाउन २५ जना किसानलाई डाएथोमर्क विषादी सहयोग गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.