|
फोटो : रासस

काठमाडौं : गृहमन्त्री जनार्दन शर्माले जथाभावी बाटो काट्ने पैदलयात्रीसँग जरिवाना रकम नलिन ट्राफिक प्रहरीलाई निर्देशन दिएका छन्। गृहमन्त्रालयमा मंगलबार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुलाई निर्देशन दिँदै उनले पैदलयात्रीसँग दुई सय रुपैयाँ जरिवाना नलिन आग्रह गरेको हो।  

'२०० जरिवाना गरेको भरमा जहाँसुकैबाट बाटो काट्ने प्रवृत्तिको अन्त्य हुन सक्दैन। जरिवाना लिने कार्य तत्काल हटाएर जनचेतना जगाउनेतर्फ लाग्नुस्' उनले भने 'बरु आधा घन्टा जथाभावी बाटो काट्नेलाई राखेर शिक्षा दिनुस्। जरिवानाले कसैको पनि हित गर्दैन।' 

ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकामा जेब्रा क्रसिङ बाहेक अन्य ठाउँबाट सडक पार गर्ने पैदलयात्रीसँग जेठ १५ गते देखि जरिवाना लिँदै आएको थियो। मन्त्री शर्माले काठमाडौं उपत्यकामा साझाजस्ता ठूला सवारी साधन चलाउनुपर्ने र जोर बिजोर प्रणाली लागू गरेर ट्राफिक व्यवस्थापन गर्नुपर्नेमा जोड दिए।

उनले सडक किनारामा थुपारिएका निर्माण सामग्री तत्काल हटाउन र मेलम्ची खानेपानी आयोजनाले भत्काएका सडक तत्काल पुनःनिर्माण गरी धुलोरहित बनाउन कुन निकायले के गर्नुपर्ने हो तत्काल देखिने गरी कार्यसम्पादन गर्नसमेत निर्देशन दिए।

प्रहरी प्रमुखले सुनाए समस्या

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक प्रकाश अर्यालले काठमाडौंका २५० वटा मुख्य चोक ट्राफिक जामको चपेटामा पर्ने गरेको बताए। केशरमहल, हात्तीसार, कलङ्की, कालीमाटी, कोटेश्वर, सातदोबाटो, महाराजगन्जजस्ता स्थानमा हुने चर्को जामका कारण यात्रुले सास्ती भोग्न परेको छ। 

धुवाँ, धुलो, पानी र घाम व्यहोर्नुपर्ने ट्राफिक प्रहरीलाई पर्याप्त अधिकार नदिइएका कारण पनि ट्राफिक व्यवस्थापनमा समस्या हुने गरेको उनले गुनासो गरे।
यातायात व्यवस्था विभाग नियमनकारी निकायका रुपमा रहेको छ। व्यस्त रहने अधिकांश ठाउँमा जेब्रा क्रस छैनन्, सडकमा ट्राफिक बत्ती पनि नभएको अर्यालले बताए।

यस्तै कानुनतः अन्त्य भएको भनिएको सिण्डिकेट प्रणाली व्यावहारिक रुपमा अन्त्य हुन नसकेको उनले बताए। 'राज्यले नै अनुदान दिएर हुन्छ वा कुनै अन्य उपाय अवलम्बन गरेर हुन्छ सहरी क्षेत्रमा तत्काल ठूला सवारी साधन चलाएर निजी सवारी साधन प्रयोग गर्ने बानीमा सुधार गर्नु जरुरी छ' अर्यालले बताए।   

ट्राफिक प्रहरी प्रमुख मिङ्मार लामाले पनि साना सवारी साधनमा भएको वृद्धिका कारण समस्या बढेको भए पनि सुधारका अनेकन प्रयास गरिएको बताए। 

तीन अर्ब लगानी आवश्यक 

काठमाडौंको ट्राफिक व्यवस्थापनका लागि महत्वपूर्ण मानिएको ट्राफिक बत्ती राख्न रु तीन अर्ब बराबरको लगानी जरुरी रहेको छ। प्रहरी महानिरीक्षक अर्यालले विगतमा राखिएका ट्राफिक बत्ती जीर्ण भएको र काम गर्न नसक्ने अवस्थामा पुगेका कारण सरकारले रु तीन अर्ब लगानी गरेर सुधार गर्नुपर्ने बताए।
गृहसचिव लोकदर्शन रेग्मीले ठूला सवारी साधनको व्यवस्था तथा तत्काल सुधार गर्न सकिने विषयमा ध्यान केन्द्रित गर्न प्रहरीलाई आग्रह गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.