|

काठमाडौँ: असार १४ गते हुने स्थानीय तह दोस्रो चरणको निर्वाचनका कारण समय अनुकूल नहुने भन्दै नेपाल पत्रकार महासंघको आसन्न महाधिवेशनको मिति सार्न पत्रकारहरूले माग गरेका छन्।

असार १४ गते स्थानीय तहको निर्वाचन भएपछि मतगणना र चुनावी परिणामको रिपोर्टिङमा पत्रकारहरू सहभागी हुनुपर्ने भएकोले असार २१ र २२ गते तय भएको महासंघको महाधिवेशनको मिति कम्तिमा एक साता पर सार्न माग गरिएको छ। १, २, ५ र ७ नम्वर प्रदेशको निर्वाचन र त्यसपछि हुने लामो मतगणना प्रक्रियाका कारण पत्रकारहरू महाधिवेशनमा सहभागी हुन नपाउने अवस्था आउने भन्दै रामकृष्ण भण्डारीको अगुवाइमा महाधिवेशनको मिति सार्न महासंघलाई ध्यानाकर्षण पत्रसमेत बुझाइएको छ।

ध्यानाकर्षण पत्रमा असार २८ गतेपछि मात्रै महाधिवेशन गर्न पनि माग गरिएको छ। केन्द्रीय सभासदसमेत रहेका पत्रकार भण्डारीले महाधिवेशनको मिति सार्ने विषयमा महासंघसँग छलफल र समन्वय गर्न प्रेस चौतारी नेपाल, प्रेस युनियन नेपाल, प्रेस सेन्टर नेपाल, क्रान्तिकारी पत्रकार महासंघ, क्रान्तिकारी पत्रकार संगठन, प्रेस सोसाइटी नेपाल, प्रगतिशील पत्रकार संघ, संचारिका समूह, फोनिज नेपाल, मधेसी पत्रकार समाजलगायतका पत्रकारहरूका संगठनहरूलाई ध्यानाकर्षण पत्र बुझाएका छन्।

नेपाल पत्रकार महांसघले आगामी असार २१ र २२ गते २५औँ महाधिवेशन गर्ने निर्णयसहित सम्बन्धित शाखाहरूलाई पत्राचार गरेपछि उक्त समयमा श्रमजीवी र सक्रिय पत्रकार तथा केन्द्रीय सभासदहरू स्थानीय निर्वाचनको रिपोर्टिङमा खटिनुपर्ने भएको भन्दै महासंघको ध्यानाकर्षण गराइएको हो।

महासंघको महाधिवेशन नेपाली पत्रकारहरूको सबैभन्दा ठूलो उत्सव भएकाले नीति निर्माण तथा नेतृत्व चयन गर्ने अवसर र अधिकारबाट पत्रकारहरूलाई बन्चित नगर्न र सबै पार्षदहरू सहभागी हुन पाउने र सरकारले तोकेको स्थानीय निर्वाचनको प्रक्रिया पूरा पनि हुने गरी समय तालिका मिलाएर महाधिवेशन गर्न पनि आग्रह गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.