|

काठमाडौं : धेरै मानिसमा रक्तदान गरे शरीर कमजोर हुन्छ भन्ने भ्रम रहेको पाइन्छ। तर स्वस्थ मानिसले ९० दिनको अन्तरालमा रक्तदान गरेर धेरै मानिसलाई मृत्युको मुखबाट जोगाउन सक्छ।  

रक्तदानसम्बन्धी अनेक भ्रम रहँदा एक सय पटकभन्दा बढी रक्तदान गरेर रेकर्ड राख्ने मानिस पनि हाम्रै समाजमा छन्। त्यस्तै एक व्यक्ति हुन्, प्रेमसागर कर्माचार्य।

२०३६ सालमा  सुरु गरेका कर्माचार्यले अहिलेसम्म एक सय ५० पटक रक्तदान गरिसकेका छन्। उनले १६ वर्षको उमेरमा पहिलो पटक हाल ट्रमा सेन्टरसँगै रहेको रक्तसञ्चार केन्द्रमा पहिलो पटक रक्तदान गरेका थिए। कर्माचार्यले पछिल्लो समय रक्तदानसम्बन्धी जनचेतना अभिवृद्धि गर्न भन्दै उनले विभिन्न जिल्लामा पुगेर रगत दिने गरेका छन्। तीन महिना पुग्नासाथ एक दिन ढिलो नगरी रक्तदान गर्ने कर्माचार्यलाई सिंगो 'ब्लड बैक'को उपमा दिइएको छ।

हुन पनि रगत नपाएर छटपटाएका बिरामीका लागि कर्माचार्य भगवान् सावित भएका छन्। 'रगत चाहियो' भन्दै भौ‌तारिएका अाफूकहाँ अाइपुगेका व्यक्तिलाई उनले कहिल्यै रित्तो फर्काएका छैनन्। रातदिन, घामपानी केही नभनी उनी आफैं कुदेर रगतको व्यवस्थापन गरिहाल्छन्। ‘यसो गर्दा मलाई आनन्द आउँछ', उनले भने, 'यसमा मेरो अरू स्वार्थ छैन।'

रक्तदान गरेरै धेरैलाई मृत्युको मुखबाट जोगाएका कर्माचार्य आफूले रगत दिएका व्यक्तिसँग परिचय गर्न खोज्दैनन्। आफूले रगत दिएको व्यक्ति 'को थियो' वा 'कस्तो मान्छे थियो' भनेर हेर्दैनन्।

एक सय ५० पटकसम्म रगत दिइसकेका कर्मचार्यले अहिलेसम्म आफ्नो रगत 'कस्तो व्यक्तिलाई दिइँदैछ' भनेर एक पटक मात्र चासो राखेका थिए।

एक रात रक्तसञ्चार केन्द्रबाट फोन अायो, 'एक महिलालाई 'फ्रेस' रगत चाहियो, तपाईँको ग्रुप मिल्छ।'  हतारिँदै राति ११ बजे रगत दिन पुगे। रगत दिएर फर्किने बेलामा  बिरामीले हेर्ने इच्छा राखेको थाहा पाएपछि मात्र उनले आफूले रगत दिएकी महिलाको अनुहार हेरे।

रक्तदान गर्न जाने सिलसिलामा उनले रमाइला सन्दर्भ भोगेका छन्। एक पटक दोलखाको चरिकोटमा रक्तदान गरेर आउँदै गर्दा मुढेमा एउटी महिला भेटे। उनले कहाँबाट आएको भनेर सोधिन्। कर्माचार्यले रक्तदान गरेर आएको भनेर बताएपछि महिलाले तपाईंँ ‘रगत बेच्नुहुन्छ हो?’ भन्दै प्रश्न गरिन्।

उनले 'होइन, समाज सेवाको लागि गरेको' भने रे! उनको कुरा सुनेर ती महिलाले भनिछन्, 'म बिरामी हुँदा छिमेकीले रगत दिएकी थिइन्। अहिले पनि बेलाबेलामा मैले दिएको रगतले बाँचेकी छेस् भन्छिन्।'

ती महिलाको कुरा  सुनेपछि कर्माचार्यले आफूले दिएको रगत कसलाई हो, कस्तो बिरामीलाई हो भनेर कहिल्यै हेरेनन्।

आजसम्म बिरामी परेका छैनन् कर्माचार्य

कर्माचार्य अहिलेसम्म कमजोर र बिरामी नभएको बताउँछन्। बरु झन् स्वस्थ भएको अनुभव उनको छ। रक्तदान गर्ने व्यक्तिले स्वस्थ जीवनशैली अपनाउनुपर्ने चुरोट, रक्सीबाट टाढै बस्नुपर्ने हुँदा उनी कमजोर नभई, बलियो भएको अनुभव गरेका छन्।

उनी भन्छन्, 'धेरैलाई रगत दिएपछि कमजोर भइन्छ भन्ने भ्रम छ तर म भने बलियो भएको अनुभव गर्छु। किनभने नियमित रगत दिने व्यक्ति दुर्व्यसनतिर लाग्दैन, नशालु पदार्थको सेवनबाट टाढै बस्नुपर्छ, खानपानलाई समेत विशेष ध्यान दिनुपर्ने हुँदा झन् स्वस्थ भएको छु।'

११० पटक रक्तदान गरिसके ७० वर्षीय थपलियाले

चितवनका ध्रुव थपलियाले अहिलेसम्म एक सय १० पटक रक्तदान गरिसकेका छन्।  ७० वर्ष पुगेका थपलियाले २०४१ सालमा पहिलो पटक रक्तदान गरेका थिए। थपलिया रक्तदान गरेर कमजोर भइन्छ भन्ने  बुझाइ अरूमा रहेको पाएको बताउँछन्। तर आफू अहिलेसम्म बिरामी नपरेको उनको भनाइ छ।

स्वयंसेवी रक्तदाता समूह चितवनका अध्यक्षसमेत रहेका थपलिया आफूले सामाजिक भावनाले रक्तदान गर्दै आएको बताउँछन्। त्यसैले कसैलाई 'इमर्जेन्सी' परेका बेला 'रगत दिनुपर्‍यो नभए रक्तदान गर्ने दाता खोजिदिनुपर्‍यो' भन्दै उनलाई फोन गर्छन्।

यस्तो बेलामा उनी मिल्ने भए आफैं रगत दिन्छन्। नभए दाता खोजिदिन्छन्। 'मैले दिएको रगतले अर्को कसैको ज्यान बच्छ भने त्यो भन्दा ठूलो पुण्य के हुन्छ', उनी भन्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.