तालिम लिनेमा महिलाबाट सानुमाया मात्र

|

  • पेमा लामा-

काभ्रे : काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका-९ सुन्थानकी सानुमाया श्रेष्ठले ज्यामी काम गरेको ६ वर्ष भयो। श्रेष्ठले घर परिवार चलाउनको लागि आफ्नो पेसालाई निर्माणसम्बन्धी कै क्षेत्रलाई रोजेर काम गर्दै आएकी हुन्। सुरु-सुरुमा जीवन गुजाराकै लागि त्यस क्षेत्रमा लागेको बताए पनि पछिल्ला समयमा उनले त्यही पेसा आफ्नो घरपरिवार धान्ने र निरन्तर लागिरहने स्थायी पेसाका रुपमा अँगालेको बताउँछिन्।

नगरपालिकाले भूकम्प प्रतिरोधी भवन निर्माणका लागि मुख्य डकर्मीलाई तालिम कार्यक्रममा आफू पनि सहभागी हुने अवसर पाएको उनी बताउँछिन्। पहिला गरेरै र देखेरै मात्र गर्दै आइरहेकी थिए, अब त विधि र प्रक्रिया नै सिक्ने मौका मिल्यो’ श्रेष्ठले भनिन्, यो अवसर पाउनु पनि मेरो लागि धेरै खुसीको कुरा हो।’

उनले सात दिनसम्मको तालिममा सफलतापूर्वक सहभागिता जनाइन्। अहिले उनी आफैंले अन्य डकर्मीहरुलाई भूकम्प प्रतिरोधी घर निर्माण गर्न सिकाउने ज्ञान हासिल गरेको बताउँछिन्।

उक्त तालिम लिनेमा ३६ जनामध्ये पुरुष डकर्मीहरु थिए। सानुमाया आफैं पनि डकर्मी काम गर्दै आएकोले राम्रो सहभागिता देखाएको र पहिलादेखिको अनुभव पनि भएकाले राम्रै ज्ञान हासिल गरेको जिल्ला आयोजना कार्यान्वयन एकाइ काभ्रेको उप–प्रमुख अशोक अधिकारीले बताए।

श्रीमानको उपचार र छोराछोरीको पढाखर्च यही पेसाबाट

‘पहिला त काम गर्दागर्दै जस्तो सिकियो त्यस्तै गरियो, अहिले तालिम लिएपछि थाहा भयो, अब राम्रोसँग काम गर्न सक्छु।’ श्रेष्ठले भनिन्। विगत ६ वर्ष अगाडिदेखि श्रेष्ठको घर धान्ने आधार त्यही डकर्मी काम बनेको छ। ‘मेरो घर खर्च चलाउने अरु उपाय नै थिएन, गाउँकै ठेकेदार प्रभुराम श्रेष्ठले काम गरौं भनेर लगाउनभयो,  उहाँसँगै घर नर्मिाणको काममा  निरन्तर काम गर्दै आइरहेकी छु।’ श्रेष्ठले भनिन्, अहिले घर चलाउनेदेखि श्रीमानको उपचार र छोराछोरीको पढाइखर्च यही पेसाले धानिरहेकी छु।’

श्रीमान् बिरामी दिन बिराएर अस्पताल

पछिल्लो सयमा घरको जिम्मेवार पनि बढ्दै जानु र अर्कोतर्फ आफ्नो दुःख सुखको सहयात्री श्रीमान पनि बिरामीले थलिनुले उनीमाथि झन् थप जिम्मेवारी बढेको छ। उनी भन्छिन् ‘मेरो श्रीमान्को नाम शिवजी श्रेष्ठ हो, उहाँ बिरामी भएको वर्ष बितिसक्यो, अस्पतालमा उपचार गरिरहेको छु। त्यसैले अहिले मै हुँ घर धान्ने।’ घरको सबै काम गर्नेदेखि लिएर बाहिर काम गरेर घर चलाउने गर्दै आएको उनी बताउँछिन्।

श्रीमानलाई क्यान्सर भएको शंका

उनको श्रीमान् शिवजी श्रेष्ठको सुरुमा छातीमा सानो फोका उठ्यो, पोहोर काटेर फालेको, फाले पनि पछि बढ्दै बढ्दै आयो, त्यसको उपचार गरिरहेको छु। ‘अहिले पनि दिन विराएर हस्पिटल लानुपर्छ घाउ सफा गर्न, चेकअप गर्न हसिपटल लगिरहनुपर्छ’ सानुमायाले भनिन्, ‘त्यसको लागि झन् पैसा जोहो गरिरहनु परेको छ, अहिले पनि भक्तपुर क्यान्सर हस्पिटलमा लगेर उपचार गराइरहेकी छु।’

छिटो उचार गराउन डाक्टरलाई घुस

हामी जस्तो सामान्य मान्छे अस्पताल जाँदा पनि भन्नेबित्तिकै उपचार नपाउने पालो नै नपाउने रहेछ। ‘दिनभरि लाइन बस्दा पनि पालो पाउनै गाह्रो हुँदो रहेछ।’ उनले अस्पताल लाँदाको अनुभव सुनाउँदै भनिन्, ‘उहाँलाई उपचार गर्नको लागि समयमा डाक्टरसँग भेट्न र बिरामीको अवस्थाबारे जान्न केही सीप नलागेपछि पैसा ख्वाएरै उपचार गर्नुपर्‍यो।’
 ‘पैसा बुझाएपछि छिट्टै र भन्ने बेलामा चेकजाँच पनि गर्न आउने रहेछ डाक्टरहरु’ उनले भनिन्, अहिले पनि त्यसरी नै अलि बढी पैसा तिरेपछि हेर्ने, जाँच गर्ने र परामर्शहरु समय–समयमा दिइरहुनभएको छ डाक्टरहरुले।’

पीडा सुनाउँदै सानुमायाले भनिन्। ‘पैसा खुवाएर जँचाएपछि अहिले राम्रोसँग चेकअप गरिरहेको छ।’ उनले सुनाइन्, ‘जानेबित्तिकै चेकअप गर्नुहुन्छ।’ अहिले उहाँको भक्तपुर क्यान्सर हस्पिटलमा उपचार गराउँदै आइरहेकी छु। घरमा छोरी दुई जना र छोरा एक जना छन्। जेठी छोरी स्नातक पढ्दै छिन्, माइली छोरी प्लस टु मा र छोरा कक्षा १० मा बढ्दै छन्। मेरो यही कामबाट छोरा/छोरी पढाउने र घरमा हेर्नेदेखि यताउता गर्नुपर्ने सबै खर्च त्यही पेसाबाट आउनेले धानिरहेकी छु।

काममा सधैं व्यस्त

यही पेसाबाट नै सबै परिवार पाल्नुपर्ने भएकाले सानुमाया सधैभरि काममा व्यस्तै हुने गरेको बताउँछिन्। ‘म सधैंजसो काममा नै हुन्छु, त्यस्तो अपर्झट घरको काम पर्‍यो, घर हेर्नुपर्‍यो भने मात्रै घर बस्छु, नत्र सधैं यही काममा जान्छु।’ उनले थपिन्, ‘अहिले श्रीमानलाई केही हदसम्म राम्रो भएको हुनाले म त्यही काममा व्यस्त हुन्छु।’

ज्यालामा विभेद भएको लाग्दैन

घर तथा भवन निर्माणको क्षेत्रमा काम गर्ने ज्यामी र डकर्मीहरुमा महिला पुरुषमा ज्यालामा विभेद गरेको कुरा धेरै सुन्नमा आएका छन्। तर उनले भने ६ वर्षसम्म सँगै काम गर्दा ज्यालामा विभेद भएको महसुस नभएको बताइन्। ‘ज्यालामा सँगै काम गर्नेहरुमा त्यस्तो विभेद भएको जस्तो लाग्दैन मलाई’ उनले

भनिन्,  ‘लेबर काम गिट्टी बोक्ने, मसला बनाउने, बालुवा बोक्नेहरुलाई त्यही अनुसारको ज्याला हुन्छ, उनीहरुलाई दिनको ४/५ सय दिने गर्नुभएको छ, तर म चाहिँ गाह्रो पनि लाउँछु, रिङ बनाउँछु, त्यसैले मलाई अलि बढी नै दिनुहुन्छ।’ उनले खुसी व्यक्त गर्दै भनिन्।

अब लिडर आफैं बन्छु

काम गर्दै आएको पेसासँग सम्बन्धित थप ज्ञान लिन पाएकोमा उनी खुसी व्यक्त गर्छिन्, ‘म काम गरिरहेकै क्षेत्रको भएकाले अहिले भूकम्प प्रतिरोधी भवन निर्माणको तालिममा सहभागी हुन पाएँ। यो मेरो लागि खुसी र अवसरको पनि विषय हो। अब म आफैं लिडर बन्न सक्छु भन्ने लागेको छ।’ खुसी हुँदै सानुमायाले भनिन् ‘त्यही हिम्मत लिएर नै काम गर्दै आएँ, झन् अहिले त तालिमसमेत लिन पाइयो, यसले झन् आत्मबल बढाएको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • ,Sabah Nepali didibahiniharu yestai bhaediyeko bhaye yea desh Kati ramro hundo hola jayehos sanu Maryann Shrestha.,